नेभिगेशन
राजनीति

भिजिट भिसा प्रकरणले आजको प्रतिनिधिसभा बैठक पनि अन्योलमा

काठमाडौँ- भिजिट भिसा प्रकरणले आज (बुुधबार) को प्रतिनिधिसभा वैठक पनि अन्योलमा परेको छ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनाउनु पर्ने विपक्षी दलहरूको माग सम्बोधन गर्न सत्ता पक्ष तयार नहुँदा अहिलेसम्म प्रतिनिधिसभाको अवरोध खुल्ने छाँट देखिएको छैन।

मंगलबार दुई पटक सूचना टाँसेर बस्दै नबसी स्थगित प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाएका छन्।

तर, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेकाले अहिलेसम्म कुनै सहमति बन्न सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति बनेको घोषणा भए संसद् चल्न दिने तयारीमा छन्। तर, समिति बनाउन सत्तापक्ष तयार देखिएको छैन। दलहरूसँग अनौपचारिक छलफलमै रहे पनि सभामुख घिमिरेले समस्या समाधानका लागि अहिलेसम्म औपचारिक बैठक बोलाएका छैनन्।

संघीय संसद् सचिवालयका महासचिव पद्मराज पाण्डेयले सभामुख घिमिरेले औपचारिक बैठक नबोलाएको जानकारी दिएका छन् । ‘अनौपचारिक कुराकानी त दलहरूसँग भइरहेको छ, औपचारिक बैठक आह्वान भएको छैन,’ महासचिव पाण्डेले भने । भिजिट भिसामा भएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग विपक्षी दलहरूले राख्दै आएका छन् । समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार सूचना टाँसेर स्थगित गरिएको थियो ।

मंगलबारको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग भए पनि एमाले र कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका थिए। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको बैठक जेठ १३ र १४ गते पनि विपक्षी दलहरूले अवरोध गरेका थिए। त्यसअघि गृहमन्त्रीको राजीनामालाई प्रमुख मुद्दा बनाउँदै संसद् अवरोध गर्दै आएका विपक्षी दलहरूले मंगलबारदेखि भने राजीनामाले मात्र भिजिट भिसामा भएको अनियमितता, भ्रष्टाचार र मानव बेचबिखन नरोकिने र यसअघि भएका घटनाको छानबिन नहुने भन्दै छानबिन समिति गठनमा जोड दिएका छन्।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन् । आज (बुधबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन्। उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन्। उनले देशमा मानव तस्करी जस्तो गम्भीर विषयमा गृहमन्त्रीमाथि आरोप लागिरहेको भन्दै १५ दिन भए पनि राजीनामा दिन र अनुसन्धानमा सघाउन माग गरिन्। छानविनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ। सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनु पर्नेमा जोड दिइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति