बङ्गलादेशका नागरिकलाई बन्धक बनाएर फिरौती माग्ने गिरोह पक्राउ

आइतबार, साउन २८, २०८०

काठमाडौँ– नेपाल प्रहरीले बङ्गलादेशका नागरिकलाई बन्धक बनाएर फिरौती माग्ने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बङ्गलादेशका नागरिकलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाएर काठमाडौँका विभिन्न स्थानमा ल्याइ बन्धक बनाउने सातजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बङ्गलादेशका ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडि मोसिउर, ३८ वर्षीय सलिम मियाँ, २१ वर्षीय जहाङ्गीर आलम, २१ वर्षीय तहमिना बेगम, सिन्धुपाल्चोककी २७ वर्षीय तारा नेपाली र इलामकी ३३ वर्षीय रोशनी राई रहेका छन् ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) डा मनोज केसीले पक्राउ परेको गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याई काठमाडौँका विभिन्न होटलमा बन्धक बनाइ उनीहरुका परिवारसँग पैसा माग्ने गरेको अनुसन्धानमा खुलेको बताए ।

उनले बन्धक बनाइएका छ जना बङ्गलादेशी नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए । पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको कार्यालय प्रमुख केसीले बताए ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्