कांग्रेस–एमाले सक्किए भने के हुन्छ ?

मंगलबार, वैशाख १२, २०८०

मंसिर ४ को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको जनअनुमोदन अलि फरक किसिमले भयो । चुनावअघिसम्म ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) मात्रै होइन, मूलधारका मिडिया पनि यी दलप्रति जनताले यति धेरै विश्वास गर्छन् भन्ने अनुमानमा थिएनन् ।

पोहोर वैैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । सो निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेनु दाहाल दोस्रो पटक भरतपुर महानगरको मेयर बनिन् । तर, मंसिर ४ को आम निर्वाचनमा आफ्नी छोरी मेयर बनेको महानगरभित्रको निर्वाचन क्षेत्रमा चुनाव लड्ने आँट प्रचण्डले गरेनन् । उनी अर्काे क्षेत्र खोज्दै गोरखा पुगे । 

प्रचण्डले छोरी मेयर बनेको महानगरभित्रको निर्वाचन क्षेत्र छोडेर गोरखा रोज्नुको कारण ‘रवित्रास’ बाहेक केही थिएन । किनभने रास्वपा सभापति रवि लामिछाने चितवनबाट चुनाव लड्ने तयारी गरिरहेका थिए । रविसँग चुनाव ‘हारियो भने’ भन्ने त्रासमा प्रचण्ड थिए । 

चुनावी परिणामले प्रचण्डको ‘क्यालकुलेसन’ सही सावित गरिदियो । जनयुद्ध लडेर आएको सुप्रिमो हुँ भन्दै उनी रविसँग प्रतिस्पर्धामा गएका थिए भने उनको हार निश्चित रहेछ । 

यसपाली वैशाख १० गते भएको उपनिर्वाचनपछि ठूला दल ‘सच्चिनु पर्ने’ कोणबाट बहस र विश्लेषण हुन थालेको छ । किनभने, चितवन २ मा रवि कमजोर देखिएनन् । निकटतम प्रतिस्पर्धीसँगको मतान्तर बढाए । तनहु १ मा कांग्रेस छोडेर हालै रास्वपा प्रवेश गरेका डा. स्वर्णिम वाग्ले विजयी भएपछि कांग्रेस एमाले सच्चिनुपर्ने तर्क बढी सुनिन थालेको छ । 

कांग्रेस–एमाले सच्चिनु पर्छ भन्नेहरूले किन सच्चिनुपर्ने भनेर विभिन्न आधार दिने गरेका छन् । उनीहरूका आधार र कारणको अन्तर्य फेरि पनि कांग्रेस र एमाले नै सत्ताको केन्द्रमा रहिरहुन् भन्ने देखिन्छ ।

२०४८ सालदेखि सरकार बनाउने र गिराउने खेलका मुख्यपात्र नै कांग्रेस र एमाले हुन् । र, ०४८ सालका गृहमन्त्री शेरबहादुर देउवा र ०५१ सालका गृहमन्त्री केपी शर्मा ओली ०८० सालमा फेरि प्रधानमन्त्री बन्न पाइन्छ कि भनेर पालो कुरेर बसेका छन् । यिनले पालो पाएर अब के हुने हो ? यतिन्जेल पालो पाउँदा के गरे ? यिनीहरूले गरेको सबै छर्लङ्गै छ ।

कांग्रेस र एमाले सच्चिए अब के हुन्छ ? 

सामुदायिक र सरकारी विद्यालयका शिक्षकले राजनीति छोडेर पढाउन थाल्छन् ? (हिजोका दिनमा शिक्षकलाई पढाउन छोडेर राजनीति गर्न लगाउने कांग्रेस–एमाले नै हुन्)

सरकारी र सार्वजनिक संस्थानका कर्मचारीले सेवाग्राहीको समस्यालाई उच्च महत्व दिए र काम गर्छन् ? कार्यालय समयमा राजनीति गर्न नहिडी कार्यालयमा बस्छन् ? (हिजोका दिनमा कर्मचारीलाई राजनीति गर्न लगाएर सार्वजनिक सेवा प्रवाह खत्तम बनाउने कांग्रेस–एमाले नै हुन्)

कांग्रेस–एमाले सच्चिए सरकारी अस्पतालमा विशेषज्ञ डाक्टर भेटिन्छन् ? ती अस्पतालका ट्वाइलेट सफा हुन्छन् ? सरकारी अस्पतालका एक्स रे मेसिन चल्ने अवस्थामा रहन्छ ? (सार्वजनिक सेवा प्रवाह ध्वस्त पार्ने अभियान कांग्रेस–एमालेले कर्मचारीमा सुरु गरेको राजनीतिकरणले नै हो ।)

कांग्रेस–एमाले सच्चिएपछि एयरपोर्टको ट्वाइलेट सफा हुन्छ ? ब्यागेज फुटाएर यात्रुका सामान चोर्ने नेपाल एयरलाइन्सका कर्मचारीलाई कारबाही हुन्छ ? (हुन्छ भने अहिलेसम्मको यिनीहरूकै राजमा किन नगरेको ?)

कांग्रेस–एमाले सच्चिएपछि ठेकेदारले ठेक्काको काम समयमै गर्छन् ? त्यो काम तोकिएको मापदण्ड अनुसारको गुणस्तरीय हुन्छ ? (हुन्छ भने कांग्रेस–एमालेले नै राज गरिरहेको यत्रो बेलासम्म किन नगरेको ?)

कांग्रेस–एमाले सच्चिएपछि भ्रष्टाचार कम हुन्छ ? सुशासन कायम हुन्छ ? जनताले राहत पाउँछन् ? (हुन्छ, पाउँछन् भने अहिलेसम्म किन नदिएको ?)

कांग्रेस–एमाले सच्चिएपछि निजी अस्पताल, निजी स्कुलहरुको बदमासी कम हुन्छ ? मनोमानी शुल्क रोकिन्छ ? (हुन्छ, रोकिन्छ भने अहिलेसम्म किन नगरेको ?)

कांग्रेस–एमाले सच्चिएपछि मालपोतमा, यातायातमा, वैदेशिक रोजगारीमा, नापीमा घुस नखुवाइ काम हुन्छ ? वाइडबडी जहाज खरिद प्रकरण, बालुवाटार जग्गा काण्ड, क्यान्टोन्मेन्ट काण्ड, यति, ओम्नी काण्डहरूका बारेमा स्वतन्त्र छानबिन हुन्छ ? (हुन्छ भने अहिलेसम्म किन नगरेको ?)

काग्रेस–एमाले सच्चिएपछि देशमै रोजगारी पाइन्छ ? रोजगारीका लागि साना छोराछोरी र बूढा भएका बाउआमा छोडेर विदेशिनु पर्ने बाध्यताको अन्त्य हुन्छ ? (हुन्छ भने अहिलेसम्म किन नगरेको ?)

कांग्रेस–एमालेलाई मात्रै दोष किन ?

२०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि सत्ताको केन्द्रमा कांग्रेस र एमाले नै छन् । हो, यी दलकै कारण प्रजातन्त्र पुनस्र्थापना भयो । लोकतन्त्र आएको हो । नागरिकको राजनीतिक अधिकार स्थापित भएको हो । तर, राजनीतिक अधिकार प्राप्तिको संघर्ष सकिएपछि म यति वर्ष जेल बसेको, यतिवटा आन्दोलनको नेतृत्व गरेको भन्नेजस्ता नजिर देखाएर एउटै व्यक्ति कति पटक र कति वर्षसम्म मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति हुनुपर्ने हो ? कांग्रेस–एमालेका डेढ–दुईसय जनाभन्दा अरु मान्छे छैनन् मन्त्री, प्रधानमन्त्री वा जिएम बन्न ? 

कांग्रेस–एमालेले चाहेका भए सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन्थ्यो । भ्रष्टाचार कम हुन्थ्यो । रोजगारी सिर्जना हुन्थ्यो । सरकारी विद्यालय र अस्पतालको गुणस्तर बृद्धि भएर महंगो शुल्कमा निजीबाट सेवा लिनुपर्ने वाध्यता हट्थ्यो । यी दलकै अनिच्छाको कारण यो समस्या आएको हो । त्यसैले कांग्रेस–एमाले सच्चिँदा फेरि अहिलेको जस्तै समस्या रहने हो भने यी दल सच्चिने होइन, सक्किनु पर्छ । दलहरू सकिएर केही फरक पर्दैन । किनभने, २००७ सालमा प्रजातन्त्र ल्याउन योगदान गर्ने प्रजा परिषद् सकिएको हाम्रै आँखाअगाडि हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्