ललिता निवास प्रकरण

ललिता निवास प्रकरण : १४ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति 

मंगलबार, असार २६, २०८०

काठमाडौँ–  ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १४ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ। 

जिल्ला अदालत काठमाडौँले आज उनीहरुलाई दोस्रो पटक थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद दिएको हो । 

यस प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १४ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालतले जनाएको छ ।

प्रहरीले यर्स प्रकरणमा संलग्न भएको आरोपमा आजैमात्रै मालपोत कार्यालयका डिल्लीबजारका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको छ ।  मन्त्रिपरिषदको निर्णयलाई अपव्याख्या गरी सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोपमा उनीहरुलाई भोलि अदालतमा उपस्थित गराएर अनुसन्धानको अनुमति लिइने सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए ।

यसअघि आइतबार सिआइबीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो ।

कीर्ते तथा सङ्गठीतरुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले अहिलेसम्म १४ जनालाई पक्राउ गरिसकेको छ । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो ।

सोही प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्