धरान हत्या प्रकरण 

भुजेलसँगको पिरतीले हत्याको शिकार भइन् सुमना, साथीको फोन आएको भनी घरबाट हिँडेकी थिइन्

शुक्रबार, चैत ९, २०८०

सुनसरी– धरान उपमहानगरपालिका–१८ मा हत्या गरिएको अवस्थामा फेला परेकी २१ बर्षिया सुमना श्रेष्ठ प्रेम सम्बन्धमा आएको खटपटको शिकार भएको अनुसन्धानमा खुलेको छ। 

बुधबार धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा श्रेष्ठको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा फेला परेको थियो। उनको हत्या भए पनि कारण खुल्न सकेको थिएन। प्रहरीले उक्त हत्यामा संलग्न रहेको अभियोगमा सबिन भुजेलसहितलाई पक्राउ गरी अनुसन्धान गर्दा प्रेम सम्बन्धमा आएको खटपट नै कारण रहेको खुलाएको छ। 

अनुसन्धानसहितको थप विवरण पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी सुनसरी प्रहरीले गरेको छ। 

क्रिश्चियन धर्मअनुसार अन्तिम संस्कार गरिसकिएकी धरान–१६ लोकतान्त्रिक चोककी सुमना १२ कक्षामा अध्ययन गर्नुका साथै क्यान्टिनमा पनि काम गर्थिन्। 

मृतकका परिवारजनका अनुसार मंगलबार करिब ५ बजेतिर फोन आएपछि सुमना साथी भेट्न भन्दै निस्केकी थिइन्। घरबाट हिडेपछि उनी नफर्केको र राती ९ बजे, ११ बजे म साथीकोमा छु, यतै बस्छु भनेर दिदीलाई मेजेन्सरमा मेसेज गरेको पाइएको छ। 
मृतकका बुबा महेन्द्र श्रेष्ठ चालक छन्। 
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्