हिजोका नानीमैया, शिशुपञ्च, कालू र गोल्छे, आजका ओली, लिङ्देन र लामिछाने

शुक्रबार, जेठ २६, २०८०

म आफू 'ठिटो' हुँदाको समय सम्झिन चाहन्छु । सायद यी परिदृष्यहरू मध्ये केही त अझै बिद्यमान होलान्  ।  तर, यतिबेलाको अवस्था ठ्याकै वर्णन गर्न म सक्दिन । ती दिनहरूको अनुभवकै सहारा लिन्छु ।

पहिलो परिदृष्य

काठमाडौका गल्ली गल्लीमा त्यतिबेला 'दिदीचा', 'बालाँ टाजु' र 'हिस्सी मैंचा'का मधुशाला (भट्टी) हुने गर्दथे । ती मदिरालयहरुमा प्राय: सुनिने आवाज हुन्थ्यो - 'चकन्छी वास: अले आलु हाफ' (एक चौथाई सोमरस र आलु हाफ) । प्रत्युतरमा साहुनीले गिलास भरी घरेलु स्वनिर्मित मदिरा र पिरो आलुको तीन टुक्रा दिइहाल्थिन् । ग्राहकले तत्कालै पिरो आलु मुखमा राखेर मदिरा घुड्क्याउंथे मुख बिगार्दै घाँटी मुसार्दै ।

सुरूमा अप्ठ्यारो भएको देखिन्छ तर बिस्तारै दोश्रो तेश्रो घुड्को सम्ममा ग्राहकले आनन्द मान्न थाल्दथ्यो उसको नाक कान र गाला रातो हुन थाल्दथ्यो । बिस्तारै त्यो मानिसले संसार हांक्न थाल्दथ्यो र अगाडीका मानिसलाई 'मर्स्या (मदिसे)', 'बर्म्हु (बाहुन), 'सेँ (भोटे)' र 'खेँ (पाखे)' भन्न थालिहाल्थ्यो ।

त्यो 'वास:' अत्यन्तै लोकप्रिय थियो किनकी असाध्यै सस्तो र तुरुन्तै बिद्युतीय असर गर्थ्यो ! त्यसमाथि त्यो शुद्ध 'घरमा बनेको स्वदेशी' थियो ! तर, त्यसमा कति बिदेशी अमोनियम सल्फेट मिसाइएको छ बिचरा ग्राहकलाई थाहा हुँदैनथ्यो । कालान्तरमा त्यो सस्तो 'बिजुली पानी' ले कलेजो फियो आदि इत्यादी ध्वस्त गर्थ्यो र क्यान्सर जस्तो प्राणघातक रोगको सिकार हुन्थे बिचरा 'गरिखाने देशप्रेमी' ग्राहक !

यो अंश यस मुलुकका महान राष्ट्रबादी एबं 'हटि होइन डटि लड्ने' ओलीजीप्रति समर्पित!

अब अर्को परिदृष्य

एउटा बालकको जन्म हुन्छ ! आमाको सुत्केरी खर्च राज्यले ब्यहोर्छ । न्वारान संस्कार राज्यले गरिदिन्छ । धुमधामका साथ हात्ती घोडा पालकीको प्रदर्शनसहित अन्नप्राशन र शुभ ब्रतबन्ध राज्यको ढुकुटीबाट हुन्छ । विवाह त कुरै भएन! विवाह पश्चात् सरकारले जमिन दिन्छ र निर्मल बातावरणको निवास निर्माण गरिदिन्छ !

औपचारिक पत्नी बाहेक कैयन् नानी, रानी र महारानी हुन्छ्न् ! ती सबै पबित्र कोखहरूबाट परमेश्वरका अनुकम्पाले पुत्र पुत्री जन्मिन्छन् ! राज्यले नै सबै बन्दोबस्त गरिदिन्छ !! कुनै नागरिकले थोरै फाइदा हुने ब्यबसाय थाल्यो भने मौसुफलाई बिनालगानी शेयर टक्र्याइन्छ !! बुबाको स्वर्गारोहण भयो । चित्ताको दाउरादेखि काजक्रिया काट्टो दान सबै राज्यको दायित्व !! अनि पुरातात्विक महत्वका मूर्ति, चित्र वा कला सर्लक्क उठाएर बिदेशमा वेच्ने नैसर्गिक हक पनि प्राप्त हुन्छ !! छोरो गुण्डा निस्किन्छ, मान्छे किच्दै हिँड्छ बन्दुक तेर्साउँदै हिँड्छ !! तर कानूनभन्दा माथि !!! छोरीको लागि दाइजो र घर मर्मतसम्म राज्यले गरिदिन्छ । अझ रमाइलो त उसलाई, श्रीमतीलाई, गुण्डा छोरो र छोरीलाई बार्षिक लाखौं रकम बाहुली दाखिला!!

मलाई एकजना मित्रले मण्डले भनेको के होला भनेर सोधे । पहिला त लाग्यो, उनी मलाई जिस्क्याउँदै छन् । तर, पछि थाहा भयो - यो उनको नितान्त जायज जिज्ञासा रहेछ । सायद म र मेरो पूस्ताको लागि अत्यन्तै चीरपरिचित यो बदनाम शब्द धेरैजना बिशेषत: नयाँ पूस्तालाई थाहा छैन ।

एकताका नेपालमा संविधान त थियो ! त्यो संबिधानमा नानाथरी अलंकारयुक्त शब्दाबली चाङ मिलाएर, सिंगारेर राखेको पनि थियो । तर, त्यो संबिधानले कथित 'श्री ५' हरुलाई संबिधानको परिधिभन्दा माथि राखेको थियो । 'श्री ५' भन्नाले राजा, रानी, युवराज मात्र होइन भारततिर विवाह भएका राजाका फुफू बज्यैसम्म पनि पर्दथ्यो । ती 'श्री ५ फुफू शाहज्यादी' मर्यादाक्रममा नेपालका प्रधानमन्त्रीभन्दा माथी पर्दथे र तिनलाई नेपाली जनताको रगत पसिनाको पैसाले तिरेको करबाट भत्ता 'बाहुली दाखिला' हुन्थ्यो । कहाँसम्म भने राजा महेन्द्रकी अबैध श्रीमतीबाट जन्मेका एक ब्यक्तिलाई (महेन्द्रको निधन पश्चात्) अनायास आम जनताभन्दा माथी संबोधन गर्न थालियो । रेडियो नेपालले अनायासै 'राजकुमार ...शाह पनि श्राद्धमा सरिक होइबक्स्यो' भन्यो !

त्यसबेला राजनीतिक दलहरु प्रतिबन्धित थिए । कांग्रेस कम्युनिष्टहरू या जेलमा कोच्चिएका थिए या भारतमा निर्वासनमा । कुनै विद्यार्थी संगठनलाई समेत खुल्ला काम गर्ने छुट थिएन । तर, 'राष्ट्रबादी स्वतन्त्र विद्यार्थी मण्डल' नाम गरेको एउटा संगठनलाई पुरै स्वतन्त्रता थियो । उनीहरूलाई सरकारी ढुकुटीबाट बजेट आउंथ्यो र सुरक्षा अंगको संरक्षण हुन्थ्यो । अझ भनौं, प्रहरी प्रशासन उनीहरूको इशारामा चल्थ्यो । उनीहरूलाई जे गर्न पनि छुट थियो । किनकि दरवारको उनीहरूलाई पुरै साथ थियो ।

उनीहरू एक प्रकारले पञ्चायतइत्तर युवा वा जो कसैका बिरुद्ध पनि मारपीट लूटपात गर्न गठित 'श्री ५' का गुण्डा जमात थिए । बीपी कोइरालालाई स्वागत गर्न गएकी नोना कोइरालाको साडी तान्नेदेखि लिएर पुष्पलालको शबको खरानी ल्याउन रोक्नेसम्म 'राष्ट्रबादी' कदममा यिनीहरू सक्रिय रहन्थे । यिनको मुल्यांकनको कसी नै गुण्डागर्दीको मात्रा हुन्थ्यो । जति धेरै गुण्डागर्दी उति ठूलो मुल्यांकन !!

२०३६ सालको विद्यार्थी आन्दोलनमा यिनीहरू बिरुद्ध आँधी आयो । 'मण्डले' संज्ञाका साथ यिनका बिरुद्ध जनमत उर्लियो । यहाँसम्म कि अन्तमा प्रज्ञाप्रतिष्ठानले आफ्नो शब्दकोषमा यो शब्दको अर्थ - 'फटाहा, गुण्डा' भनेर परिभाषित गर्‍यो !

स्मरण रहोस् ! बिशेष उल्लेख गर्न चाहन्छु - आजका राप्रपा नेपालका अध्यक्ष कमल थापा त्यही 'राष्ट्रबादी स्वतन्त्र विद्यार्थी मण्डल' चरमचुलीमा हुँदा त्यसका अध्यक्ष थिए र बर्तमान राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कमल थापाका उत्तराधिकारी हुन्। दिपक बोहरा भन्ने तत्कालिन मण्डले नाइके आज राप्रपाका तर्फबाट सांसद छन् !!

यो अंश राजभक्त सनातन धर्मरक्षक राजेन्द्र लिङ्देन एबं ज्ञानेन्द्र शाहीप्रति समर्पित!!

अब अन्तिम परिदृष्य

२०३७ सालको जनमत संग्रह पश्चात् पञ्चायत ब्यवस्था अन्तरगत पहिलो पटक बालिग मताधिकारको आधारमा आमनिर्बाचन गराइएको थियो। त्यो निर्वाचनमा काठमाडौबाट एक अत्यन्तै रमाइला पात्र नानीमैया दाहाल निर्बाचित भएकी थिइन्। नानीमैयाका बारेमा धेरैलाई थाहा होला। तर, उनी कसरी उम्मेदवार बनिन् र जितिन् भन्ने थोरैको स्मृतिमा मात्र होला।

जनमत संग्रहमा बहुदल पक्षको अप्रत्याशित हार नेपालका प्रबुद्ध ब्यक्तिहरूले पचाउन सकिरहेका थिएनन्! तत्कालिन न्यूरोडको बैंगलोर कफी हाउस जस्ता राजनीतिक गफका अखाडाहरूमा नानीमैया जस्तालाई उठाएर जिताउने चर्चा शुरू भयो। नानीमैया एकदमै जमिनीस्तरमा सक्रिय सामाजिक कार्यकर्ता थिइन् - बिशेषत: बौद्ध जोरपाटी क्षेत्रमा! उनी अत्यन्तै निमुखाहरूको कुरा लिएर मन्त्री, सचिवकहाँ पुग्थिन्।

तर, उनको अनौठो शैली थियो - ती मन्त्री सचिवलाई आमाचकारी 'रण्डीका .....' जस्ता गाली गर्न चुक्दिनथिन् ! उस्तै परे साडी समेत उघारिदिन्थिन्! नानीमैयासंग यही कारणले पंच र प्रशासक दुबै थुरथुर हुन्थे। नानीमैयाको यही असभ्य एबं अश्लिल चाल काठमाडौका बिद्रोही बुद्धिजीवीलाई मनपर्‍यो ! पञ्चायती ब्यवस्था बिरुद्ध उग्र ब्यंग्यका प्रतिकका रूपमा नानीमैयालाई उठाइयो र तिनले अत्यधिक मतका साथ जितिन्!! त्यसैबेला अर्का एक 'अनौठा' पात्र पनि उम्मेदवार बनेका थिए - आफूलाई 'शिशुपंच' को नाम दिँदै प्रकाशमान सिंह नाम गरेका ब्यक्ति!! कबिबर केदारमान ब्यथितका परित्यक्त जेठा छोरा ती 'शिशुपंच' शारीरिक रूपमा आकर्षक तर अरू हिसाबले हास्यास्पद ब्यक्ति थिए! तिनले पनि उल्लेख्य भोट पाएका थिए!

नानीमैयाको जित र शिशुपंचको आकर्षक मत देखेर बिद्रोही बुद्धिजीवीहरू हौसिए ! काठमाडौ नगर पंचायतको प्रधानपंचको निर्बाचन हुनेभो । र, त्यसका लागि एक अत्यन्तै गजबका पात्र छानियो! न्यूरोड पिपल बोटमा जुत्ता पालिस गर्ने कालू सुनुवार! ती कालू हरदम नशामा हुन्थे र बेला बेला त कम्मर मुनिको भाग समेत नाङ्गै भएर सुतिरहन्थे। यी कालू सुनुवार उम्मेदवार बनेका भए शतप्रतिशत जित्दथे! यही देखेर उनलाई प्रशासनले बेपत्तै बनाइदियो र उनलाई उम्मेदवार बन्न दिइएन। बिकल्पमा 'प्रगतिशील' हरूले गोल्छे सार्कीलाई उठाए, तर जित्न सकेनन्! कमल चित्रकार प्रधानपंच बने!!

नानीमैया, शिशुपंच, कालू सुनुवार र गोल्छे सार्की सबैमा एकप्रकारको आकर्षण थियो - बितृष्णा, मनोरञ्जन, मादकता र ब्यंग्यको सम्मिश्रण!! त्यहाँ आवेग थियो अनि उत्तेजना थियो, कुनै पात्र प्रति बिश्वास वा सम्मान लगभग शून्य थियो!!

यो अंश चाहिँ मादक रबि लामिछाने प्रति समर्पित!!

अन्तिममा एउटा सामान्य टिप्पणी! माथि उल्लेखित सबै पात्र र पात्रका मालिक प्राय सबै आफू मुश्किलले बाह्र कक्षा उतिर्ण छन् तर तुलनात्मक रूपमा नेपालको चेतनशील क्षेत्रबाटै स्थापित भएका थिए र छन्!! यसलाई पनि रमाइलो संयोग नै मान्नु पर्ला!!

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्