सम्झनामा ७ देखि १७ सालसम्मको भोगाइ

जब बुबा र मामाले राजाको घोडा रोक्नुभयो...

रेडियोबाट राजाको भाषण सुनेपछि बुबाले भन्नुभयो– अब हिजोजसरी खेल्न पाउँदैनौ
आइतबार, फागुन ७, २०७९

म २००६ सालमा सिन्धुपाल्चोकको पिस्करमा जन्मिएको हुँ । २००७ सालको परिवर्तन र प्रजातन्त्र आउँदाका विषय त धेरै जानकारी छैन । तर, प्रजातन्त्र प्राप्तिपछिका केही वर्षमा देखिएको प्रभाव भने स्मरणमा छ ।

सामाजिक, आर्थिक र राजनीतिक रूपमा सिन्धुपाल्चोक जिल्ला दयनीय अवस्थामा थियो । राजनीतिक जागरण थिएन । काठमाडाैँ पुग्न ३–४ दिन हिड्नुपर्थ्याे । सञ्चारका साधन थिएनन् । मानिसहरू अशिक्षित थिए ।

समाजमा सीमाहिन रूपमा शोषण अत्याचार व्याप्त थियो । सामन्तहरूको जगजगी थियो । एक प्रकारले अन्धकारको अवस्था थियो । 

२०१०/११ सालतिर बुबा, मामाहरूले गाउँघरमा गफ गरेको सुन्थेँ । ००७ सालमा क्रान्ति भयो । राणाहरूको शासन अन्त्य भयो । प्रजातन्त्र आयो भन्नुहुन्थ्यो । अब गाउँमा हिजोको जस्तो जाली फटाहरूसँग डराउनु पर्दैन भन्नुहुन्थ्यो । तर, प्रजातन्त्र के हो भन्नेचाहिँ बुझ्दैनथेँ । 

२०१२ सालमा तत्कालीन राजा महेन्द्र पूर्वाञ्चल भ्रमणमा निस्किएका थिए । काठमाडौँबाट पूवाञ्चलका जिल्लाहरू पुग्न काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा हुँदै भोजपुर निस्केर धनकुटा जान्थे । त्यसबेला राजाहरू घाेडामा चढेर यात्रामा निस्किन्थे । सिन्धुपाल्चोकको पिस्कर पनि त्यही बाटोमा पर्थ्याे । 

त्यसबेलासम्म हाम्रो गाउँमा स्कुल वा पाठशाला भन्ने कसैले सुनेकै थिएन । मेरो मामा जनकबहादुर खड्का लेफ्टिनेन्ट हुनुहुन्थ्यो । उहाँको घर पनि पिस्कर नै हो ।

दोस्रो विश्वयुद्धको बेलामा उहाँले धेरै मुलुक घुम्न पाउनुभएको रहेछ । त्यसैबेला, शिक्षाको महत्व पनि बुझ्नुभएको रहेछ । मेरा बुबा पनि सामाजिक रूपमा प्रतिष्ठित हुनुहुन्थ्यो । अर्का एकजना हर्कजित थामी मिजार हुनुहुन्थ्यो । त्यसबेला मिजारले मुखिया रूपमा पनि  काम गर्थे । उहाँले सामान्य लेखापढी गर्नुहुन्थ्यो । 

राजाको भ्रमण हुने भएपछि स्वागत गर्नका लागि आकर्षक गेट बनाइयो । बाँसको गेटमा नागबेली लहरा बेरिएको थियो । केराको खम्बा र घडा राखेर गेट सजाइएको थियो । कपडामा चामलको पिठोले स्वागतम् लेखेर टाँगिएको थियो ।

भ्रमणमा निस्किएका राजा पिस्कर आइपुगे । उनले आर्मीको पोसाक लगाएर घोडामा चढेका थिए । उस्तै उस्तै पोसाक लगाएका धेरैजना मान्छे थिए ।

गेटको एकातिर मेरा बा र अर्कातिर मामा उभिनुभयो । राजा गेटबाट प्रवेश गर्नेबित्तिकै बा र मामाले राजाको एउटा–एउटा खुट्टा च्याप्पै समात्नुभयो । 

त्यसबेला त्यसरी राजाको खुट्टा समाउनु ठुलो आँटको कुरा पनि थियो । राजाले किन यसो गरेको ? भनेर सोधे ।

त्यसपछि बा र मामाले भन्नुभयो– ‘हाम्रो ठाउँ असाध्यै पछि परेको छ । यति धेरै जग्गा जमिन छ । सिँचाय गर्ने सुविधा छैन । ठुलो गाउँ छ । धेरै खालको अन्याय अत्याचार छ । पढे लेखेको एउटा मान्छे पनि छैन । हामीलाई अरू केही चाहिँदैन । सिँचाइ र स्कुल दिनुपर्‍यो ।’ 

उहाँहरूले राजाको खुट्टा समातिरहनुभयो । राजाको घोडा अडिइरह्यो । धेरैबेर रोकिनुपरेपछि राजाले कुलो बनाउन पैसा निकासा गरिदिने र स्कुल खोल्न स्वीकृति दिने बताए ।

आफ्नो एडिसीलाई बोलाएर त्यो कुरा नोट गर्न पनि लगाए । कुलोका लागि केही समयपछि पैसा आउँछ भनेपछि मात्रै राजाको खुट्टा छाडिदिनुभयो । 

करिब ६ महिनापछि कुलो बनाउन भनेर मोरू ५०० आयो । त्यतिबेलाको ५०० भनेको ठुलो बजेट हो । बाहरूले समिति बनाउनुभयो र ढुंगा छापिएको कुलो बनाइयो ।

त्यसपछि स्कुलको प्रक्रिया सुरु भयो । २०१९ सालमा स्कुल स्वीकृत भयो । जनताले विकास पाउन यस्तो संघर्ष गर्नुपर्ने अवस्था थियो । 

मेरो उमेर सानै भएका कारण पनि ००७ सालमा आएको प्रजातन्त्रको प्रभाव मानिसको जीवनका कस्तो पर्थ्याे भन्ने बुझ्दैनथेँ । तर, मेरा दाइ बीरबहादुर बोहोरा चाहिँ गाउँमा साक्षर मान्छे हुनुहुन्थ्यो । उहाँ बुबा र मामाहरूको कुरा चासो दिएर सुन्नुहुन्थ्यो ।

मामाले विदेशबाट आउँदा प्रशस्त किताब लिएर आउनुभएको रहेछ । बाँसको दराजजस्तो बनाएर चाङ लगाएर किताब राखिएको थियो ।

मैले पहिलो पटक किताब देखेको, समातेको मामा घरमै हो । त्यसबेला माइजूले भन्नुहुन्थ्यो, ‘विदेश गएका अरूले सुन, चाँदी, पैसा लिएर आउँछन् भन्थे । तपाईंको मामाले त थोत्रो किताबको भारी पो लिएर आउनुभयो । यति धेरै किताबले के गर्ने हो मलाई थाहा छैन ।’ पछि मामाको घरमा आगलागी भयो र ती सबै किताब जलेर नष्ट भए । 

मामाले चाहिँ परिवर्तनको अर्थ बुझ्नु हुँदोरहेछ । मेरा बुबा सामाजिक रूपले जागरुक र काठमाडौं आउजाउ गरिरहने कारणले पनि परिवर्तनका कुरा बुझ्नुहुँदो रहेछ ।

मेरा बुबाका मामाका छोराहरू ललितपुरको कुपण्डोलमा बस्नुहुँदो रहेछ । उहाँको नाम सिंहध्वज खड्का हो । उहाँ पनि राजनीतिक रूपमा जागरुक मान्छे । काठमाडौँ गएका बेलामा उहाँले पनि बुबालाई परिवर्तनका कुरा सुनाउनुहुँदो रहेछ ।

२०१४ सालतिर चुनाव प्रचारको क्रम चल्यो । २०१५ सालमा चुनाव भयो । हाम्रो गाउँमा नरजंग पाण्डे, देवीजंग पाण्डेहरूको बहुतै जगजगी थियो । उहाँहरू राणाहरूको पक्षधर हुनुहुन्थ्यो ।

उहाँहरूको चरित्र र आचरण पनि अरूलाई शोषण गर्ने खालकै थियो । गाउँका जनतालाई असाध्यै कज्याउने गर्नुहुन्थ्यो । त्यही कारण गाउँको राजनीति २ खेमामा बाँडिएको थियो । केही उनीहरूको पक्षमा थिए भने अरू विपक्षमा थिए । विरोधी राजनीतिक खेमाको नेतृत्व मेरो बा र मामाहरूले गर्नुहुन्थ्यो । 

चुनाव प्रचारका लागि काठमाडौँ डिल्लीबजारबाट हर्कजित लामा पिस्कर पुगेका थिए । उनी गोरखा परिषद्का नेता रहेछन् । गोरखा परिषद्बाट त्यसबेलाको संसद्को उम्मेदवार बनेर गएका रहेछन् ।

उनी तिनै नरजंग पाण्डेको घरमा बसे । उनले भुँइमा घुमाएर बजाउन मिल्ने खालको माइक्रोफोन र आफ्नो पक्षका केही गीतहरू लिएर गएका रहेछन् । दोलखाका बेनीबहादुर कार्की पनि गएका रहेछन् । पछि उनी राष्ट्रियसभाको अध्यक्ष पनि भए । 

गाउँमा उर्दी जारी भयो– प्रजातन्त्र आएको छ । गाउँका सबै मान्छे नरजंग पाण्डेको घरमा आउनू । काठमाडौँबाट ठुला मान्छेहरू आएका छन् भनेर कटवाल लगाइयो । धेरैलाई जान मन त रहेनछ । तर, उर्दी लगाएपछि जानै पर्‍याे । बुबा, मामा र दाइको पछि लागेर म पनि त्यहाँ गएँ । 

गोरखा परिषद्ले चुनाव चिह्न झुपडी राखेको रहेछ । हर्कजित लामाले भाषण गरे । ‘गोरखा परिषद् भनेको गरिबको पार्टी हो । हाम्रो चुनाव चिह्न नै झुपडी छ । झुपडीमा गरिब बस्छन् । ठुलो मान्छे त झुपडीमा बस्दैन । त्यसकारण झुपडीलाई भोट दिनुपर्छ । म त्यसको उम्मेदवार हो । मलाई जिताउनुहोस्’ भने ।

नरजंग, देवीजंगका अगाडि सबै मान्छे डराउँथे । यी नरजंग र देवीजंग यति फटाहा छन्, तिनैको घरमा बसेर गरिबको कुरा गर्छन् भनेर हर्कजितको कुरा कसैले पत्याएनन् ।

बेनीबहादुर कार्कीले चाहिँ मेरा दाजुलाई फकाए । उनले आफ्नो र हर्कजितको फोटो छापिएको एउटा म्यागेजिन ल्याएका रहेछ । त्यहाँ छापिएको आफ्नो फोटो देखाएर बेनीबहादुरले मेरा दाइलाई सोधे– यो को मान्छे हो चिन्छौ ?

दाइले एकजना तपाईं हो, अर्को उहाँ (हर्कजित) हो भनेर देखाउनुभयो । गोरखा परिषद्मा लाग्यौ भने तिम्रो पनि यस्तै फोटो छापिन्छ । अब पार्टीमा लाग भने । दाइले केही जबाफ दिनुभएन । राणाहरू खराब मान्छे हुन् भनेर दाइलाई थाहा थियो । 

केहीबेर उनीहरूको कुरा सुने र मान्छेहरू फर्किए । फर्कँदा बाटोमा यस्ता मान्छेहरूको पछि लाग्नुहुँदैन भन्ने कुरा भयो ।  

त्यसबेला हाम्रातिर ३ वटा पार्टीको प्रचार भयो । झुपडी चिह्न लिएको गोरखा परिषद्, रूख चिह्न लिएको नेपाली कांग्रेस र धानको बाला चिह्न भएको डा. केआई सिंहको पार्टी प्रचारमा आएको थियो । हाम्रा बाहरू केआई सिंहको पार्टीमा आबद्ध हुनुभयो र प्रचारमा जुट्नुभयो । 

त्यसबेला, ‘आफूलाई लागेको कुरा भनेबापत, भाषण गरेबापत जेल जानुपर्दैन, राणा शासन गयो, नयाँ शासन आयो भन्ने कुरा तिनै चुनावी भाषणबाट जनताले थाहा पाए । त्यही चुनावले राजनीतिक जागरण ल्यायो । जनतामा उत्सुकता जगायो । मैले पनि तिनै प्रचारबाट प्रजातन्त्रको बारेमा सुनेको हुँ । चुनाव भयो । चुनावमा हर्कजितले नै जिते । 

मेरो खेल्ने साथीचाहिँ जंगलाल थामी थिए । हामीले चुनाव प्रचार देखेका थियौँ । राजनीतिको गुदी त बुझ्दैनथ्यौँ । तर, खेल्दाचाहिँ बाँसको बोक्राको ढ्वाङ बनाएर भाषण गर्थ्याैँ । हामीले पनि भाषणमा झुपडी र रूखको विरोध गर्थ्याैँ । धानको बालाको प्रचार हुने कुरा गर्थ्याैँ । चुनाव सकिएपछि पनि हामी त्यसैगरी खेल्थ्यौँ ।

एक दिन गाइबस्तु, बाख्रा चराउन गएका बेला एउटा सानो चाैरमा १०–१५ जना केटाकेटी बसेर खेलिरहेका थियौँ । त्यही बाँसको ढ्वाङ बनाएर भाषण गरिरहेका थियौँ ।

‘फटाहाहरूको जालमा पर्नुहुँदैन, झुपडीमा भोट हाल्न हुँदैन । धानको बालामा भोट हाल्नुपर्छ । यो जनताको पार्टी हो’ भन्दै थियौँ । त्यही बेला लेकतिर पुगेर नरजंग पाण्डे फर्कँदै रहेछन् । उनी घोडामा चढेका थिए । एकछिन रोकिएर परैबाट हामीलाई हेरे । हामीले वास्ता गरेनौँ । आफ्नै क्रममा खेलिरह्यौँ । 

हामीले गरेको भाषणमा उनीहरूको विरोध सुनेपछि ‘तिमीहरू हाम्रो विरोध गर्ने ?’ भन्दै सबैलाई १-१ लठ्ठी हिर्काए । ‘अब यस्तो काम कहिल्यै नगर । फेरि गर्‍याै भने ठिङ्गुरा ठोकौँला’ भने ।

उनीहरूको घरमा थुन्ने, ठिङ्गुरा ठोक्ने ठाउँ बनाइएको थियो । उनीहरू गएपछि फेरि हामी खेल्न थाल्यौँ । यिनीहरूलाई कसैले मन पराउँदैनन् । हामी चाहिँ किन डराउने भन्ने भयो । 

हाम्रा बा र मामाहरूले गरिबहरूको पक्षमा काम गर्ने कम्युनिस्ट पार्टी छ रे, यहाँ हाम्रो गाउँसम्म आइपुगेन । काठमाडौं गएर खोज्नुपर्छ भनेको हामीले सुनेका थियौं । कम्युनिस्ट पार्टी कस्तो हो, के हो ? नेता को हुन् ? भन्नेबारेमा केही पनि थाहा थिएन ।

२०१७ सालको पुस १ गतेबाट पार्टीहरू प्रतिबन्धित भए । त्यसअघि नै नरजंग पाण्डेहरूलाई काठमाडौँबाटै रेडियो दिएर पठाइएको रहेछ । ठुलो काठको बाकसजस्तो रेडियो थियो । 

जुन ठाउँमा हाम्रा बा र मामाहरूले राजालाई समातेर कुलो र स्कुल स्वीकृत गराउनुभएको थियो, त्यही ठाउँमा उनीहरूले रेडियो ल्याए र यो बोल्छ भनेर सुनाए । हाम्रा लागि त विचित्रको कुरा भयो । बोल्ने बाकस ल्याएका छन् भनेपछि गाउँका सबै मान्छे हेर्न आए । 

