संगठन प्रमुख जिम्मेवारीको बर्षान्त

नेपाल प्रहरीमा नवीन पटकथा कोरिरहेका बेदाग आईजी कुँवर, बर्ष दिन छ ‘शेष’

शुक्रबार, चैत २, २०८०

भनिन्छ, विजेताहरूले घटना अगाडि नै आफ्नै सकारात्मक अपेक्षाहरू निर्माण गर्ने बानी बसाल्छन्। ८० हजार जना मध्य त्यसको कमान्डको दौडमा पहिलो बनेर हाँक गर्ने हिम्मत र जिम्मेवारीको रेखा कर्मले कोरेको हुन्छ। सबैलाई खुसी पार्न नसकिएला तर अन्याय कसैप्रति गर्नचाहिँ हुन्न भन्ने गोरेटो कोर्दै नेपाल प्रहरीको संगठन प्रमुख अर्थात् प्रहरी महानिरिक्षक (आईजी) भएको एक बर्ष पूरा गर्दैछन् बसन्तबहादुर कुँवर। 

अग्लो कद हैन, अग्लो छवि। बिनम्र अनुरोधमा नम्र लय। अस्थिर राजनीतिक अवस्थामा स्थिर कर्मको गति। यीनै हुन् कुँवरले संगठनको जिम्मेवारी सम्हालेको एक बर्ष पूरा गर्नु पूर्वसन्ध्यामा समातेका, देखाइसकेका प्रभाव।  

११ चैतमा संगठनको जिम्मेवारी सम्हालेको ३६५ दिन पूरा गर्दैछन् कुँवर। यो एक बर्षमा देखिएको राजनीतिक समीकरणीय खेलमा दुई जना गृहमन्त्रीसँग उनले काम गर्ने मौका पाएका छन्। लामो समय नारायणकाजी श्रेष्ठको निर्देशनमा संगठनलाई चलायमान राखेका कुँवरले भर्खरै मात्र अर्का गृहमन्त्री रवि लामिछानेसँगको यात्रा तय गरेका छन्। प्रहरी ऐन र नियमावलीमा परिवर्तन भए प्रस्तावनाअनुसार अरु दुई बर्षमा कुँवरले निक्कै काम देखाउन सक्ने मौका छ। यदि, अन्य बेला जस्तो चर्चामा रहेको ३० बर्षको सेवाअवधि नहटे आगामी बर्षदेखि कुँवरले संगठनको नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ।

प्रहरीले कानुनको अक्षरमा मात्र होइन, त्यसको मर्म र भावनामा काम गर्नुपर्छ भन्ने मान्यता संगठनका कर्मचारीबीच उनले छरेका छन्। यो अहिलेको पुस्ताका लागि मात्र होइन, आउने पुस्ता र नेतृत्वकर्ताका लागि पनि अनुकरणीय मार्ग हुने स्पष्ट नै छ। 

प्रहरीलाई कुनै हस्तक्षेपबिना अनुसन्धानको दायरा फराकिलो पारेर काम गर्न दिने हो भने संगठन प्रमुखको आदेशमा गतिला–गतिला परिणामहरू निकाल्न सकिन्छ। किनभने, कुँवरको प्रहरी सेवाको ट्रयाक रेकर्डलाई संक्षेपमा हेर्दा पनि त्यस्तो भेटिन्छ।

basanta_kunwar345461679656236-1710480804.jpg

०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका उनी प्रायः प्रहरी कर्ममा सफल रहेका छन्। बेदाग उनको सांगठनिक यात्राको निरन्तरता चलिरहेको छ। 

२०७३ मा चितवन प्रहरी प्रमुख रहँदा कुँवरले सर्वोत्कृष्ट जिल्ला प्रहरी प्रमुखको अवार्ड प्राप्त गरेका थिए। उनले नेपाल प्रहरीको प्रवक्ताको रूपमा पनि काम गरेका छन्। स्नातकोत्तर तहसम्मको अध्ययन गरेका कुँवरले विभिन्न जिल्लामा रहेर जिल्ला प्रहरी प्रमुखको भूमिका सफल रूपमा निभाएका छन्।

उनले २०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० मा एसपी, २०७५ फागुन ६ मा एसएसपी र २०७९ असार १७ मा डीआईजीको भूमिकामा काम गरेका छन्। एआईजीको रूपमा थोरै समय मात्र जिम्मेवारी सम्हालेका उनी गत बर्ष आईजी नियुक्त भएका थिए।

कहिलेकाहीँ राजनीतिका उतार चढावले संगठनको ‘चेन अफ कमान्ड’को शैली चिन्दैन। त्यतिबेला संगठन प्रमुख नै हो जसले तालुकात मन्त्रालयका फेरिएका अनुहारलाई आफ्ना अधिकारीको काम, तिक्ष्णता र जिम्मेबारीबारे जानकारी गराउने। हो, यो विषयमा संगठनमा हाकिम होइन समन्वयकारी नेताको भूमिका निभाउने मध्यका आईजी हुन् कुँवर। नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणको छानबिनदेखि अपराध न्यूनिकरण र कानुन कार्यान्वयनको सवालमा सँधै सकारात्मक हिसाबले कुँवर अघि बढेको पाइयो, बितेका बर्ष दिनमा।

