नेभिगेशन
सुरक्षा–अपराध

अन्यायको बादल चिरिएपछि प्रहरीमा भावी नेतृत्वको पटकथा कोर्दै उक्लिए शाह 

काठमाडौं– प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)सम्म अगाडि रहेका सिद्धिविक्रम शाहलाई त्यहाँनेर पछि पारियो जब नायव महानिरिक्षक (डीआईजी) बढुवाको चरण सुरु भयो।

तत्कालिन उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा शाहको ब्याचभन्दा तल्लोबाट चार जनालाई डीआईजी बढुवा गरियो। 

तत्कालिन उपप्रधान तथा नारायणकाजी श्रेष्ठको पालामा शाहलाई राहत भयो। ९ मंसिर ०८१ मा उनी पनि डिआईजी बढुवामा ब्याचकै पहिलो नम्बरमा पर्न भ्याए। 

डिआइजीको ९ दरबन्दी रिक्त हुँदा बढुवा समितिले ८ एसएसपीलाई उक्त पदका बढुवाका लागि सिफारिस गरेको थियो। तत्कालिन प्रहरी महानिरीक्षक (आईजी) बशन्तबहादुर कुँवरका ब्याची ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द क्रमशः पहिलोदेख तेस्रो नम्बरको बढुवा सिफारिस भएका थिए।

त्यसअघि अन्याय गरी छुटाइएका शाहसहित सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्मरबहादुर विक डीआईजीमा बढुवा भएका थिए।

राष्ट्रिय अनुसन्धानको अधिकृतमा ५ पुस २०५३ मा भर्ना भई पछि प्रहरीमा समायोजन भएको टोलीमा शाह अब्बल हुन्। 

त्यसअघि उनीभन्दा पछिल्लो ब्याच १८ र्चत २०५४ मा भर्ना भएका दानबहादुर कार्कीसहित डा. मनोजकुमार केसी र राजन अधिकारी डीआईजीमा बढुवा भएका थिए।

शाहभन्दा पछिल्लो ब्याचका कार्की, केसी र अधिकारीसहित प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवा हुँदा शाह भने अटाएनन्।

ठ्याक्कै एक महिनाअघि उनीभन्दा पछाडिको ब्याचसहितका टोली एआईजीमा बढुवा भएका थिए। 

लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरिएको थियो।

एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन्। उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआईजी भएका थिए। यहि बेला छुटेका शाहलाई सरकारले मंगलबार एआईजी बढुवा सिफारिस गरेको छ। उनको बढुवासँगै प्रहरीको भावी नेतृत्वको प्रतिस्पर्धा निक्कै दरिलो बनेको छ।

प्रहरीका एक जना अवकाशप्राप्त एआईजी भन्छन्,‘अन्याय त भएको थियो। तर, सरकारले बढुवा सिफारिस गरी अब्बल प्रहरी अधिकारीलाई उचित बढुवा गरेको छ।’

प्रहरीका सबै तालिमदेखि कमान्ड कन्ट्रोलमा काम गरे पनि हेपाईमा राखिएको ०५३ को ब्याचबाट एआईजी बढुवा सिफारिसमा शाह परेपछि अब आईजीको प्रतिस्पर्धा रोचक र घोचक हुने पक्कापक्की छ।

प्रहरी संगठनभित्र नै अनुसन्धानबाट समायाजित भएका कारण शाहको टोलीलाई ‘नमस्ते टोली’ भनी खिसि गरिँदै आएको थियो। तर, कार्य सम्पादनमा भने यो टोली प्रभावकारी बनेको पनि बताइन्छ। अहिले अन्यायको बादल चिरिएपछि आगामी प्रतिस्पर्धालाई शाहको बढुवा सिफारिसले अनुमानशुन्य बनाउने पनि निश्चित छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध