दम्पती हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा

मंगलबार, जेठ ३०, २०८०

नवलपरासी– एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पश्चिम नवलपरासी आएको छ । 

नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो । उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको हो ।

उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सिआइबीको र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्तरुपमा उक्त हत्याको अनुसान्धान गरिरहेको बताए । 

उनको अनुसार अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको छ । अपराधीले घटना होसियारीपूर्वक घटाएकाले सामान्य प्रमाणसमेत छोडेका छैनन् । जिल्ला प्रहरी कार्यालयले उक्त घटनामा अनुसन्धान गर्दा अपराधी नजिक पुग्न नसक्दा तीन दिनदेखि सिआइबीको दुई टोली पनि आएर अनुसन्धानलाई अगाडि बढाएको उपरीक्षक पाण्डेले जानकारी दिए । उनको अनुसार प्रहरी अपराधीको नजिक पुगिसकेको छ । 

हत्या भएको दम्पतीको सोही वडामा रहेको बैरिहवा भन्ने गाउँमा घर रहेको छ तर उनीहरू सामान्य खेतीपातीसँगै भैँसीपालन गरी पथलहनीमा बस्दै आएका थिए । उनीहरूका सन्तान उक्त गाउँमै बस्दै आए पनि दम्पती भने गाईभैँसीलाई रेखदेख गर्नको लागि पथलहनीमा बस्दै आएका थियो । उनीहरूको हत्यापछि शवलाई आँगनमा फालिएको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्