नेभिगेशन
राजनीति

देउवाले भने- काँग्रेसमा देश र जनताका लागि काम गर्ने नेता कार्यकर्ता पाउन मुस्किल

काठमाडौँ- काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसमा देश र जनताका लागि काम गर्ने नेता, कार्यकर्ता पाउन मुस्किल भएको बताएका छन् ।

बागलुङका संस्थापक नेता गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको १३ औँ दिनको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले कँडेलको जस्तो त्याग र निष्ठा अब नपाइने बताए । कँडेलले राजनीतिमा लागेर कहिल्यै पनि केही नमागेको उनले स्मरण गरे ।

काठखोला गाउँपालिका-५ करलिमस्थित कँडेलकै निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका देउवाले सबैलाई लोकतन्त्रको चिन्ता गर्नसमेत आग्रह गरे । उनले लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित बन्ने धारणा राखेका थिए ।

कार्यक्रममा अर्का नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशीलगायतले पनि कँडेलप्रति श्रद्धाञ्जली दिए । श्रद्धाञ्जली सभाका लागि काँग्रेसका नेता तथा कार्यकर्ता कँडेल निवास पुगेका थिए । कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नं १ बाट विजयी सांसदसमेत थिए ।

तत्कालीन संसद् विघटन हुँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई गल्ती गरेको भन्दै औँल्याउने कँडेल थिए । बीपी कोइरालाले मेलमिलापको नीति लिएर आउने बेलामा पनि कँडेल एयरपोर्टबाटै पक्राउ परेर ७ वर्ष जेल बसेका थिए । कँडेल पछिल्लो पटक बीपी चिन्तन प्रतिष्ठानको अध्यक्ष थिए । कँडेलकै अध्यक्षतामा असार २ गते बीपी चिन्तन प्रतिष्ठानमार्फत तीन तहको बजेट निर्माण प्रक्रियाका समस्याबारे छलफल कार्यक्रम सम्पन्न भएको थियो । असार १५ गते कँडेलको निधन भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति