नेपालमा राजनीति र सामाजिक रुपान्तरण

आइतबार, फागुन २१, २०७९

व्यक्तिगत हित, उन्नति र प्रतिफलको उपयोग मात्र राजनीतिले अपेक्षा गर्दैन । समाजको वृहत हित तथा नागरिकको व्यापक हितलाई मध्यनजर गरी संरचनात्मक परिवर्तनको पहल राजनिितको मूल अभिष्ठ हुन्छ । 

राजनीतिमा नैतिक पक्ष सबैभन्दा उच्च स्थानमा रहन्छ । उच्च नैतिक कार्यसम्पादनले मात्र कुनै पनि व्यक्ति तथा समाजको हितलाई सुनिश्चित गरेको हुन्छ । मानव समाजको वृहत हितमा नै सबैको हित जोडिएको हुनाले आजको मानव समाज पूर्णत आलोचनात्मक, दृढ निश्चयी तथा परिवर्तनकारी हुनुमा जति उपलब्धि हासिल गर्न सकिन्छ, कसैको गुणणानको बखान तथा शब्द जालमा अल्झ्याएर कुनै पनि नागरिकले उन्नति तथा प्रगति गर्न सक्दैन । 

हरेक नागरिकले राजनीति नैतिक मूल्य र मान्यतालाई आत्मसात गरी निस्वार्थ रुपमा देश र जनताको सेवा हो भन्ने कुरा नबुझ्ेसम्म एकाध व्यक्ति तथा समूहले राजनीतिका नाउँमा राज्यको स्रोत साधनमा मस्ती गरिरहने छन् । राजनीतिको केन्द्रबिन्दु समाज र नागरिकको उन्नति नबनेसम्म कुनै पनि देशले यथोचित विकास, स्रोत परिचालन, मानवीय सम्पदा तथा आर्थिक सम्पदाहरुको रचनात्मक उपयोग गरी समकालीन समाजमा गतिशीलता प्राप्त गर्न सक्दैन । 

आन्दोलनको लक्ष्य

नेपालमा नागरिकको वृहत हितका लागि विभिन्न समयमा विविध प्रकारका आन्दोलनहरु गरिएको छ । आन्दोलनले समाजको सामाजिक, आर्थिक, साँस्कृतिक तथा राजनीतिक रुपान्तरणका लागि भूमिका खेल्ने गर्दछ । नेपालमा नागरिकका समस्याहरुलाई उजागर गरेर एकाध व्यक्ति तथा समूदायले राजनीतिक नेतृत्वको स्वाद लिन सके तापनि आम नागरिकहरुको हितलाई कुनै पनि आन्दोलनले सम्बोधन गर्न सकेको छैन । 

राणा, पञ्चायत, बहुदल हुँदै गणतान्त्रिक शासन व्यवस्थामा पनि समाजको सबैभन्दा पिंधमा पारिएका नागरिकको वास्तविक जीवन तथा अवस्थामा परिर्वतन आउन सकेको छैन । समाजमा विद्यमान रुढीवादी क्रियाकलाप तथा त्यसको प्रयोगबाट उत्पन्न हुने विकृति तथा विसंगतिहरुबाट नागरिक समाजका विभिन्न तह र तप्काहरुलाई जोगाउनका लागि विभिन्न अधिकार तथा कर्तव्यहरुलाई राज्यले आफ्नो मूल कानूनमा बन्दोवस्त गरेको हुन्छ । 

२०५२ साल फागुन १ गतेदेखि नेपालमा सञ्चालन गरिएको जनयुद्धका सञ्चालक दल, नेकपा (माओवादी) ले तात्कालीन समयमा आफूले राखेका चालिस बुँदे मागमध्ये कम्तिमा कुनै दुईवटा मागहरुको गतिलो सम्बोधन गर्न सकेन । समाजका अधिकांश दलित तथा जनजाति समूदायको उल्लेख्य सहभागिता रहेका हरेक आन्दोलनमा जसको हितमा आन्दोलन गरियो, उनीहरु नै त्यसबाट धेरै टाढा धकेलिए । 

आन्दोलन वास्तवमा जनताको वृहत हितका लागि भनिन्छ । तर, जसका लागि आन्दोलन गरिएको हुन्छ, तिनीहरु प्रिवर्तनका उपलब्धिहरुबाट धेरै टाढिएका हुन्छन । नेपालमा राजनीतिक सँस्कारको कमीका कारण अधिकाँश राजनीतिक दलमा समवेत भएका नेपाली नागरिकमा राजनीति र सामाजिक दायित्वका सन्दर्भमा स्पष्ट बुझाई देखिंदैन । 

राजनीति समाजको संरचनात्मक रुपान्तरणका लागि अत्यावश्यक हुन्छ । तर, नेपालको राजनीतिले देश गरिब बनायो, राजनीतिलाई अवसर कम र पेशाको रुपमा उपयोग गर्ने एकाध व्यक्तिका लागि दाम तथा प्रतिष्ठाको प्रमुख स्रोतको रुपमा स्थापित गरिदियो । 

नागरिक गतिशीलता

जनताका लागि जिविकोपार्जनका अवसरहरु उपलब्ध गराउने काम राज्यको प्रतिनिधिको रुपमा रहेको सरकारले अनिवार्य गर्नु आवश्यक हुन्छ । किनकि नागरिकको जिउधनको सुरक्षागर्ने र व्यक्तित्व विकासका अवसरहरु प्रदान गर्ने काम राज्यले गर्नु जरुरी हुन्छ । राज्यका उत्पादनका स्रोत साधनहरुमा समान अवसर तथा वितरण प्रणाली अवलम्वन गरी नागरिकलाई गतिशील बनाउँदै आफ्नो योग्यता तथा क्षमताको आधारमा जनताको सेवा गर्ने वातावरण राज्यले प्रदान गरेमा समाज रुपान्तरणका गतिशील शक्ति नागरिक बन्ने गर्दछन् । 

राज्य जनताको हित प्रवद्र्धनका लागि सक्रिय रहेको खण्डमा नागरिकहरुले यथोचित प्रगति गर्न सक्छन । तर, राजनीतिलाई नैतिक सम्पदाभन्दा फरक रुपमा लिएमा राजनीतिक दल, नेतृत्व गर्ने दलका कार्यकर्ता र सिंगो राजनीतिक प्रणालीप्रति नागरिकहरुको वितृष्णा रहन पुग्छ । यसले नागरिकलाई गतिशील बनाउने होइन, बढी आलोचक तथा विरोधी खेमामा उभिन अभिप्रेरित गरिरहेको हुन्छ । आधारभूत आवश्यकताको परिपूर्तिभन्दा माथि गएर नागरिकलाई विकसित गर्ने वातावरण तयार नगरेसम्म नागरिकहरु समाज रुपान्तरणका लागि गतिशील शक्ति बन्न सक्दैनन् । यसले देश र जनताका नाउँमा विभिन्न क्रियाकलापहरु सम्पादन गरी शव्दको खेल खेल्न माहिरहरुका लागि विशेष अवसर प्रदान गरिरहेको हुन्छ । जुन आधुनिक प्रतिनिधिमूलक राजनीतिक प्रणालीका लागि अवरोधकको रुपमा विद्यमान रहेको हुन्छ । 

सिद्धान्तको उपहास

नेपाली समाजमा विविध खालका निर्वाचन सम्पन्न भएका छन् । जनताले पटक पटक प्रतिनिधि छनोटका लागि निर्वाचनमा सहभागिता जनाएका छन् । 

राजनीतिक दल तथा निर्वाचनमा सँलग्न व्यक्तिहरुले आफ्नो क्षमता र आवश्यकताभन्दा पनि बढी आश्वासनमा केन्द्रित राजनीतिक क्रियाकलापहरु सम्पादन गर्ने प्रवृतिले गर्दा राजनीतिक दल तथा व्यक्तिका लागि राजनीतिक सिद्धान्त आवश्यकताको विषय हुन सकेन । 

सिद्धान्त र नीतिविनाको कुनै दल हुन सक्दैन । हरेक राजनीतिक दल र दलसँग सँलग्न व्यक्तिहरुमा नैतिक पक्ष सबैभन्दा उच्च स्थानमा रहेन भने त्यो राजनीतिक दल तथा व्यक्तिका लागि क्षणिक स्वार्थ पुर्तिगर्ने स्थल बाहेक आम नागरिकहरुका लागि त्यस्ता दल र व्यक्तिहरुले खासै योगदान दिन सक्दैनन् । नैतिक सामथ्र्यले हरेक व्यक्ति तथा दलहरुलाई समाजमा दृढताका साथ काम गर्न अभिप्रेरित गरिरहेको हुन्छ । 

राजनीतिमा जब नैतिक शक्तिको ह्रास हुन्छ, तब त्यो दल नभएर भीडतन्त्र हुन्छ । राजनीतिक दल तथा दलमा सँलग्न व्यक्तिहरुले राज्यका जिम्मेवार निकायमा प्रतिनिधित्व गर्नका लागि निर्वाचन जित्न भरमग्धुर प्रयत्न गरिरहेका हुन्छन् । यसका लागि समान उद्देश्य, लक्ष्य तथा विचार भएका विभिन्न राजनीतिक दलहरुसँग सहकार्य गरेर कार्यगत एकतासहित राजनीतिक अभियान सञ्चालन गर्न तल्लीन रहेका हुन्छन् । यसबाट दल तथा व्यक्तिलाई क्षणिक फाइदा हुनुभन्दा पनि वहुसँख्यक नागरिकको हित हुन सक्नु पर्छ । 

परन्तु, नेपालका राजनीतिक दलहरुमा देश र जनताको वृहत हितभन्दा पनि नेतृत्व तहको स्वार्थ परिपूर्तिका लागि विविध रंगीन खेलहरु खेलिएको पाउन सकिन्छ । यसको कारण राजनीतिको उद्देश्य तथा यसले समाजमा पार्ने दुरगामी परिणामहरुलाई मध्यनजर नगर्नु हो भन्न सकिन्छ । राजनीतिक दलका एजेण्डामा, देशका लागि आवश्यक मुलभूत सवालहरु तथा जनताको जीवन रुपान्तरणका अभियानहरु प्रमुख रुपमा आउनु पथ्र्यो । तर, विडम्वना अधिकाँश राजनीतिक दलहरु अजेण्डाविहीन छन् । किनकी तिनीहरुको विगत नै आलोचित रहन पुगेको छ र राज्यको सार्वभौमिकताको सवालमा कतै न कतै चुकेका पनि छन् । 

आफ्नो स्वार्थ पुर्ति गर्नका लागि जे पनि गर्ने र जस्तो सुकै विचारसँग पनि समर्पण गर्ने दलहरुको मनस्थिति तथा प्रवृति राज्यको विकास तथा सार्वभौमसत्ताका लागि अति नै खतरनाक पनि छ । जनताको वृहत हितका लागि हरेक राजनीतिक दलले निर्वाचनका समयमा आफ्नो नीति तथा कार्यक्रम जनताको बीचमा सार्वजनिक गर्दछन । तर, जब नागरिकले मतदान गरी निर्वाचित गर्दछन्, तब धेरैजसो दल र नेतृत्व गर्ने व्यक्तिहरु जनसमूदायबाट टाढिन्छन र आफ्नै स्वार्थमा केन्द्रित रहेका हुन्छन् । यसले जनताको भोट लिनका लागि दल र नेतृत्वको दाबी गर्नेहरु विविध नाटक गर्न पछि पर्दैनन भन्ने प्रमाणित गरेको छ । नेपालको राजनीतिमा विचार तथा सिद्धान्त होइन, स्वार्थ र मनोमानीको प्रवृति अति नै हाबी छ । 

मूलभूत सवालमा उदासिन

नेपालका विभिन्न स्थानमा नागरिकको जीवन जिउनका लागि सहज वातावरण बनाउन पूर्वाधारहरुको व्यवस्थापन गर्न अति आवश्यक छ । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र सञ्चार लगायतका क्षेत्रमा राज्यले अधिक लगानी गर्नु अत्यावश्यक छ । राज्यको शिक्षालाई अति लोभलाग्दो बनाउन, स्वास्थ्यसेवालाई अति प्रभावकारी बनाउँदै रोजगारीको सृजना गरी जनताले आफ्नो योग्यता र क्षमताले राज्यको सेवा गर्ने वातावरण सृजना वास्तवमा चुनौति बनेको छ । 

नेपालका छिमेकीहरुले नागरिकको जीवनस्तरमा व्यापक परिवर्तनका लागि विभिन्न क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन् । विदेशी मित्रहरुले गरेको अथाह सहयोग केही पहुँचवाला दलका नेता तथा समूदायको हितमा प्रयोग भैरहेको छ या पूर्णतः दुरुपयोग । दलको संरक्षणमा रहेका सेवा प्रदायक तथा ठेकेदारहरुको कारण ठेकेदारहरुले समयमा काम गरेका छैनन्, सेवा प्रदायकहरुले उचित समयमा नागरिकलाई गुणस्तरीय सेवा दिइरहेका छैनन् ।

देशका सबैभन्दा पुराना शिक्षालयहरु जिर्ण बनिरहेका बेला सार्वजनिक रुपमा ठुल्ठुला भाषण गर्नेहरु देश र जनताको वृहत हितमा उदासिन बनिरहेका छन् । तिनीहरुको कुरा र व्यवहारमा समानता देखिदैन । अधिक कुरामात्र गरेर समाजमा रुपान्तरण हुँदैन, यसका लागि जिम्मेवार निकायले गम्भीरताका साथ रचनात्मक भूमिका खेल्नु आवश्यक हुन्छ ।

देशका विभिन्न भूगोलमा नागरिकका लागि आवत जावत गर्ने पुल पुलेसाहरु छैनन्, संविधानले ग्यारेन्टी गरेको स्वच्छ तथा सुग्घर वातावरणको हक समेतलाई धुलाम्य सडक तथा सवारीहरुले गिज्याइरहेका छन् । विगतमा संविधानसभाको निर्वाचनसँगै नेपाली समाजमा विद्यमान सबै खराबीहरुको अन्त्य हुनेछ भन्ने वकालत हरेक खेत खलिहानदेखि चिया चौतारीमा समेत व्याप्त थियो । 

परिवर्तित राज्य सँरचना सँगसँगै विगतमा जजसले विभिन्न बहानामा राज्यसत्ताको उपयोग गरे, तिनीहरु नै गणतन्त्रमा हाबी बनेको अवस्था विद्यमान छ । किसानको बाहुल्यता भएको देशमा किसानको हितमा कुनै स्पष्ट उल्लेखनीय नीति तथा कार्यक्रम छैन । समाजको पिंधमा रहेका नागरिक समूदायको विकास तथा उन्नयनका लागि विशेष पहल हुन सकेको छैन । विभिन्न क्रियाकलापहरु मार्फत नागरिकलाई आत्मनिर्भर तथा स्वाभिमानी बनाउँदै जिउधनको सुरक्षामा ध्यान दिनुपर्ने राज्यका सञ्चालकहरु आफ्ना निहित स्वार्थ परिपूर्तिमा मात्र अभ्यस्त रहँदा तिनीहरु राज्यको मूलभूत सवालहरुमा उदासिन रहेको प्रमाणित गर्दछ । यसले एकाध व्यक्ति तथा नागरिक समूदायलाई फाइदा पुगे तापनि आम नागरिकका लागि भने हर्ष न विस्मात हुने छ । 

अबको बाटो

नेपाली नागरिकको वृहत हित तथा उन्नतिका लागि नेपालको भुगोलमा विभिन्न समयमा विविध प्रकारका आन्दोलनहरु गरिएका छन् । आन्दोलनको केन्द्रीय भूमिकामा समाजको अत्यन्तै पिछडिएको भूगोल तथा नागरिक समूदायलाई बनाइएता पनि प्रतिफलको उपयोगमा भने समाजका टाठाबाठाहरु नै उम्दा देखिन पुगे । 

जसले देश र जनताको हितमा महत्वपूर्ण योगदान गरे, समाजमा रुपान्तरणका लागि निरन्तर संघर्ष गरे र मानवीय मूल्य तथा मान्यतालाई अभिवृद्धि गराउन विशेष भूमिका खेले, तिनीहरु नै समकालीन समाजमा वेवास्तामा पर्न बाध्य पारिए । एउटा राज्य नागरिक, सरकार र संप्रभुता विहिन हुन सक्दैन । राज्यले आफ्ना लागि उपयुक्त क्रियाकलापहरु बाह्य हस्तक्षेपविना नै आफै गर्न सक्षम हुन्छ । 

परन्तु नेपालमा नागरिक हितका महत्वपरुर्ण सवाल होस कि प्रतिनिधिमूलक सँस्थाको प्रतिनिधि छनोटको सवाल होस्, छिमेकीहरुको हस्तक्षेप तथा बलमिच्याई प्रवल रुपमा छरपष्ट भएको पाउन सकिन्छ । आफ्नो क्षमतामा विश्वास नगर्ने व्यक्ति तथा समाज जहिले पनि अरुको आशिर्वाद तथा निगाहमा रमाउनु पर्ने हुन्छ र त्यहाँका नागरिकहरुको मानसिकता पूर्णतः परनिर्भरतामा केन्द्रित रहन्छ ।

नेपाली जनताले आफ्नो देशको विद्यमान अवस्थाको विस्तृत जानकारी लिएर, आफ्ना कमी कमजोरीहरुप्रति आलोचनात्मक दृष्टिकोण राख्दै उच्च नैतिक आदर्शको नेतृत्व, आत्मनिर्भर नेपाली समाज तथा सँस्कृति र आत्म निर्भर प्रतिरक्षा प्रणालीहरुको विकास गर्ने कार्यमा ढिलाई गरेमा नेपाल र नेपालीको अस्तित्व समेत धरापमा पर्न सक्ने अवश्यम्भावी देखिन्छ । त्यसैले, हरेक राजनीतिक दलमा सँलग्न राजनीतिकर्मीहरुले आफ्नो नेतृत्वको हरेक क्रियाकलापलाई आलोचनात्मक दृष्टिसहित आत्मसात गरेर गुण वा दोषका आधारमा समर्थन वा विरोधको नीति अवलम्वन गर्नुपर्छ । समर्थन गर्ने नाउँमा कसैको अति बखान तथा बढाई चढाई गर्नु अन्धभक्तिको पराकाष्ठा हो । यस विरामबाट सबै नागरिकहरु सचेत र सतर्क रहनु आवश्यक छ । 

(लेखक डा. विश्वकर्मा रत्नराज्य लक्ष्मी क्याम्पसको राजनीतिशास्त्र विभागका प्रमुख हुन्)

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्