विचार

चौरिया : जय नेपाल ! बिपीलाई सम्झाउने त्यो रुख र बस्ती

य नेपाल ! महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीमा प्रवेश गर्ने कुनै अभ्यागत ९अतिथि० हउन् कि आफ्नै छरछिमेकका मान्यजन, सबैका लागि अभिवादन शिष्टाचार निर्वाहमा ‘जय नेपाल’ जिब्रोमै झुण्डिएको छ । बोलिने भाषा नेपाली, मैथिली वा हिन्दी जुनसुकै हुनसक्छ, तर चौरिया बस्तीको एकअर्कामा गरिने अभिवादन भने ‘जय नेपाल’ बाटै हुन्छ । 

सामान्यतया राष्ट्रसेवक सुरक्षाकर्मी वा पुरानो राजनीतिक दल नेपाली कांग्रेसमा आस्था राख्नेहरुले अभिवादनका लागि ‘जय नेपाल’ को प्रयोग गर्छन् । तर चौरियामा भने ‘जय नेपाल’ अभिवादन सबैको बनेको देखिन्छ । यहाँका अधिकांश नागरिकले शिष्टाचारका लागि सगौरव ‘जय नेपाल’ शब्दको प्रयोग गर्छन् । चौरिया बस्ती र जय नेपालको अभिवादन एकअर्कोका परिचायक छन् ।  

कसैलाई लाग्ला चौरिया बस्ती कांग्रेसको ‘आधार इलाका’ भएर पो हो कि १ हो, धेरैअघि पञ्चायतकालमा यो ठाउँ ‘काँग्रेस गाउँ’ भनेरै चिनिन्थ्यो । तर कालान्तरमा अन्य पार्टीको प्रभाव क्षेत्र विस्तार हुँदा पनि यहाँ सम्बोधनको भाषा बदलिएको छैन । 

“जय नेपाल ! केम्भर स ऐलीय, बैठु, पाइन पिबलीय” (जय नेपाल ! कताबाट आउनुभयो, बस्नोस् न, पानी खानोस्) बस्ती पुगेका यी पङतिकारप्रति आतिथ्यता दर्साउँदै सो बस्तीकी ७५ वर्षीया रामपरीदेवी कापर भन्नुहुन्छ, “हमर गाममें सुन्दर वाटिका बनल अई, देइखक जायब” (हाम्रो बस्तीमा सुन्दर वाटिका बनेको छ, हेरेर जानुहोला) । रामपरी मात्र नभएर यो बस्तीका जो सुकैले आफू कहाँ आउने अभ्यागत (पाहुना)को स्वागतमा गरिने शिष्टाचार प्रायः यस्तै हुन्छ । पहिलेपहिले कांग्रेस पार्टीको आधार क्षेत्र हुँदा चलेको ‘जय नेपाल’ को अभिवादन अब आफ्नो बस्तीको परिचय नै बनेको चौरियाबासी बताउँछन् । 

प्रजातन्त्र पुनस्र्थापनायता चौरियामा विभिन्न दलका गतिविधि बढेका छन् । जलेश्वर नगरपालिकामा गाभिनुअघि पर्सापतैली गाविस हुँदा स्थानीय चुनावमा ४७ स्थानमध्ये ४५ त एमालेले जित्यो । तर आफ्नो ठाउँको शिष्टाचार अभिवादनभने सबैले ‘जय नेपाल’ मै गर्ने गरेका बयोवृद्ध ८० वर्षीय हरिहर साह बताउनुहुन्छ । 

पञ्चायतकालमा चौरिया पर्सापतैली गाउँ पञ्चायतमा पथ्र्यो । तत्कालीन समयमा जिल्लाभरि नै पञ्चायत विरोधी आन्दोलनको संयोजन गर्ने ठाउँका रुपमा परिचित थियो यो बस्ती । पञ्चायत विरोधी आन्दोलनको संयोजन गर्नुहुन्थ्यो स्थानीय गणेश नेपाली । नेपाली कांग्रेसमा आवद्ध नेपालीलाई यहाँका हरेक नागरिकले आफ्नो साझा नेताको रुपमा सम्मान गर्नुहुन्थ्यो । “नेपालीजीले नै हामीलाई पञ्चायतविरुद्ध लाग्न प्रेरित गर्नुभयो । उहाँले नै ‘जय नेपाल’ भन्न सिकाउनुभयो । कालान्तरमा यो शिष्टाचारको माध्यम बन्यो र त्यो संस्कृति चौरियामा हालसम्म पनि कायम छ” साहले पुरानो सन्दर्भ जोड्दै भन्नुभयो । 

रोचक त के छ भने ‘जय नेपाल’ लाई शिष्टाचारको माध्यम बनाउन सिकाउने तिनै नेपाली अन्तिमसम्म नेपाली कांग्रेसमा रहनु भएन । केही असहमतिका कारण पार्टी फेरिरहनुभयो । तर पनि यहाँको त्यो शिष्टाचार शैली फेरिएन । एमाले हुँदै मधेश केन्द्रित दल तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (२०६४ साल) मा आबद्ध भए पनि न स्वयम् उहाँले ‘जय नेपाल’ भन्न छोड्नुभयो न त चौरियावासीले नै छोडे । जीवनको अन्तिम क्षणमा भेट्न पुग्नेलाई पनि नेपाली मुस्कानका साथ ‘जय नेपाल’ को अभिवादन गर्नुहुन्थ्यो । 

बिपी सम्झाउने पिपलका रुख

विसं २०३९ साउन ६ गते नेपाली साहित्यका सुवास, प्रजातान्त्रिक आन्दोलनका प्रणेता विश्वेरप्रसाद कोइराला (बिपी कोइराला)को निधन भयो । कोइरालाको प्रथम वार्षिकीका दिन अर्थात २०४० साउन ६ गते नेता नेपालीको नेतृत्वमा सोही वस्तीको डबरी र पूर्नी पोखरी डिलको चउरमा वृक्षरोपण गरियो । त्यसको साक्षी हुनुहुन्थ्यो साह (हरिहर)सहितका चौरियाबासी नेपालीका समवयी । 

“साउन छ (६० गते) हिजोजस्तै लाग्छ । स्व.नेपालीजीको नेतृत्वमा हामीले बिपी कोइरालाको प्रथम स्मृतिमा वृक्षरोपण गर्दै थियौं । एक्कासी प्रहरी आएर सिठी बजाउँदै लाठी बजार्न लागे । नजिकै दशगजा नाघेर जोगियौ” साहले ४० वर्षअघिको त्यो क्षण सम्झिनुभयो । नेपाल भारत सीमा (दशगजा) मुस्किलले २०० मिटरमात्रको दूरीमा छ । 

नेपाल भारत सीमासँगै जोडिएको चौरिया बस्तीको चउरमा रोपिएको त्यो पिपलको रुख ४० वर्ष पुरानो भए पनि प्रिय नेता कोइरालाको याद ताजा बनाउने माध्यम बनेको साहको भनाइ छ । “अहिले हामीले चाहेजस्तै बहुदलीय प्रजातान्त्रिक व्यवस्था छ । यो व्यवस्थाबाट के पाइयो, के पाइएन म लेखा लाउन सक्दिन तर हामीले पञ्चायत ढाल्ने मनसुवाले रोपेका पिपल बस्तीका लागि शीतल छहारी बनेका छन् । यसले आनन्द दिन्छ” साहले भन्नुभयो । 

पञ्चायतकालमा नागरिक स्वतन्त्रताको कुरा मात्रै होइन, बिरुवा रोप्दा पनि व्यवस्था विरोधी मानिन्थ्यो । त्यसैकारण अन्य जातका विरुवा रोपिए पञ्चहरुले दख्खल गर्लान् भनेर डबरी र पूर्नी पोखरी डिलमा छ वटा पिपल रोपिएको सो बस्तीकै ६५ वर्षीया सरस्वती कापर सम्झनुहुन्छ । उहाँ (जननेता बिपी कोइराला)को स्मृतिमा पञ्चायतकालमा रोपिएका वृक्ष (रुख)ले सधैंँ प्रजातान्त्रिक आदर्शप्रति अविचल रुपमा उभिइरहन प्रेरित गरिरहेका कापर बताउनुहुन्छ ।  

गणेशको पनि सम्मान 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपी कोइराला जति आदर्शको पात्र हुनुहुन्छ, चौरियावासीबीच बिपीका अनुयायी एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा गणेश नेपाली त्यति नै सम्मानित हुनुहुन्छ । अहिले तिनै सम्मानित व्यक्तित्व नेपालीको सम्मानमा रमणीय वाटिका (उद्यान, पार्क) बनेको छ । ‘स्वर्गीय गणेश नेपाली स्मृति उद्यान (पार्क)’ नाम दिइएको यो वाटिका  नेपालीको निधन (१३ भदौ २०७६) भएपछि परिकल्पना गरिएको थियो । यसको निर्माण भने आर्थिक वर्ष २०७७/७८ मा थालिएर अब अन्तिम चरणमा पुगेको छ । वाटिका निर्माणको काम करिब सम्पन्न भए पनि स्व. नेपालीको प्रतिमा अनावरणको काम भने बाँकी छ । 

