नेभिगेशन
राजनीति

शेखर समूहको निष्कर्ष : अनुशासनको कारवाही अवैधानिक, स्वीकार नगर्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता–कार्यकर्ताहरूमाथि गरेको कारबाही अवैधानिक र विधिसम्मत नभएको निष्कर्ष शेखर कोइराला पक्षले निकालेको छ। आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लंघन गरेको आरोप पनि लगाएको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नु पर्नेमा सो अनुसार नभएको बताए ।

नेकपा एमालेले आफ्नो पार्टीमा गरिरहेको कारबाहीको स्वरूप नै नेपाली कांग्रेसमा देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई हराएको आधारमा कारबाही गरिएको बताए । आसन्न निर्वाचन वा मध्यवधि हुने अवस्थामा गठबन्धन भए उम्मेदवार पराजित हुने डरले यस्तो भएको हुनसक्ने उनले बताए । बैठकमा पार्टीको अधिवेशन तोकिएको समयमै विधानसम्मत समयमा हुन्छ भन्ने विषयमा संशय भएको विषयमा पनि छलफल भएको सांसद बजगाईंले जानकारी दिए ।

‘यो कारबाही विधानतः ठीक छैन, वैधानिक छैन र अनुशासन समितिले अनुशासन भङ्ग गर्‍यो भन्ने विषयमा छलफल चलेको छ’ उनले भने, ‘पुनरावलोकनको लागि कारबाही परेका साथीहरूले आवेदन दिएपछि एउटा बृहत् भेला गर्नेबारे पनि छलफल भएको छ ।’ काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा समूहका नेता कोइरालाले अनुशासनको कारबाहीप्रति असहमति राखेका र अनुशासन समितिका दुई सदस्यले यो कारबाहीप्रति नोट अफ डिसेन्ट नै लेखेको जानकारी दिएका थिए । बैठकमा सहभागी अर्का नेता अर्जुननरसिंह केसीका अनुसार अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको बारे छलफल भएको बताए । ‘पूर्वाग्रहपूर्ण तरिकाले ठूला ठूला योगदान दिएका साथीहरूलाई कारबाही भएको छ, पुनरावेदन दिएपछि यसबारे केन्द्रीय कार्यसमितिमा छलफल गर्छौं,’ उनले भने, ‘हामी ती साथीहरूलाई अन्याय हुन दिंदैनौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति