सुन तस्करी प्रकरण

भेपमार्फत सुन तस्करीः चार जनाविरुद्ध मुद्दा दर्ता गरियो, माओवादी उपाध्यक्ष महरालाई किन जोगाइयो?

बुधबार, असोज २४, २०८०

काठमाडौं भेपमार्फत त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जोगाएका छन्।

विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी भएको प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गर्दा सरकारी वकिलको कार्यालयलाई दबाब दिएर अन्य चार जनाविरुद्ध मात्र मुद्दा दर्ता गरिएको हो।

अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधको कसूरमा मुद्दा दर्ता भएको छ। राहुल भनिने रेशम महरा, चिनियाँ नागरिक दाओजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल, थुनामा रहेका बेल्जियन नागरिक दावा छिरिङ र फरार बौद्धकी निमा गुरुङलाई प्रतिवादी बनाउँदा चिनियाँ तस्करसँग टेलिफोनमा सिधा सम्पर्क र कुराकानी गरेका कृष्णबहादुर महरालालाई जोगाइएको हो।

टेलिफोन सम्पर्कका आधारमा मात्र महरालाई मुद्दा चलाउने स्थिति नदेखिएको प्रहरी अधिकारी बताउँछन्। सरकारको नेतृत्व र गृहमन्त्रालय माओवादीको हातमा छ।

विमानस्थल भन्सारका प्रमुख प्रशासन अरुण पोखरेललाई तस्करीको सुनका विषयमा महराले टेलिफोन गरी सहजीकरणका लागि भनेका थिए। तर, उनले सामान्य कुराकानी मात्र गरेको भन्ने बयानमा उल्लेख थियो।

बयानमा उनले भनेका छन्,‘दाओजिन वाङसँग मेरो पुरानो चिनजान छ। आफू एउटा फलफूल व्यापारीको रुपमा नेपालमा व्यापार गर्ने भनेर चिनाएका थिए।

२९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ईसिगरेट (भेप) बरामद भएको थियो। भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो।

कल डिटेल्समा चिनियाँ नागरिक लुई र डाओजिन वाङको कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासँग सम्पर्क देखिएको थियो।

चिनियाँ नागरिक दुई र कृष्णबहादुर महराको पटक पटक सम्पर्क भएको अनुसन्धानका क्रममा खुलेको थियो। कृष्णबहादुर महराको विषयमा नै अनुसन्धान गर्दा छोरा राहुलका लागि नै हेरिदिनू भने पनि संलग्नताको पुष्टि हुन्छ। तर प्रहरीले गृह मन्त्रालयको दबाबमा प्रतिवेदन र रायमा कृष्णबहादुर महरामाथि मुद्दा लगाउनु नपर्ने किन उल्लेख गरेको हो? उच्च स्रोतले भन्यो,‘सत्ता र शक्तिको दुरुपयोग भएको छ।

त्यसको त ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने किर्ते प्रकरणमा पनि पूवैप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पनि मुद्दा चलाइएन। यो सत्ताको तिव्र दुरुपयोग हो।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्