चौरियाबस्तीकै ७० वर्षीय ठकन चौधरी स्वर्गीय नेपालीको नेतृत्वमा जननेता बिपी कोइरालाको स्मृतिमा रोपिएका पिपलको छहारी मात्र होइन, चौरियाबस्ती पुछारको डबरी र पूर्नी पोखरी माझमा स्व। नेपालीको नाममा निर्माण गरिएको उद्यानले दुबै जनाको स्मृतिलाई एकैपटक ताजा  बनाइरहेको बताउनुहुन्छ । “हामीलाई स्व। नेपालीले आन्दोलनमा जोड्नुभयो । बिपीको स्मरणमा पिपल रोप्न लगाउनुभयो, अहिले हामीले पनि उहाँको स्मृतिमा उद्यान बनायौँ । त्यसको निर्माण कार्य अन्तिम चरणमा छ” चौधरी भन्नुहुन्छ, “स्व. नेपालीको शालिकसहितको यो उद्यानले उहाँ र जननेता बिपी कोइरालालाई सम्झाउँदै प्रजातान्त्रिक आदर्शप्रति समर्पित रहन प्रेरित गरिरहेको छ ।”

यसैगरी, यहींकै स्थानीय रत्नेश चौधरी पनि स्मृति वाटिकालाई चौरियाबासीले प्रजातान्त्रिक आन्दोलनसँग जोडेर मूल्याङ्कन गर्ने गरेका बताउनुहुन्छ । “यो उद्यान जननेता स्व। बिपी कोइराला, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व। नेपालीसँगै हाम्रो बस्तीको पनि सम्मान हो”, उद्यान परिसरभित्रको महावीर मन्दिरका पुजारीसमेत रहनुभएका ६० वर्षीय चौधरीले भन्नुभयो । 

स्व. नेपाली २०४६ सालको ऐतिहासिक जनआन्दोलनताका नेपाली काँग्रेस महोत्तरीको सभापति र जिल्लामा संयुक्त जनआन्दोलनको मुख्य संयोजक हुनुहुन्थ्यो । उद्यान नजिक पुग्दा स्वर्गीय नेपालीसँग बिताएका क्षणहरुलाई सम्झेर रोमाञ्चित र भावुक बनाउने गरेको नेपालीकै प्रेरणाले प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका ७० वर्षीय रहिमन मण्डल बताउनुहुन्छ । 

“स्व.नेपालीकै अगुवाइमा समय अनुकूल हुँदा बस्तीबस्ती पसेर पञ्चायतविरुद्ध जनमत बनाउन लाग्थ्यौं । त्यसको बदलामा हाम्रो बस्ती सधैँ पञ्च र प्रहरी प्रशासनको तारो बन्थ्यौं” मण्डल सम्झनुहुन्छ, “नजिक भारत सीमा नभएको भए के के भइसक्थ्यो तर यो सीमा नाका हाम्रो आन्दोलनमा निकै सहयोगी बन्यो ।” दशगजा नजिक नभए पञ्चायतविरुद्धको आन्दोलनमा सिन्धुपाल्चोकको पिस्करमा झैं आपूmहरु पनि पिसिनसक्ने मण्डल अनुमान गर्नुहुन्छ ।

“पिस्करमा भागेर उम्कने ठाउँ नहुँदा पञ्चायती शासकले ठूलो नरसंहार गरेका सुन्थ्यौं, तर हामी चाहीँ थोरै पनि प्रतिकूल समयको आँकलन गरिदा फुत्त पारी (भारत) पुग्थ्यौं” पुरानो सन्दर्भ सम्झदै मण्डलले भन्नुभयो । चौरिया बस्तीमै जोडिएको दशगजा नाघ्न दुई/तीन मिनट नै पर्याप्त भएको वाटिकाबाट अलिपरको दशगजास्तम्भ (सीमा स्तम्भ) देखाउँदै मण्डलले बताउनुभयो ।  

चौरिया बस्तीमा रोपिएका तिनै पिपल र पछि थपिएका, समी र अशोकका रुखले दिने शीतलतालाई यहाँका बासिन्दा प्रजातन्त्रको शीतल छहारीको संज्ञा पनि दिन्छन् । चौरियाको प्रजातान्त्रिक आन्दोलनलाई नजिकबाट नियाल्नु भएका स्व। नेपालीका समवयी ८० वर्षीय अवकास प्राप्त शिक्षक रामपदारथ चौधरी तिनै पिपलका रुखहरुले हरेक वर्षको साउन–६ ले समर्पण, सङ्कल्प र प्रजातान्त्रिक निष्ठाप्रति आपूmलाई उभ्याइरहन प्रेरणा दिइरहेको बताउनुहुन्छ । त्यसैकारण हरेक वर्षको साउन ६ गते सो बस्तीमा वीर बिपीः जिन्दावाद, गणेश नेपालीः अमर रहुन्का नारासँगै जसले जहाँ सम्भव छ (आफ्नै वा सार्वजनिक जग्गा) त्यहाँ कम्तिमा एउटा रुख रोप्ने संस्कृति नै बसेको उहाँले बताउनुभयो । 

स्व. नेपालीकी राजनीतिक सहकर्मी तथा जीवन सँगिनी दानादेवी नेपाली पनि प्रजातान्त्रिक आन्दोलनमा स्व। नेपालीको योगदानलाई जीवन्त बनाउने गरी यो उद्यान निर्माण गरेकामा खुसी हुनुहुन्छ । “मान्छे नरहे पनि यादहरु त रहिरहन्छन् । यो उद्यानले ती यादहरु र प्रजातान्त्रिक आन्दोलनमा उहाँ (पति गणेश नेपाली)ले खेलेको भूमिकालाई थप स्मरणीय बनाएको छ । यस कार्यका लागि म सबै सरोकारवालाप्रति आभारी छु”, उहाँले खुसी भावमा भन्नुभयो । 

सात कठ्ठा १० धुर जग्गामा फैलिएको यो वाटिका मधेश प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो । उद्यान परिसरभित्र पिपल, समी र अशोकका छायाँदार रुखमा चौतारा छन् । उद्यानमा सङ्कटमोचन महावीर (हनुमान)को मन्दिर, थप आकर्षणका लागि रुखमा झिलिमिली बत्ती जडान, अवलोकन गर्नेहरुको सहजताका लागि तीन/तीन जना बस्न मिल्ने २५ ओटा सिमेण्ट बेञ्च, आकर्षक मञ्च र सङ्खमरमर ओछ्याइएको पैदल हिड्ने बाटो छ । वाटिकाका चौरमा कहिल्यै नओइल्याउने दुबो बिछ्याएर थप व्यवस्थित गरिएको उद्यान निर्माण समितिका अध्यक्ष मदन कापर बताउनुहुन्छ । मधेश प्रदेश सरकारको करिब रु ६५ लाखको लागतमा बनाइएको सो वाटिकामा स्व।नेपालीको शालिकसमेत राखिएको छ । जो अनावरण गरिन बाँकी रहेको अध्यक्ष कापरले जानकारी दिनुभयो । 

अहिले यो स्मृति वाटिका स्थानीयका लागि बिहान र साँझको योग, ध्यान, अध्ययन र शीतल ताप्ने गन्तव्य बनेको छ । यसैगरी डबरी र पूर्नी पोखरीको पानी नजिकका खेतबारीमा सिँचाइमा उपयोग गर्ने र उद्यानलाई सडकले जोडेर एक मनोरम पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजनासमेत रहेको जलेश्वर–५ का वडाध्यक्ष कृष्णमोहन शर्मा बताउनुहुन्छ । 

पञ्चायतकालका अप्ठ्यारा दिन, त्यतिखेरको आन्दोलन, यहाँका सर्वसाधारणको प्रजातन्त्रप्रतिको निष्ठाको साक्षी जननेता बिपी कोइरालाका स्मृतिमा रोपिएका छायाँदार पिपलले प्रजातन्त्र सबैलाई शीतल छहारी दिने व्यवस्था हो भन्ने सन्देस दिइरहेका यहाँ पुग्ने जोसुकैको प्रतिकृया हुनेगर्छ । अब उद्यानसँगै जोडेर यहाँ (चौरिया) पञ्चायतकालमै प्रजातान्त्रिक सचेतनाका लागि स्थापना गरिएको पुस्तकालयको सम्भार र विकासमा पनि प्रदेश र स्थानीय सरकारले ध्यान देओस् भन्ने चौरियाबासीको माग छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार