गैरीगाउँ हत्याकाण्ड

‘हत्यामा रिल्याक्श’ गर्ने भण्डारीः चार जना दोभाषेले पत्ता लगाएको अर्को सत्य यस्तो थियो

आइतबार, कात्तिक १२, २०८०

काठमाडौं– गत भदौ २९ गते काठमाडौंको गैरीगाउँस्थित दिव्या समिलमा चार जनाको हत्या गरेका सिन्धुपाल्चोक बाह्रबिसे–९ का सञ्जय भण्डारी ‘हत्यामा रिल्याक्श’ गर्ने प्रवृत्तिको रहेको खुलेको छ। 

यसबाहेक उनका बयानलगायतका विभिन्न आधारले प्रहरीले नयाँ–नयाँ तथ्य पत्ता लगाएको थियो। भण्डारीलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा पठाइसकेको छ। 

तर, उनका हत्या दाबीलगायतका विषयबस्तुमा फरक क्षमता भए पनि प्रहरीले सकेसम्म अनुसन्धान गरेको थियो। चार जना त दोभाषे मात्र खटाएको प्रहरीले केही नयाँ तथ्य फेला पारेको छ। 

भण्डारीले हत्या गर्नुको प्रमुख कारण ‘फरक क्षमता भएका कारण गरिएको विभेद’ रहेको खुलाए। यद्यपि, यति क्रुर र नृशंश हत्यामा सक्रिय उनले बयानका क्रममा नै ‘रिल्याक्श हुने’ पनि दाबी गरेका थिए।

हत्या गरिएको रात शुक्रबार थियो। भण्डारी समिलमा हत्या गरी मृतकको शवलाई काठमुनि, धाराको छेउमा र अन्यत्र ठेगान लगाएर बसे। यति मात्र होइन, हत्या गरेर रगतका छिटाजति धोई पखाली गरेर एक घन्टा घटनास्थलमा आराम गरेर बसे। 

प्रहरीले बाहिर पेट्रोलिङ गरे पनि भित्र हत्या भएको भन्ने चाल पाएको थिएन। हत्या भएका नविन राई मदिरा सेवन गरी समिलमा पुगेका थिए। 

उनले भण्डारीलाई देखेपछि तँ यहाँ किन आएको भनेर सोधेकोसम्म अनुमान गर्न सकिन्छ। त्यसपछि भण्डारीले आफूले बोकेको खुकुरीले नविनको हत्या गरे। लगत्तै प्रहरीलाई खबर गर्न सक्ने भएपछि अन्य तीन जनलाई पनि छप्क्याएको बयान भण्डारीले प्रहरीलाई दिएका छन्। 

प्रहरी अनुसन्धानका अनुसार हत्या भएको दिन दाजु दीपेन्द्र र नविनले सँगै मदिरा सेवन गरेका थिए। नविन एक घन्टा अगाडि नै समिल पुगेका थिए। यदि, उनीहरू सँगै समिलमा पुगेको भए दीपेन्द्र पनि रहन्थे या रहँदैन थिए भन्ने कठिन थियो। 

दीपेन्द्रले समिलको ढोका घचघच्याएपछि भण्डारी पछाडिबाट निस्किएका थिए। उनी भित्र छिरेपछि खुट्टामा, शरिरमा रगतका बाछिटा लागे। दीपेन्द्र छाँगाबाट खसे जस्तो भए। रगत लतपतिएको शरिर लिएर उनी प्रहरीलाई खबर गर्न पुगे। तीनकुने चौकमा पेट्रोलिङको प्रहरीलाई उनले खबर गरे। पहिला त दीपेन्द्रले नै हत्या गरेको हुन सक्ने ठानेर प्रहरीले उनलाई कस्टडीमा राख्यो।

दीपेन्द्रले आफूले हत्या नगरेको दाबी गरिरहँदा प्रहरी यस प्रकरणको गहिरो अनुसन्धानमा जुटेको थियो। 
नविनसँग एक जना हट्टाकट्टा केटाको एक महिना अघि भएको विवाद, मोटरसाइकलले ठक्कर दिएको विषयमा जानकारी पाएपछि प्रहरीले सीसीटिभी फुटेज केलाउन थाल्यो। 
दीपेन्द्रको बयानसँग मिल्दोजुल्दो जीउडाल भएको व्यक्ति त देखियो तर उसको लोकेशन के हो र हत्या गरेको हो या होइन भन्ने पत्ता लगाउनका लागि प्रहरी कस्सियो। 

प्रहरीले हत्या अनुसन्धानका लागि कुकुरको पनि सहयोग लियो। उच्च अधिकारीका अनुसार रोज भनिने बेल्जियन सेफर्ड र पपी भनिने जर्मन सेफर्डलाई काममा खटाइयो। 

प्रहरी त्यतिबेला अचम्मित भयो जब रगतले लतपतिएको दीपेन्द्रलाई हत्याराका रुपमा रोजले कुनै शंका नै गरेन। यसपछि दीपेन्द्रको बयानको आधार र सीसीटिभी फुटेजको कसीमा कुकुरबाट अनुसन्धान थालियो। 
हत्या भएको ठाउँदेखि अनुसन्धानको लिड बेल्जियन सेफर्ड रोजले सुरु गरेको थियो। उसले हत्या अभियुक्त भण्डारी हिँडेको पदचाप समात्दै जडिबुटीसम्म लग्यो। त्यसपछि रोज थाक्यो। अनि, प्रहरीका अनुसन्धान अधिकारी मुख्य हत्या अभियुक्तको खोजीमा झनै व्यापक बनेर लाग्यो। 

यहाँसम्मकी शुक्रबार हत्या गरेको बयानमा स्वीकार गरेका भण्डारी शनिबार बहिरा स्कुलमा गई सामान्य जस्तो व्यवाहार गरेर साथीभाईसँग कुराकानी गर्दै चिया खाए। त्यसबेला पनि हत्याका लागि प्रयोग गरेको खुकुरी उनले झोलामा नै राखेको बयानमा खुलेको छ। 
हत्या गरेको दुई दिनपछि आइतबार भण्डारी सिन्धुपाल्चोक भाग्ने दाउमा थिए। रेकी गरिरहेको प्रहरीले भण्डारी गाडी चढ्ने स्थिति आएपछि पक्राउ गरेको थियो। 

यसपछि हत्याको विषयमा अनुसन्धान सुरु भयो। भण्डारीले ‘आई किल्ड फोर पिपुल’ भनेर लेखेर बयान दिए।  बयानका लागि एक जना मात्र होइन, प्रहरीले चार जना दोभाषेको सहायता लिएको थियो। दोभाषेको सहयोगले जब भण्डारी नै अभियुक्त हुन् भन्ने निचोडमा प्रहरी पुग्यो अनि हिरासतमा रहेका दीपेन्द्रलाई छाडियो। 
‘कुकुरले पनि रगत लतपतिएको दीपेन्द्र हत्यारा हो भन्ने कुनै शंका गरेन, अनि हामी छक्क परेका थियौं’, उच्च अधिकारी भन्छन्। हिरासतमा रहँदा मासुभात मागेर हैरान लगाएका भण्डारीले कतिपय शंकास्पद किसिमका हत्या समेत गरेको बयान दिएपछि प्रहरी चकित भयो। ती शंकास्पद हत्याका विषयमा छानबिनमा प्रहरी लागिसकेको छ। फरक क्षमता भएको भनिएका भण्डारीको हत्याकाण्डमा पनि अति फरक क्षमता देखेको प्रहरी अझ चकित छ। 

यहाँसम्मकी नक्सालमा आफू पढ्ने विद्यालयका अन्य साथीको पनि सहयोग लिएर हत्यासम्म गरेको भन्ने बयान दिएका थिए। जुन, प्रहरीले विश्लेषण गर्दा प्रमाणित भएन। तर, हनुमन्तेको घटनाको बारेमा भने भण्डारी ‘सस्पेक्ट’ हुन सक्ने घेरामा नै छन्। 

सिन्धुपाल्चोकमा पनि हत्या गरेको भन्ने विषयमा खोजी र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
यस्ता खुंखार हत्या अभियुक्त प्रहरीले दशकौंमा मात्र भेट्ने गरेको छ। यदि कुकुरको सहायता नभएको भए भण्डारीलाई पक्राउ गर्नका लागि निक्कै समय लाग्ने थियो। 

नविनसहित भण्डारीले सुभद्रा भुजेल, त्यसपछि पूर्णबहादुर भुजेल र अम्बिकालाई टाउकोमै खुकुरी प्रहार गरेर हत्या गरेका थिए।

प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्