भारत भ्रमणमा जाँदा प्रचण्डलाई विष्णु रिमालले दिए यस्तो सुझाव

बुधबार, जेठ १७, २०८०

सम्माननीय प्रधानमन्त्रीज्यू,

आजबाट छिमेकी मुलुकको भ्रमणमा जाँदै हुनुहुन्छ । आफूलाई सानो देशको कमजोर प्रधानमन्त्री पटक्कै नठान्नु होला । स्वतन्त्र राष्ट्र नेपालको सार्वभौम जनताको प्रतिनिधिका रुपमा समकक्षीसँग द्विपक्षीय वार्तामा छु भन्ने मनमा राख्नु होला ।

दुई देशबीच व्यापार घाटा छ । ‘जे माग्छन्, त्यही बेच्छु’ नठान्नु होला । जे जगेडा छ, त्यो चाँहि बेच्ने हो भन्ने मनमा राख्नु होला । पानी दिन्छु–विजुली बेच्छु भन्ने मात्र हैन, पेट्रोल–ग्याँस–डिजेल कसरी किन्नै नपर्ने हो जुक्ति लगाउनु होला । उहाँहरुको गिलो गोलभेँडा र चाउरी परेको परवर नकिन्ने मात्र हैन, हाम्रो अदुवा–सुपारी–र अकबरे कति र कसरी किन्नुहुन्छ रे सोध्नु होला । कच्चा जडिबुटी बेच्ने कुरा मात्र हैन, हामीले बेच्ने इलामको चियालाई ‘दार्जिलिङ् टी’ किन नभन्ने बुझाउनु होला ।

सँगै बस्दा हात–खुट्टा लाग्दा चित्त दुख्यो नभन्नु होला । तर, विशाल जमिन हुनेले थोरै जग्गा हुनेको ‘फोगटा’को साँध–सीमाभित्र किन किला ठोक्न खोजेको बुझ्नु होला । सबै “इरिट्यान्ट” हटाउन वर्षौं लगाएर द्विपक्षीय सहमतिमा प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन किन वेवास्ता गरिएको रहेछ ? लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्रको ‘इस्यु’ सेटल हुनै बाँकी छ, फेरि नयाँ संसद भवनको ‘मुरल–म्याप’ मार्फत् अर्को लफडा सुरु किन गरिएको रहेछ ? आफनो समकक्षीसँग विनम्रतापूर्वक सोध्नु होला– “ह्वाइ अल दिज एक्सिलेन्सी ?”

नेपाल फर्कनुअघि एउटा सन्देश चाहिं अवश्य दिनुहोला– ‘मित्रहरुले नगरेको/नगर्ने सहयोगमा कुनै गुनासो नहुने तर गरेको वा गर्न चाहेको सहयोगप्रति शङ्काले किन हेरिन्छ ?’

भ्रमण सफल रहोस्, शुभकामना !

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्