नेभिगेशन
खेलकुद

त्रिवि मैदानको काम समयमा नसक्ने ठेकेदारले निरन्तरता दिँदै जरिवाना तिर्दैछन्

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसकेपछि ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ ।

तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौता अनुसार हर्जाना लगाइएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।

सम्झौता अनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक हर्जाना तिर्नुपर्छ । जुन करिब दैनिक २ लाखभन्दा बढी हुन्छ ।

मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको ज्वाइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले २०८१ फागुन १९ र २२ मा मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए ।

प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख चक्रवर्ती कण्ठले असार ३० गते नै ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जाना लाग्ने जानकारी गराइसकिएको बताए ।

यसरी हर्जाना तिरेर बढीमा २ सय दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जाना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था रहेको पनि उनले बताए । उक्त अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था छ ।

तर, निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ । ४ हजार कुर्सी फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ ।

प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै