इमेज सहकारीकी कोषाध्यक्ष ललितपुरको धोबीघाटबाट पक्राउ

शुक्रबार, माघ १२, २०८०

काठमाडौँ- नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पीडितको निवेदनका आधारमा सुनारलाई ललितपुर महानगरपालिका–३ धोबिघाटबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले सहकारी ऐन, २०७४ अन्तर्गतको कसुरमा सुनारलाई पक्राउ गरेको हो । सुनारविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ बुझाइएको अधिकारीले बताए। उक्त सहकारीको रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित आठजनालाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्