अब शेष रहेको बर्ष दिनमा उनले नीतिगत काममा पनि केन्द्रित हुनुपर्ने देखिएको छ। सबैभन्दा पेचिलो देखिएको प्रहरी समायोजनको विषय छ। यसमा असन्तोषका आवाज बलिया छन्। हतियारसहितको संगठनभित्रको असन्तोषलाई सम्बोधन गर्ने नीतिगत विषयको कार्यान्वयन कम चुनौतिको होइन

तल्लो तहको नागरिकसँग ठोकिने राज्यको पहिलो संघीय निकायका प्रतिनिधि हुन्छन् प्रहरी कर्मचारी। त्यसैले जनताका सवाल, मुद्दालाई कानुनी र न्यायीक निकायसम्म स्पष्ट छानबिनसहित अन्याय नहुनेगरी अघि बढ्नका लागि कुँवरको निर्देशन हुँदै आएको छ।

प्रहरी संगठनमा राजनीतिक दल र नेता हावी हुने प्रचलन प्रायः छ नै। त्यसैले सरुवा बढुवामा संगठन प्रमुखले मात्र सीमा कायम राख्न कठिन हुन्छ। यो कठिनपनभन्दा पर छैनन् कुँवर। तर पनि संगठनको मान मर्दन हुने प्रकृति अथवा त्यस्ता विषयमा भने उनले निक्कै नै चनाखोका साथ काम गरेर नेतृत्वको परिचायक कायम राखेका छन्। अब्बल अधिकारी प्रदेश प्रहरी प्रमुखका रुपमा खटाएका छन् जसले सुन्दर परिणाम दिने प्रयत्नमा कुनै कसर बाँकी राखेका छैनन्।

कुँवरको आगामी कार्यकालमा चुनौतिका चाङ नभएका होइनन्। विभिन्न शिराबाट अनेक हिसाबले भइरहेका आन्दोलन, सभा र विविध विषयको हुललाई संयमित र सुरक्षित राख्नेदेखि छिटो–छिटो परिवर्तन देखिन सक्ने सम्भावित विषयलाई पनि मुल्यांकन गरी संगठन चलायमान राख्न उनको उत्प्रेरित भावना सफल छ। संगठनमा आफूभित्रको घेरा एकातिर छिचोलिरहेका छन्। अर्कातिर बाह्य घेरालाई पनि समदूरीमा राखेर यो बर्ष दिन कटाए।

basanta-kunwar-e1689573669829-1710480826.jpg

अब शेष रहेको बर्ष दिनमा उनले नीतिगत काममा पनि केन्द्रित हुनुपर्ने देखिएको छ। सबैभन्दा पेचिलो देखिएको प्रहरी समायोजनको विषय छ। यसमा असन्तोषका आवाज बलिया छन्। हतियारसहितको संगठनभित्रको असन्तोषलाई सम्बोधन गर्ने नीतिगत विषयको कार्यान्वयन कम चुनौतिको होइन। संगठनका कर्मचारीलाई न्याय हुनेगरी प्रहरी समायोजन, समायोजनपछिको शक्ति सन्तुलनका नीतिगत र व्यवाहारिक पाटो, तल्ला तहका प्रहरी कर्मचारीले माग गरिरहेको १६ बर्षमा पेन्सन हुनुपर्ने व्यवस्थालाई अनुमोदन, प्रहरी सेवाबाट निराश भई जागिर छाड्नेको लर्को रोकी नयाँलाई आकर्षित गराउनका लागि गर्नुपर्ने व्यवाहारिक पाटा छन्।

यी विषयमा उनका आगामी बर्षका प्रत्येक दिन, समय, घडी महत्वपूर्ण हुनेछन्। अहिलेसम्म उनी बेदाग छन्, संगठनलाई पनि सोही ढाँचाको बनाउनका लागि नयाँ कार्यक्रमसहितको नीति र कार्यान्वयन पक्षमा अब आईजी निर्मम देखिनुपर्ने हुन्छ। जसका कारण संगठनका हजारौं तल्ला तहका कर्मचारीको मुहारमा खुसी र मुस्कान देखियोस् ताकि त्यो मुस्कान नै उनको कार्यकाल समाप्तीपछिको मिठो तिर्सना र सम्पत्ती बनोस्। 

यसकारण अब उनी कसरी अगाडि बढ्लान्? जागिर होइन, संगठनको हितका निम्ति के–के गर्लान्? यी विषयचाहिँ हेर्नु नै छ। आशा गरौं– संगठनका निम्ति नै उनका दिनहरू छन् र तिनले परिणाम पनि देखाउनेछन्। संगठनमा नवीन पटकथा कोरिरहेका छन्। यसले मूर्त आकार पाउनेमा आश्वस्त हुने अभ्यास कायम रहोस्। 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्