Nic Ad Nic Ad
Nic Ad Nic Ad
सहकारी रकम अपचलन

‘लखनऊ लुट’ पारामा सहकारी ठगीमा सबै दल आबद्ध, रवि लामिछानेलाई बयानमा बोलाइने

बुधबार, साउन ९, २०८१

काठमाडौं– सहकारी ठगी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन तयार पार्नुअघि नै सबै दल कुनै न कुनै हिसाबमा ठगी प्रकरणमा संलग्न भएको निचोड निकालेको छ। 

‘लखनऊ लुट’ पारामा योजनाबद्ध हिसाबले सहकारी खोलेर ठगी प्रकरण मच्चाइएको समितिको निचोड छ। अझै ठगी प्रकरणमा संलग्न रहेका र समितिमा दस्ताबेज प्राप्त भएको आधारमा बयानमा बोलाएर अन्तिम निचोड निकाल्दै प्रतिवेदन तयार पारिने संयोजक सूर्य थापाले बताएको विवरण प्राप्त भएका छन्। 

समितिलेसहकारी ठगीको आरोप लागेका व्यक्तिहरूसँग पनि सोधपुछ गरिने जनाएको छ। समितिले देशभरिका स्थानीय तह र प्रदेशहरूसँग आफ्नो कार्यक्षेत्रमा रहेका सहकारीहरूको संख्या र तिनीहरूको अवस्थाबारे १५ दिनभित्र जानकारी गराउन पत्र लेखेको छ।

‘बचत अपचलन, दुरुपयोग र ठगीको एउटा विकराल तस्बिर छ। यसलाई समग्रतामा हेर्ने हो भने साढे दुई खर्ब भन्दा बढी बचत अपचलन भएको छ’, थापालाई उदृत गर्दै बीबीसी नेपाली न्यूजले लेखेको छ। 

सभापति थापाका अनुसार कतिपय सहकारीबाट भएको बचत अपचलनको विवरण नियामक निकाय र कानुन पालना गराउने निकायको जानकारीमा समेत आएको छैन।

‘एक खालको लखनऊ लुट सहकारीको क्षेत्रमा भएको छ। ती सहकारी वास्तवमा सहकारीको मूल्यमान्यताअनुसार चलेका सहकारी छैनन्। बचत अपचलनमा विशेषतः नियतवश र योजनाबद्ध रूपमा अपचलन गर्ने, ठगी गर्ने र नागरिकको सम्पत्तिलाई आफ्नो निजी सम्पत्तिमा रूपान्तरण गरेर रातारात धनी हुने उद्देश्यले केन्द्रित एउटा गिरोह लागेको देखिन्छ’ थापालाई उदृत गर्दै बीबीसीले लेखेको छ।

सहकारीको नियमनका लागि नियमनकारी निकाय भए पनि त्यसलाई छलेर ठगी भइरहेको देखिएको समितिकी सदस्य ईश्वरी न्यौपाने बताउँछिन्।
‘नियमनकारी निकायले थोरै भए पनि नियमन गरेको देखिएन। रजिस्ट्रारलाई अधिकार दिएको छ तर उनीहरूले काम गरेको पनि देखिएन’, न्यौपानेले भनिन्।

एउटै व्यक्तिले वीरगन्जमा, चितवनमा, बुटवलमा, नेपालगन्जमा, पोखरामा र काठमाण्डूमा सहकारीहरूको सञ्जाल खोलेर पनि ठगी गरेको समितिले पत्ता लगाएको छ। त्यो भनेको जीबी राई र उनको गिरोहप्रतिको संकेत हो। 

समितिलाई दिइएको कार्यादेशमा निवर्तमान गृहमन्त्री रवि लामिछाने राजनीतिमा आउनुअघि प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टिभी र त्यसको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट प्रवाह भएको ऋणबारे पनि छानबिन गर्ने पनि भनिएको छ।

यसबारे पनि समितिले गम्भिरतापूर्वक छानबिन जारी राखेको छ। समिति सभापति थापाले त्यसबारे दुई वटा दस्ताबेज समितिमा प्राप्त भएको बताए। त्यसमध्ये एउटा बुटवलको सुप्रिम सहकारीमा बचत अपचलन भएको विषयमा रूपन्देही जिल्ला अदालतमा दायर भएको अभियोगपत्र र अर्को पोखराको सुदर्शन सहकारीमा भएको बचत अपचलनबारे पोखरा महानगरपालिकाले गरेको छानबिनको प्रतिवेदन रहेको सांसदहरूले बताए।

रवि लामिछानेलाई पनि समितिले बयानमा बोलाउने निधो गरिसकेको छ। थापा सुनाउँछन्,‘रवि लामिछानेजीकै हकमा उहाँका कारोबार र स्टेटमेन्टले के भन्छन्, अरू तथ्य प्रमाणले के भन्छन्, हामी हेर्दै छौँ।’

दुई वटा सहकारीबाट उहाँले ऋण लिएको, उहाँको नाममा पैसा गएको, त्यो पैसा पछि गोर्खा मिडिया नेटवर्कमा गएको यस्तायस्ता चिजहरू रहेको र यो कुराको विभिन्न निकायबाट मागिएका प्राप्त भएका तथ्यमा हेरेर पुष्टि गर्ने प्रयास समितिले गरिरहेको छ। 

समिति सभापति सूर्य थापाले सहकारीको बचत अपचलनमा पीडक भएको आरोप लागेका व्यक्तिहरूलाई पनि समितिले बोलाएर सोधपुछ गर्ने बताए।
सहकारी सञ्चालकहरू केही फरार, केही विदेशमा र केही जेलमा रहेका कारण तीनका प्रतिनिधिमूलक व्यक्तिहरूसँग समितिले सोधपुछ गर्ने तयारी गरेको उनको भनाइ छ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको पनि नाम आएका कारण बयानमा बोलाउने समितिको तयारी छ। यसबारे थापाले स्पष्ट भनेका छन्,‘नाम जोडिएकासँग बयान लिन्छौं, रवि लामिछानेजी पनि त्यसमा पर्नसक्नु हुन्छ, अध्ययन जारी छ।’

समिति सदस्य ईश्वरी न्यौपानेले रास्वपा सभापति रवि लामिछानेलाई पनि बोलाएर सोधपुछ गरिने बताइन्।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्