नेभिगेशन
सुरक्षा–अपराध

बाढीको विपदमा लाचार सेनाः ठूलो क्षमता भएका दुई वटा हेलिकोप्टर कहाँ गायब भए?

यदि ती २ थान एमआई–१७ हेलिकप्टर समयमै फर्काइएका भए, अहिले हजार किलोमिटर टाढा रहेका पहाडी क्षेत्रका बेपत्ता मानिसहरूको खोजी र उद्धार गर्न नेपाली सेनाका लागि सजिलो हुन सक्ने टिप्पणी

काठमाडौं– रसुवाको भोटेकोशीदेखि त्रिशुलीसम्म आएका बाढी पहिरोको जोखिमबीच उद्धारमा हेलिकोप्टरको प्रयोग अनिवार्य हुने बेला नेपाली सेनाभित्रको एउटा ‘विषय’मा राज्य गम्भिर नभएको पाइएको छ।

मनसुन सक्रिय हुने र देशैभरी बर्षापछि बाढी पहिरोको जोखिम अझ बढ्ने बेला उद्धारमा खटिने सेनाका दुई वटा हेलिकोप्टर गायब भएको विवरण सतहमा आएको छ।

नेपालको सेनाको हवाइ सहायता क्षमतामा सबैभन्दा ठूला हेलिकप्टर एमआई–१७ अहिले पनि सर्तविपरित गायब छन्। 

२०८०, असोजमा २७० दिनभित्र मर्मत गरेर ल्याउने भनेर भारत लगिएका हेलिकोप्टर सर्तविपरित अहिले पनि गायब रहेको विवरण फेला परेको हो।

पूर्वप्रधानसेनापति प्रभुराम शर्माको कार्यकालमा बिना टेण्डर, बिचौलिया र दलालहरूको मिलेमतोमा झण्डै  डेढ अर्ब रुपैयाँ मर्मत खर्च स्वीकृत गरेर भारतको एउटा पानी जहाज कम्पनीमा पठाइएका हेलिकोप्टर नेपाल आइसकेका छैनन्। 

जबकि सर्तअनुसार उक्त हेलिकोप्टर २०८१ को साउनमा नै आउनुपर्ने हो। २०८२ को साउन लाग्दा समेत आइनसकेका ति हेलिकोप्टरहरु उद्दारका लागि खटाउन सकिने थियो।

जबकि, गत बर्ष पनि तिनले काम गर्न सक्ने थिए। गत बर्षको असोजमा काठमाडौंमा नै हेलिकोप्टर नहुँदा चार जना बीच नदीमा अलपत्र परेका थिए।

नेपाली सेना औपचारिक रूपमा कुनै विवरण दिन सकेको छैन भने रक्षा मन्त्रालयले पनि जवाफ दिन इन्कार गरिरहेको छ।

हालका प्रधानसेनापति अशोकराज सिग्देलले पनि यो विषयमा कुनै गम्भीर चासो नदिएको बताइन्छ। सेनाको जङ्गी अड्डा भने ति हेलिकोप्टर आउने क्रममा रहेको मात्र बताउँछ।

भूकम्प, बाढी, पहिरोजस्ता विपत् व्यवस्थापनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। 

एमआई–१७ हेलिकप्टरको ४ हजार केजी सामान र २४ जना यात्रु बोक्न सक्ने क्षमता हुन्छ। रसुवा, स्याङ्जा, खोटाङ, ताप्लेजुङ लगायतका जिल्लाहरू बाढीपहिरोको जोखिममा छन्, तर  सेनासँग हेलिकप्टरको अभाव रहेकाले हवाई उद्धार कठिन भएको सेना सम्बद्ध विशेषज्ञ पत्रकार गोपाल बुढाथोकीले लेखेका छन्।

यदि ती २ थान एमआई–१७ हेलिकप्टर समयमै फर्काइएका भए, अहिले हजार किलोमिटर टाढा रहेका पहाडी क्षेत्रका बेपत्ता मानिसहरूको खोजी र उद्धार गर्न नेपाली सेनाका लागि सजिलो हुन सक्ने उनको टिप्पणी छ।

उनले प्रश्न गरेका छन्,‘यी हेलिकप्टर नहुँदाको नोक्सानीको मूल्य कसले चुकाउने? के केवल बिचौलिया, दलाल र उनकै संरक्षकहरूले ढाकछोप गर्ने? कि राज्यले नोक्सानी व्यहोरेर, निर्दोष जनताले ज्यान गुमाएर?’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध