चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’को प्रयोग

सोमबार, मंसिर ४, २०८०

काठमाडौँ– चलचित्र राम्रो बन्न कथासँगै पटकथा पनि सशक्त हुनुपर्छ । नेपाली चलचित्रमा उठान गरिएका विषयवस्तुले प्रशंसा पाए पनि पटकथामा भन समस्या देखिने गरेको धेरैको टिप्पणी सुनिन्छ । यही समस्या समाधानका लागि पछिल्लो समय चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढेको पाइन्छ । पटकथामा देखिएका समस्या, त्यसको सम्भावित समाधान औँल्याउने काम स्क्रिप्ट डाक्टरले गर्छन् ।

‘टलकजङ्ग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ जस्ता मौलिक कथा लेखेका लेखक तथा अभिनेता खगेन्द्र लामिछाने प्राय आफैँ लिखित चलचित्रमै अभिनय गर्थे । तर, पछिल्लो समय उनले अन्य लेखकद्वारा सिर्जित पात्रमा समेत काम गर्नुका साथै पटकथा लेखनमा सहयोग पनि लिन थालेका छन् । उनले लेखेको पछिल्लो चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा स्क्रिप्ट डाक्टरका रुपमा निर्देशक मनोज पण्डितलाई राखे । लेखकका रुपमा यो निकै सहयोगी रहेको अनुभव गरेको उनले बताए । 

“हामीले कथा लेखनका क्रम गरिरहेका गल्ती औँल्याउने भएकाले मलाई निकै उपयोगी रह्यो । म लेखक रुपमा स्थापित भए पनि उहाँको सहयोगले पटकथालाई राम्रो बनाउने मौका पाएँ”, अभिनेता लामिछानेले भने । 

नेपाली चलचित्र ‘लूट’ मार्फत प्रस्तुतीकरण, कथ्य शैली र पात्र आवरणमा भिन्नता ल्याउन सफल निर्देशक निश्चल बस्नेत लेखक पनि हुन् । उनले लेखनका क्रममा कमजोरी छुट्याउन सहज नहुने बताए । 

“मैले लूट शृङ्खला आफैँले लेखे । पहिलो शृङ्खलामार्फत निर्देशनमा स्थापित भएँ । तर दोस्रोमा पटकथाभन्दा चरित्रलाई प्राथमिकतामा राखे । कही कतै चरित्रमा स्टारडम (लोकप्रियता) हाबी भयो”, निर्देशक बस्नेतले भने, “मैले नयाँ चलचित्र दिमाग खराबमा अरुकै लेखनमा काम गरेँ । निर्देशक भएकाले लेखनमा मेरो सहभागिता थियो । त्यसमा स्क्रिप्ट डाक्टर जोडिनुभएपछि समस्या र त्यसको समाधान पनि बुझ्न पायौँ ।” 

उनले पटकथामा उचित सल्लाह दिएर समाधान निकाल्नसके चलचित्र पर्दामा आएर उब्जिने प्रश्नहरू लेखनकै क्रममा समाधान हुने बताए ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ निर्देशन गरेर स्थापित भएका निर्देशक प्रदीप भट्टराईले लेखक र निर्देशक एउटै व्यक्ति हुँदा छायाङ्कनका क्रममा सहज हुने भए तापनि त्यस अगाडि लेखनकै क्रम रचनात्मक सुझाव उपयोगी हुने बताए ।  

उनले भने, “आफैँले लेखेको कथामा पात्रसँग बढी नजिकिनु स्वाभाविक हो । छायाङ्कनमा समस्या देखिए परिवर्तन गर्न सकिन्छ । यद्यपि लेखनका क्रममा हामी विषयभन्दा बाहिर गइरहेका हुन्छौँ । त्यही कारणले कथा राम्रो भए तापनि पटकथामा समस्या देखिने गर्छ ।” उनले पटकथा लेखनमा मेहनत आवश्यक रहेको बताए । 

लेखनका क्रम सहयोगी हुने अनुभवकै कारण नेपाली चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढ्न थालेको छ । केही निर्देशकले आफ्नो भरपर्दो निर्देशक वा लेखकलाई पटकथा दिएर सुझाव लिने गरेका छन् । तर, आफ्नो कार्यकौशलतामा प्रश्न उठ्ने डरले त्यो सार्वजनिक गरिँदैन । 

यद्यपि पछिल्लो समय ‘स्क्रिप्ट डाक्टर’को प्रयोग बढेसँगै रचनात्मक सुझावका लागि निर्देशक र लेखक खुलेर सल्लाह गर्न थालेका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्