टिप्पणी 

दुर्गा प्रसाईंले थालेको ‘हेट राजनीति’को सम्भावित परिणाम

बुधबार, फागुन २, २०८०

काठमाडौं– विवादीत मेडिकल व्यावासायी भनिएका दुर्गा प्रसाईंले थालेको अभियानको एक बर्षको दौरानमा एउटा नयाँ चरणको राजनीतिक स्थिति देखा परेको छ। 

मूलधारका मुख्य दलप्रतिको घृणासँगै नेपालका नामी भनिने उद्योगी व्यापारीले सिस्टमलाई दुरुपयोग गरेको भन्ने अर्को चरणको व्याख्या पनि सुरु भएको छ।

लघुवित्त, सहकारीपीडित र बैंकले सताएका आम मानिसलाई पोका पन्त्यौरासहित राजधानीमा उतारेका प्रसाईंले भर्खरै देशाटन गरेका राजा ज्ञानेन्द्र शाहको लोकप्रियतामाथि अर्को इँटा थपेका छन्। यहाँसम्मकी राजसंस्थाको पयार्य रहेको भनिएको राप्रपालाई पनि आफ्नो अभियानको छातामुनि आउन बाध्य पारेका कारण प्रसाईं एक कदम अगाडि बढेको विश्लेषण गरिएको छ। 

राष्ट्रिय झन्डासहित सर्वसाधारण ठूलो संख्याको उपस्थितिमाझ भुईँमान्छेका भाषामा उत्रिएका प्रसाईंको विगतको राजनीतिक आवद्धता र अहिलेको अभियानसम्मको यात्राले पनि सर्वसाधारण प्रभावित बनेका छन्। उनी माओवादी, एमाले हुँदै अहिले राजसंस्थाको औचित्यमा आइपुग्नु नै एउटा फरक अवस्थाको सुरुआत हुनसक्ने आँकलन गरिन्छ।

दलीयकरणले अस्तव्यस्त अर्थतन्त्रभित्र सीमित परिवारको ज्यादतीलाई मुख्य दलका शीर्ष नेताले नजरअन्दाज गरेको विषय र भुइँमान्छेका पीडालाई राज्यले सम्बोधन नगर्नुको विकल्पमा प्रसाईंको ‘हेट राजनीति’ले एउटा आकार लिन थालेको छ। यो आकार राजसंस्था र हिन्दूत्वको विषयमा गोलबद्ध हुन थालिसकेको छ। 

अभियानका नाममा भिडको आकार बढिरहँदा संसदमा प्रतिनिधित्व गर्ने राप्रपाको जनमत पनि प्रसाईसँग जोडिँदा यसले अर्को प्रारुप निर्धारण गर्ने निश्चित जस्तो देखिन्छ। राजसंस्थावादी खुला चौरमा र गणतन्त्रको प्रस्थानविन्दु मानिने माओवादी केन्द्र, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै बन्द कोठामा कार्यक्रम गर्न बाध्य हुनुको स्थितिको अर्थ दलतन्त्रबाट मानिस वाक्क भएको भन्ने सन्देश हो।

प्रसाईंले सत्ता राजनीतिमा पहुँच भएका व्यापारीदेखि प्रभावित बनाएर जनतालाई पीडित बनाउनेलाई ‘घोप्टो पारेर लात्ताले दिनू’ भन्ने एउटा आक्रोशपूर्ण भाष्य राजनीति सुरु गरिसकेका छन्। 

प्रसाईंको प्रतिवादमा एमाले उत्रिनुले पनि अभियानले गति पाएको कतिपयको बुझाई छ। एमालेले प्रसाईंको अभियानको प्रतिवाद नगरेको भए उनको शक्ति क्षयीकरण हुन सक्ने स्थिति थियो। तर दलसँग आक्रोशित जनमानस उनको पक्षमा खुल्दा राजसंस्थाको आवाज अझ तेजिलो हुनेमा कुनै शंका नै देखिँदैन।
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्