नेभिगेशन
राजनीति

बालेन छाडेर कांग्रेस एमालेतिर लाग्यो रास्वपा

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई छाडेर रास्वपा कांग्रेस एमालेतिर लागेको छ। 

बालेनको राजनीतिक उदयबाट प्रभावित भएर पार्टी नै गठन भएको रास्वपा कांग्रेस एमालेले बालेनलाई गलाउनका लागि गरेको प्रयत्नको भागीदार बनेको हो। 

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकका विषयमा उपमेयर सुनिता डंगोलसहित ४१ सदस्य एकजुट बन्दा रास्वपाकी एक मात्र वडाध्यक्ष पनि त्यतै लागिन्। 

रास्वपाकी रोजिना श्रेष्ठ त्यता लागिन्। उनी उप निर्वाचनमा काठमाडौं–१६ मा २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएकी थिइन्। 

महानगरका कुल ४२ कार्यपालिका सदस्यमध्ये ४१ जनाले सात दिनभित्र बैठक बोलाउने ‘अल्टिमेटम’सहित पत्र जारी गरेका छन्। 

महानगरमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित १८ वडाध्यक्ष छन् । नेकपा (एमाले)का तर्फबाट निर्वाचित १२, नेकपा (एकीकृत समाजवादी)बाट एक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक वडाध्यक्ष छन्।

स्थानीय सरकार सञ्चालन ऐनको दफा १६ बमोजिम नगरसभा, कार्यपालिकाको बैठक बोलाउने, त्यहाँ प्रस्ताव पेस गर्ने गराउने काम नगरप्रमुखको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एकपटक बस्ने’ व्यवस्था छ। तर, ०८१ पुस ८ गतेपछि काठमाडौं महानगरको कार्यपालिका बैठक बसेको छैन।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति