ललितपुर घटना

छोराछोरीको हत्या गरी आमाले आत्महत्या गरेको आशङ्का

आइतबार, माघ २८, २०८०

काठमाडौँ– ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत गएराति मृत्यु भयो । ललितपुर

उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले नै छोराछोरीको हत्या गरी त्यसपछि घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जानकारी दिए । शव परीक्षणको रिपोर्टपछि मृत्युको यकीन कारण भन्न सकिने उनको भनाइ छ ।

उनले घटनाका कारणबारे सबै कोणबाट अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । उक्त घटना शनिबार अपराह्न २ बजेतिरको हो ।महर्जनले घरको चार तलाबाट हाम्फालेकी थिइन् । छिमेकीहरुले देखेपछि तत्काल प्रहरीलाई खबर गरी उपचारका लागि अस्पताल लगियो । घरभित्र जाँदा दुई बालबालिका अचेत भेटिएपछि उनीहरुलाई पनि अस्पताल लगिएको थियो ।

छ वर्षीय बालक र दुई वर्षीया बालिका (महर्जनका छोराछोरी)लाई शनिबार साँझ ५ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । राति ९ः३५ बजे उनको पनि मृत्यु भयो ।

अहिले शव परीक्षणका लागि शिक्षण अस्तपालमा पठाइएको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतले तकियाले बालबालिकाको मुख थुनेर हत्या गरी उनले आत्महत्या गरेको देखिएको बताएका छन् ।

फरेन्सिक ल्याबका चिकित्सकले पनि बच्चाको सास रोकिएर नै ज्यान गएको बताएका ती अनुसन्धान अधिकृतले बताए । उनले भने, “तर रिपोर्ट नआई हामीले कारण यो नै हो भन्न सक्दैनौँ ।”

घटना हुँदा महर्जनकी सासू छतको अर्को कुनामा थिइन् । उनी अली बिरामी भएकाले धेरै हिँडडुल गर्न सक्दिनथिन् । रविना छतको बार चढ्न लाग्दा सासूले किन त्यहाँ गएको भनेर सोधेकी र उनले कपडा झरेकाले लिन लागेको जवाफ दिएकी थिइन् ।

“जान हुँदैन भन्दाभन्दै बार चढेर गएकी थिइन्, हाम्फाल्न पो रहेछ”, सासूलाई उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले बताए । उनले यसअघि कोठामा ढोका बन्द रहेको र ढकढक गर्दा समेत नखोलेको प्रतिक्रिया दिएको बताइएको छ ।

उनका श्रीमान्को साउन्ड सिष्टमको व्यवसाय छ । शनिबार महालक्ष्मी नगरपालिकाको कामको तयारीका लागि उनी घरबाट गएका थिए । रविनाले हाम्फाल्नुअघि उनीसँग थोरै कुराकानी भएको थियो । २ बजेतिर फोन गरेर रविनाले कता हुनुहुन्छ भनेर श्रीमान्लाई सोधेकी थिइन् । श्रीमान्ले ३ बजे काम सकिन्छ र घर आउँछु भन्ने जवाफ दिएर फोन राखेको प्रहरीसँग बताएका छन् । त्यसपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

पारिवारिक बेमेल केही देखिएको छैन । कहिलेकाहीँ सामान्य झैझगडा भए पनि ठूलो रिसराग नदेखिएको प्रहरीले बताएको छ । धेरै नबोल्ने महिला भएकाले कुनै कुण्ठा पो थियो की भनेर त्यसतर्फ पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनाको अनुसन्धान थालेको छ ।–रासस

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्