पुस १ गते त्यही रेडियोबाट गाउँलेलाई राजाको भाषण सुनाइयो । भाषण सकिएपछि पार्टीहरूका विरूद्धमा नारा लाग्यो । राजाको भाषणको अर्थ हामी केटाकेटीले बुझ्ने कुरा पनि भएन । हामीले बाहरूलाई आज रेडियोले के भनेको ? भनेर सोध्यौँ । 

२००७ सालको परिवर्तनपछि राजनीतिक व्यवस्था बदलिएको थियो । राणा शासन हटेको थियो । अब राणाको ठाउँमा राजा आए । फेरि अब नयाँ व्यवस्था आयो । अब फेरि निर्धक्क भएर बोल्न नपाइने भयो । अब खुम्चिएर बस्नुपर्ने भयो । हिजोअस्ति तिमीहरू जसरी खेल्थ्यौ अब त्यसरी खेल्न पाउँदैनौ । त्यसो गर्‍यौ भने जेल जानुपर्छ भनेर हामीलाई सुनाउनुभयो । 

त्यसबेला विश्वेश्वरप्रसाद कोइरालाले राजालाई नै सिध्याउने खेल खेले रे, जनतालाई करमाथि कर लगाए रे, जनताले तिर्नैनसक्ने अवस्था बन्यो रे, त्यसकारण राजाले उनको सरकारलाई हटाइदिए भन्ने प्रचार गाउँमा भयो । कांग्रेस, कम्युनिस्टका नेताहरूलाई जेलमा राखेको छ भनेर बुबाले सुनाउनुहुन्थ्यो ।  

तर, हामीलाई चाहिँ बुबाले अत्याचार सहन हुँदैन विरोध गर्नुपर्छ भनेर सधैँ सिकाइरहनुभयो । 

मैले गाउँमा भएको वर्गीय शोषण, अत्याचार, उत्पीडन देखेको भोगेको थिएँ । बाहरूले पनि त्यसको विरोध गरिहनुहुन्थ्यो । विद्राेही स्वभावको पनि हुनुहुन्थ्यो । तर, राजनीतिक उपाय चाहिँ थाहा थिएन ।

२०२१ सालमा भूमिसुधार लागू भयो । नारायणविलास जोशी भूमिसुधार अधिकृत भएर चौतारा आएका रहेछन् । उनी नेपाल कम्युनिस्ट पार्टीको संस्थापकमध्येका एक हुन् । उनी किसानको पक्षमा उभिने मान्छे भएपछि किसानहरू उत्साहित भए । 

ललितपुर पाटनका एकजना मान्छे हाम्रोमा आएका थिए । अहिले नाम बिर्सिएँ । तर, उनले मिहिन भाषामा हामीलाई किसानहरू संगठित हुनुपर्ने आवश्यकताबारे बुझाए । अत्याचारविरूद्ध एकजुट हुनुपर्छ भनेर जागरूक गरे । उनी पनि भूमिसुधारमै काम गर्ने तर, कम्युनिस्ट पार्टीका मान्छे रहेछन् । 

म २०२१ सालतिरबाटै राजनीतिक रूपमा सचेत हुन थालेको थिएँ । पाटनबाट गएका तिनै मान्छेको सहायता र उत्प्रेरणाले गर्दा पढ्नका लागि चौतारा गएँ ।

श्यामप्रसाद शर्माकी श्रीमती शशिकला शर्मा त्यहाँको हाइस्कुलमा हुनुहुँदो रहेछ । श्यामप्रसाद कम्युनिस्ट पार्टीको सदस्य र जनवादी साहित्यकार पनि हो । उहाँहरूकै संगतबाट म पुष्पलाल समूहमा आबद्ध भएँ र २०२२ सालबाट सदस्यता प्राप्त गरेँ । २०२६ सालबाट राजनीतिमा पूर्णकालीन भएको हुँ । 

(एमालेको केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष बोहोरासँग सिएन नेपाल डटकमले गरेको कुराकानीमा आधारित) 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १९:२७
प्रतिक्रिया दिनुहोस्