यू-१९ एसिया कप क्रिकेट

नेपाल भारतसँग १० विकेटले पराजित

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं- यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । 

दुबईको आईसीसीए २ मैदानमा नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य भारतले ७ ओभर १ बलमा पूरा गर्‍यो ।

भारतको जितमा आर्शिन कुलकर्नीले अविजित ४३ रन तथा आदर्श सिंहले अविजित १३ रन जोडे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २२ ओभर १ बलमै सबै विकेट गुमाएर ५२ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि हेमन्त धामीले ८ रन तथा दीपक बोहरा र अर्जुन कुमालले समान ७-७ रन बनाए । कप्तान देव खनाल २ रन, गुल्सन झा ४ रनमा आउट भए । यस्तै दीपक बोहरा १ तथा दीपक प्रसाद डुम्रे र उत्तम थापामगर शून्य रनमै पभेलियन फर्किए ।

दिपेश कँडेलले ४ रन, सुवाश भण्डारीले २ रन र आकाश चन्दले ४ रन जोडे । भारतका राज लुम्बानीले ७ विकेट लिए । यस्तै आराध्या शुक्लाले २ र आर्शिन कुलकर्नीले १ विकेट लिए।

यू-१९ एसिया कप याे नेपालकाे तेस्राे हार हाे । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्