एसपी बढुवा सिफारिसमा गृहमन्त्री लामिछानेका प्रिय, प्रचण्ड र ओलीका पूर्वपीएसओलाई प्राथमिकता

बिहीबार, चैत १५, २०८०

काठमाडौं– नेपाल प्रहरीका ८ जना नायव उपरिक्षक (डीएसपी)बाट उपरिक्षक (एसपी) बढुवा सिफारिसमा सत्ता गठबन्धनका तीन घटकका प्रमुख नेताका प्रीय पात्र प्राथमिकतामा पारिएका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपीएसोले प्राथमिकतामा बढुवा सिफारिसमा नाम पार्न सफल भएका छन्। यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गृहमन्त्री रवि लामिछानेका प्रिय पात्रले सिफारिसको दुई नम्बरमा नै छिर्ने मौका पाए। 

बढुवा समितिले प्रकाशित गरेको सूचीका आधारमा त्यस्तो देखिएको हो। यो बढुवा सिफारिसको विषय यसैकारण पनि विवादमा तानिएको प्रहरीका पूर्वअधिकारी बताउँछन्। 

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयबाट सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले बुधबार प्रकाशित गरेको बढुवा सिफारिस सूची प्राथमिकता क्रम मिचेर निकालिएको एक पूर्वअतिरिक्त महानिरिक्षकले बताए। 

पहिलो नम्बरमा ढकेन्द्र खतिवडा, दोस्रोमा अंगुर जिसी, तेस्रोमा यादव ढकाल, चौथोमा सन्तोष तामाङ, पाँचौंमा श्यामबाबु ओलिया, छैटौंमा निरन्जनदत्त भट्ट, सातौंमा राजन लिम्बू र आठौं नम्बरमा विनोद घिमिरे बढुवाका लागि सिफारिस भएका थिए। 

डिएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री थिए। तर अहिले एसपीमा बढुवा सिफारिस गर्दा क्षेत्रीको नाम नै छुटाइएको छ।

डिएसपीहरू सन्तोष तामाङ र राजन लिम्बू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ भइसकेका थिए। ओली २०७२ मा प्रधानमन्त्री हुँदा तामाङ उनका पिएसओ भएका थिए। यस्तै २०७५ सालमा प्रधानमन्त्री हुँदा लिम्बू उनका पिएसओ थिए। साथै २०७८ मा विनोद घिमिरे प्रचण्डको पिएसओ भएका थिए।

जिसी भने लामिछानेका प्रिय हुन्। अघिल्लो पटक गृहमन्त्री हुँदा लामिछानेले जिसीलाई महाराजगञ्ज वृत्तको प्रमुख बनाएका थिए। यति मात्र होइन, निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा विवादमा तानिएका जिसीको पक्षमा लामिछानेले वकालत नै गरेका थिए।

यहाँसम्मकी त्यसबेला सीआईबीले खटाएको अनुसन्धान अधिकारी रहेकै बेला जिसीलाई लामिछानेले न्युज२४ टेलिभिजनमा अन्तरवार्तामा ल्याएर पैरवी गरिदिएका थिए। 

त्यसबेलादेखि नै लामिछाने र जिसीको सम्बन्ध बलियो रहेको बताइन्छ। तर जिसी डीएसपी बढुवाका क्रममा पनि दोस्रो नम्बरमा नै रहेका थिए। कतिपयले उनको बढुवा सिफारिस स्वभाविक भएको पनि मान्छन्। 
 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्