नेभिगेशन
समाज विविध

सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या १२८ पुग्यो

काठमाडौँ - सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित गोताखोर तालिम सम्पन्न भएको छ ।

सो तालिम २० जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । यससँगै सशस्त्र प्रहरी बल नेपालमा गोताखोर तालिम प्राप्त जनशक्ति १२८ पुगेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालले आपद् विपद्मा परेका नागरिकको उद्धार राहत तथा सेवा सुरक्षालाई सधै प्राथमिकतामा राख्दै अघि बढेको बताएका छन् ।

गोताखोर जस्तो महत्वपूर्ण तालिमले व्यक्तिको बृत्तिविकास मात्र नभई जनताप्रति हाम्रो जिम्मेवारी र उत्तरदायित्व समेत रहेको बताउदै महानिरीक्षक अर्यालले विभिन्न प्रकृतिका विपद् प्रतिकार्य गर्नसक्ने समुदायस्तरमै समुदाय विपद् स्वयंसेवक उत्पादन गर्ने सशस्त्र प्रहरी बल नेपालको योजना प्रारम्भ भईरहेको बताउदै विपद् सम्बन्धि सूचना प्राप्ती, परिचालनमा समन्वय र उद्धारमा सहकार्यको लागि यसै महिनाभित्र नेपालभरिका हरेक वडामा २५ जनाका दरले १ लाख ७० हजार समुदायस्तरमा विपद् सूचक तयार गर्ने लक्ष्य रहेको बताए  ।


छ हप्ता अवधिको उक्त तालिममा २० जना सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशुली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराईएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका थिए ।


सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक २०६९ सालमा बंगलादेशबाट २५ जनाले गोताखोर तालिम प्राप्त गरेका थिए ।  यसैगरी नेपालमा समेत पहिलो पटक २०७६ सालदेखि गोताखोर तालिम दिन शुरु गरिएको हो ।


गोताखोर तालिम प्राप्त टोली सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ६ महेश्वरी बाहिनी मुख्याल सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा परिचालित छन् ।


त्यसैगरी नं. ३ कंकालिनीमाई गण मोरङ्ग, नं. १७ गण चितवन, नं. २४ कालिका गण कास्की, नं. २० विपद् उद्धार गण सिनामंगल, नं. ४२ रिजर्भ गण बाँके र विपद् व्यवस्थापन वेश खुर्कोट सिन्धुलीमा समेत तैनाथ रहेका छन् । सो टोली विपद्मा परेका आम नागरिकहरुको सहयोग तथा उद्धारमा खटिदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय