नेभिगेशन
राजनीति

आफैं जाकिने खाल्डो झन्–झन् गहिरो बनाउँदै गृहमन्त्री लेखक, डीआईजी सरुवा प्रकरण पछिल्लो प्रमाण

काठमाडौं– भिजिट भिसा प्रकरणको विवादमा तानिएपछि विपक्षीले राजीनामाको बटमलाइन बनाइएका गृहमन्त्री रमेश लेखक आफैं जाकिने झन्–झन् गहिरो खाडल खनिरहेका छन्।

विमानस्थल अध्यागमन प्रमुख रहेका विवादीत प्रमुख तिर्थ भट्टराई सरुवा गरेका कारण विवादको भुङ्ग्रोमा परेका लेखकले यस प्रकरणको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरी नायव महानिरिक्षक (डीआईजी) हिमालयकुमार श्रेष्ठको शुक्रबार दिउँसो सरुवा गरेका थिए।

अख्तियार प्रमुख प्रेमकुमार राईको सहमतिबिना गरिएको सरुवा विवादमा परेको थियो। अख्तियारमा डीआईजी ओम रानाको पदस्थापन गरी श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी पठाइएको सूचना सार्वजनिक भएको थियो। 

तर अख्तियार प्रमुख राईको सहमतिबिना सरुवा गरिएपछि प्रहरी प्रधान कार्यालयले सच्याएर सरुवाको विज्ञप्ति निकाल्यो। गृहमन्त्री लेखकले श्रेष्ठको सरुवा गर्न सकेनन् र अख्तियारमा नै कायम राखेर रानालाई रानीपोखरी पदस्थापन गरियो।

यो सरुवा प्रकरणले के प्रष्ट पारेको छ भने गृहमन्त्री लेखक थप विवादमा आफैं जाकिने क्रम जारी छ। उनले अनुसन्धानमा प्रत्यक्ष प्रभाव पार्न खोजिएको भन्ने कोणबाट पनि विश्लेषण भैरहेको छ।

जबकि प्रतिपक्षी दलहरुले उनको राजीनामा, छानबिन समिति गठनको माग राखी प्रतिनिधि सभा अबरोध जारी राख्ने निर्णय गरेका छन्। सदन खुलाउनका लागि गरिएका अनेक प्रकारका प्रयासमा पनि प्रतिपक्षीको अडान नै लेखकको राजीनामा रहेको छ।

यस्तो अवस्थामा लेखक आफैं थप विवादमा तानिने निर्णय गरिरहेका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति