दर्शकमा कलाकारप्रतिको कौतुहलता नै छैन : अशोक शर्मा

शनिबार, असार १६, २०८०

काठमाडौँ– अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायत विधामा सक्रिय रुपमा काम गरिरहेका छन् ।

विसं २०५०  चैतमा उनीद्धारा निर्मित चलचित्र ‘ट्रक ड्राइभर’ चर्चित भएपछि कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुग्नुभयो । पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए ।

गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे । “बेहोस भएर हलबाहिर ल्याएको दर्शक होसमा आउनासाथ पुनः चलचित्र हेर्न भित्र पस्थे । स्वास्थ्यभन्दा पनि चलचित्रको चिन्ता थियो”, निर्माता शर्माले एक अन्तरक्रियाका क्रममा स्मरण गरे, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई रोल दिने चलन थियो । चलचित्र प्रर्दशन भएको  ५१औँ दिनभन्दा बढी भएपछि दर्शकसँग भेटघाट गर्थ्यौं ।”

निर्माता शर्माले डिजिटल प्रविधिमा चलचित्र रूपान्तरण भएपछि ‘जय भोले’ र ‘रातो टीका निधारमा’ निर्माण तथा निर्देशन गरे । निर्माताका रुपमा समेत रुपान्तरण महसुस गर्नुभएका शर्माले प्रविधिले दिएको सहजताको विषयमा चर्चा गरे । उनले भने, “पहिले म आफैँ कलाकार बन्ने समयमा एउटा फाइल बोकेर हिँड्थे । त्यसमा मैले अभिनय गरेको नाटकको जानकारी हुन्थ्यो । अहिले आफ्नो क्षमतालाई सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्न सकिन्छ ।”

निर्माता शर्माका अनुसार प्रविधिले सहजता दिए पनि दर्शक भने कम भइरहेका छन् । पचासको दशकमा चलचित्र बन्दाबन्दै लगानी उठेको प्रशस्तै उदाहरण छन् । अहिले वर्षमा मुस्किलले दश चलचित्रले मुनाफा पाउने गरेका छन् ।

‘ऐना झ्यालको पुतली’ मार्फत निर्देशनमा डेब्यु गर्नुभएका निर्देशक सुजित विडारीले दर्शकसँग चलचित्र हेर्ने माध्यम धेरै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वभरका चलचित्र हामीले सहजै हेर्न सक्छौँ । यसले दर्शकको चलचित्र चेतनालाई बढाएको छ । त्यो चेतना हाम्रोभन्दा बाहिरको चलचित्रले दिएका कारणले पनि हामीले विश्वसनीयता गुमाइरहेका छौँ ।”

सामाजिक सञ्जालको प्रयोगले कलाकार र दर्शकको दूरी कम भएकाले चलचित्र प्रति आकर्षण घटेको निर्माता शर्माको भनाइ थियो । “पचासको दशकमा कलाकार हुन्थे । दर्शकसँग प्रत्यक्षरूपमा ५१औँ दिन वा सोभन्दा बढी भएमा मात्र भेट हुन्थ्यो । सम्पर्क हुने अन्य माध्यम नै थिएन”, उनले भने, “अहिले हाम्रो दिनचर्या र सम्पर्क सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जोडिएको छ । दर्शकमा कलाकारप्रतिको कौतुहलता नै छैन ।” 

निर्देशक विडारीले नेपाली दर्शकले हास्य विधाका चलचित्र बढी रुचाइएको पाएइएता पनि त्यतिमै सीमित नभई फरक विधालाई दर्शकसम्म पु¥याउनु सर्जकको दायित्व रहेको बताए ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्