सत्ता राजनीतिमा फरक कोण

फेरि बामपन्थी दाम्लोबाट दाँई गर्ने रणनीति, गठबन्धन भत्किने नेपथ्यको कारण 'डिफ्याक्टो' सभापति

सोमबार, फागुन २१, २०८०

काठमाडौं– नेपाली राजनीतिमा चाँडो–चाँडो हुने परिवर्तनले विश्व जगत नै चकित पर्ने स्थिति छ। नयाँ भनेका नयाँ नरहेर सत्ताको वरिपरि नै रमाउन थाले भने अर्कातिर बामपन्थी एकता अथवा मोर्चाको भजन मण्डलीका गीत फरक छन् ।  

एक आँखाले पनि एमालेका नेता देख्न नसक्ने माओवादीका कतिपय नेताले फेरि बामपन्थी एकता, ध्रुवीकरण र मोर्चाबन्दीको नयाँ भजन गाउँदै नयाँ गठबन्धन बनेको घोषणा गरिरहेका छन्। उता कांग्रेससितको गठबन्धन भत्किनुको तार्किक कारण एउटा बताइए पनि भित्री कारणचाहिँ डिफ्याक्टो सभापतिको लिँडेढिपी नै भन्ने पनि चर्चा छ। 

सरकार बनाउने क्रममा चर्चामा रहेको मिति ‘पुस १०’ एउटा स्लगका रुपमा नै स्थापित गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो शक्ति हुनुको चालबाजीको राम्रो उदाहरण पेस गरिरहेका छन्। 

८८ सिट भएको ठूलो दल नेपाली कांग्रेसलाई दुई पटक उत्तानो पारेका प्रचण्डले एमालेको उपयोग पनि दोस्रो पटक गर्दैछन्। त्यहि मेसोमा आमाको पछ्यौरी समातेर सहर घुमेजसरी एमालेको पदचापमा नयाँ भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सत्ताको समीकरणीय खेलमा चुर्लुम्म बनिसकेको छ। किनभने ३२ दिन उपप्रधान तथा गृहमन्त्री बन्दा लागेको चोट रास्वपा सभापति रवि लामिछानेले विर्सिएका छैनन्। फेरि, शक्तिको तिर्खा त्यति चाँडो मेटिने कुरा पनि भएन। 

२४ घन्टाभित्र बदलिएको सत्ता समीकरणको विषयबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकिएको छ। 

तर, यो कसरी भयो भन्नेचाहिँ रोचक अनि घोचक तथ्यको आधारशिलामा छ। 

कांग्रेसकी डिफ्याक्टो सभापति आरजु राणा यसकी मुख्य कारकका रुपमा चर्चा हुन थालेको छ। किनभने गठबन्धन भत्किने प्रमुख कर्ताका रुपमा अर्थमन्त्री डा. प्रकाशशरण महतको पद लोभ जो सतहमा आयो। 

प्रधानमन्त्री प्रचण्डले सरकार पुनर्गठनका क्रममा अर्थमन्त्री फेर्ने प्रस्ताव लगेका थिए। तर, कांग्रेस सभापति देउवाले त्यसलाई मान्न तयार भएनन्। अर्को, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको मनपरीको कथाले त झनै बदनाम भइरहेका बेला खल्तीका मान्छेलाई देउवाले नहटाउने निधो नै गरेको प्रचण्डलाई सुनाए। 

यसपछि सत्ता गठबन्धन परिवर्तनको हावा चलेको थियो तर पात हल्लिएको थिएन। यहाँ त पातै नहल्ली रुख नै ढाल्ने काममा प्रचण्ड सफल भए। किनभने अर्थमन्त्री महतले आफू नहट्नका लागि आरजु राणामार्फत देउवालाई दबाब दिएका थिए। बस्नेतको पनि उही चाला थियो। अनि, देउवा टस न मस भएपछि प्रचण्डसँग अर्को विकल्प नभएको कांग्रेस स्रोतले जनाएको छ। 

नयाँ गठबन्धन बनेपछि अब चुनावसम्म बामपन्थी दाम्लो एउटा बनाएर त्यसैमा सबै नारिँदै दाईँ गरिन्छ भन्ने तर्क त माओवादीका नेता देवेन्द्र पौडेलले बताइसकेका छन्। तर, यसभित्र माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीचाहिँ अटाएको छैन।

गठबन्धन परिवर्तनको राजनीतिक प्रभाव यतिमा सीमित नरहने भयो। किनभने, यसको प्रभाव प्रदेश सरकारसम्म पार्ने निर्णय भइसकेको छ। 

नयाँ मन्त्रीले सपथ नलिँदै बालुवाटारमा बसेको बैठकले ७ प्रदेशमा नै आलोपालो मुख्यमन्त्री चलाउने निर्णय गरिसकेको छ। यसले कांग्रेसका मुख्यमन्त्रीलाई धक्का परेको छ। कोशी प्रदेशमा भने विद्रोह गर्दा साथ दिएका केदार कार्कीको मुख्यमन्त्री पद के होला? अब त्यहाँ देखिनेछ नयाँ तुजुक। हिकमत कार्कीको भाग्य चम्किँदा माओवादीका इन्द्र आङ्बो पनि मौका कुरेर बसेकै छन्।

जसरी कांग्रेससँगको गठबन्धन बनाई सत्तामा राईँदाईँ गर्ने भूमिकामा आरजु राणाको भूमिका रह्यो, त्यसरी नै यसलाई भत्किन बाध्य पार्ने काममा उनको खेलले चौपट धोका पायो, भनिन्छ। 

यद्यपि अब एमाले माओवादी मिलेर चुनावसम्म जाने एउटा सहमति बन्दा मैदानमा एक्लै उत्रिनुपर्छ भनेर चिच्याइरहेका कांग्रेस नेता शेखर कोइराला, महामन्त्री गगन थापाका लागि भने यो घटनाक्रम हाइसञ्चो भएको छ। 

कतिपय नेताले त भनेको कुरा नटेर्दा सभापति देउवामाथि ‘खुच्चिङ’ भन्दै संसदीय दलको नेता नै परिवर्तन गर्नुपर्छ भन्नेसम्मका तर्क अघि सारेका छन्। जे होला, नेपालको कानुन दैवले जानुन भनिन्छ। तर, नेपालको राजनीति पो कसले जान्ने होला? एमसीसीदेखि टीआरसीसम्मका गाँठैगाँठामा जेलिएको राजनीतिले तास फिटेजस्तो गठबन्धन फेरिने र फिटिने काम गरेकै छ। 
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्