भावी प्रधानसेनापति बन्ने ताराध्वज पाण्डेको सपना तुहियो, लाइनमा छन् सिग्देल जर्सा’ब

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडौंप्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बढुवा समितिले रथी बढुवाका लागि सिफारिस गरिएका उपरथी ताराध्वज पाण्डे राजीनामा दिएर विदामा बसेका छन्।

सेनामा निक्कै कडा मिजासको भनी टिप्पणी गरिएका उनी भावी प्रधानसेनापतिको लाइनमा हुनेगरी बढुवा सिफारिसमा परेका थिए। तर नेपाली सेनाले भने पाण्डेले राजीनामा दिएर विदामा बसेको विषयमा आधिकारिक जानकारी दिइसकेको छैन।

प्रवक्ता सहायक रथी कृष्णचन्द्र भण्डारीले यस विषयमा सोधिएको भए पनि आफूलाई आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

तर, पाण्डेले विवादमा तानिने भएपछि राजीनामा दिएर विदामा बसेको विवरण सार्वजनिक भइरहेका छन्। बढुवाको विषयचाहिँ सूचना निस्कने हुनाले हामीलाई जानकारी हुने भयो, राजीनामा दिने विषय निजी र व्यक्तिगत भएका कारण त्यो चिफ सापकहाँ थाहा हुन्छ, अहिलेसम्म जानकारी छैन भण्डारीले क्यानडानेपालसँग भने।

एकातिर शैक्षिक प्रमाणपत्र किर्ते गरेको भनी सञ्चारमाध्यममा छ्याप्छ्याप्ती भएपछि जंगी अड्डाले खण्डन समेत गरेको थियो। तर, मन्त्रिपरिषदले रथीमा बढुवा अनुमोदन नगरेपछि उपरथी पाण्डेले राजीनामा बुझाएर विदामा बस्ने निर्णय लिएको उच्च स्रोतहरूले दाबी गरेका छन्।

बढुवा सिफारिसको समितिको निर्णय रक्षा मन्त्रालयमा पुगे पनि दुई पटक मन्त्रिपरिषदको बैठक भइसक्यो। तर, बढुवाको निर्णय नभएका कारण विवरणमा आएका खबरमा सत्यताको दाबी गरिएको छ।

यद्यपि, राजीनामाको विषय पनि मन्त्रिपरिषदले नै पारित गर्नुपर्ने हुन्छ। 

रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको दाबी गरिन्छ। उक्त उजुरी संसदीय समितिमा पनि परेको थियो।

प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा हुने थिए। तर उनको राजीनामा कारण अब उक्त स्थानमा बढुवा हुने सैनिक उच्च अधिकारी नै आगामी प्रधानसेनापतिका उम्मेदवार हुनेछन्।

पाण्डेको बढुवा हुँदा सेनामा नै विवाद समेत देखिने विषय चर्चामा थिए। उनी कडा मिजास र पटकपटकको विवादमा आएका कारण पनि अहिलेको सरकार नेतृत्वले बढुवा नचाहेको दाबी गरिन्छ।

खासमा माओवादी युद्धकालमा पाण्डे निक्कै आक्रामक रहेको भन्ने चर्चाका कारण पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढुवा निर्णयमा चासो नदेखाएको स्रोतहरूको दाबी छ।

पाण्डेको राजीनामासँगै प्रधानसेनापति बन्ने सपना पनि तुहिएको छ। उनको राजीनामा स्वीकृत भए उपरथी ओशक सिग्देल आगामी प्रधानसेनापतिको लाइनमा हुने सम्भावना रहेको छ।

कुनै विवाद विवादित कागजपत्र सार्वजनिक नभएमा उपरथी सिग्देलको बढुवा हुने आँकलन गरिएको छ। तर, यसमा प्रधानसेनापति नेतृत्वको बढुवा सिफारिस समितिको निर्णय हुनुपर्नेछ।

रथीमा हाल मिशनमा रहेका निर्मल थापाको बढुवा हुनेछ। उनी हाल अनडोफ मिशन सिरियामा फोर्स कमाण्डर रहेका छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्