काठमाडौँ महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

शनिबार, वैशाख २२, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ ।

दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई १०-१० लाख उपलब्ध गराउने निर्णय भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनले भने, “आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो, रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने छ ।”

दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र ९ गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्