भुटानमा प्रजातन्त्र आउला भनेर हामी ३५ वर्षदेखि प्रतीक्षामा छौँ

आइतबार, फागुन ७, २०७९

पहिला भुटान राम्रो थियो । सबै जातजातिका मानिसलाई उत्तिकै व्यवहार थियो । म पनि भुटानी राजाको सल्लाहकारमध्येमा एक चुनिएर काम गरिरहेको थिएँ । संसारभरबाट त्यो बेला भुटानको प्रशंसा हुन्थ्यो । हामी नेपालीभाषीमाथि कुनै विभेद नभएकामा खुसी पनि थियौँ ।

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि साउथ एसियामा नै समस्या आयो । भुटान पनि लथालिंग भयो । इन्दिरा गान्धीको हन्यापछि सन् १९८५ मा भुटानी राजाले कानुन परिमार्जनको प्रक्रिया सुरु गरे । त्यसपछि नेपालीभाषी भुटानीहरूमाथि विभेद हुन थाल्यो । 

सन् १९८८ मा नेपालीभाषी भएकै आधारमा भुटानी नेपालीलाई त्यहाँबाट लखेट्न थालियो । अनि मैले त्यहाँका राजालाई पत्र लेखेर नेपालीभाषी भएकै आधारमा भुटानी नागरिकलाई यसरी लखेट्न हुदैन भनेँ । मैले छानबिनको कुरा उठाएको थिएँ । त्यही कारणले गर्दा मैले देश छाड्नुपरेको हो ।

भुटानबाट लखेटिएका धेरै मानिसलाई त हामी किन लखेटियौँ भन्ने पनि थाहा छैन । भएको के हो भने भुटानमा ५२ प्रतिशत जनसंख्या नेपालीभाषीको थियो । ती मानिस बाहिरबाट गएका थिएनन् । तर भुटानले के भन्यो भने कालिङपोङ, दार्जीलिङ र सिक्किमका १ लाख मानिस भुटानभित्र पसेछन्, यी मानिस हामी खेद्छौँ भनेर भारतसँग सहयोग मागेछ । 

नेपालीभाषी भुटानीलाई भुटानबाट लखेट्न यही कदम पर्याप्त भयो । बाहिरको मान्छेलाई कसैले भुटानमा लगेर बास मात्रै दियो भने पनि ५ वर्ष जेल जानुपर्ने कानुनी व्यवस्था छ । त्यस्तो कानुन भएको देशमा १ लाखभन्दा बढी मानिस बाहिरबाट भुटान आउँदा त्यहाँको प्रशासन के हेरेर बसेको थियो भन्ने मेरो प्रश्न हो । कसरी भुटान छिरे ?

फेरि, जनगणना गर्दा सन् १९५८ देखि ती मानिस जसलाई बाहिरबाट आएका भनियो, उनीहरू त्यहीँ बसेकाे देखियो । प्रमाण पनि पाइयो । मैले यही कुरा उठाएँ । तर, राजाले मानेनन् । केही मानिस बाहिरबाट पसेका छन्, यिनीहरूलाई म लखेट्छु भनेर लिँडेढिपी कस्न थाले । मैले छानबिन गरौँ भनेँ । 

दक्षिण भुटानमा जनगणना हुँदा सरकारले त्यहाँका जनप्रतिनिधिसँग एउटा कबुलियतनामा लिएको थियो । त्यसमा के लेखिएको हुन्थ्यो भने– म यो गाउँको जनप्रतिनिधि हुँ, यहाँ यति घरधुरी छन्, कुनै पनि घरमा विदेशी मान्छे बसेको छैन, विदेशबाट विहे गरेको ल्याएको मान्छे छैन, छ भने फलानो फलानो घरको मान्छे हो, त्यसको बेग्लै जनगणना छ, बाँकी मान्छे पुस्तौँ पुस्तादेखि यही बसिआएको मान्छे हुन्, मैले कुनै झुटा विवरण दिएको रहेछु भने त्यो झुटा पुष्टि भएकै दिन १० हजार रुपैयाँ जरिमाना तिर्छु र म १० वर्ष कैद बस्न तयार छु । मैले स्वस्थ दिमागले यसमा सही गरेको छु ।

यस्तो लेखिएको कबुलियतनामामा हस्ताक्षर गरेको हुनुपर्छ । त्यसरी लेखिएको फर्ममा मैले सही गरेको छु । मभन्दा अगाडिका जनप्रतिनिधिले पनि सही गरेका छन् । सायद मभन्दा पछाडिकालाई पनि गराइयो होला । 

मेरा बुबाले यति पुस्तादेखि यो मान्छे यहीँ छ बस्छ भनेर चिनाउनुभएको छ, मैले जनगणना हुँदा यो मान्छे भुटानकै नागरिक हो भनेर लेखेको छु भने पछि आएर त्यसलाई विदेशी हो भन्न म सक्दिनँ । मैले त्यो कुरा राजालाई लेखेर पनि दिएँ । 

त्यसपछि छानबिन गरेजस्तो पनि गरियो । छानबिन गर्ने बेलामा पहिला मलाई बाँधेर राखियो र राजा छानबिनका लागि गए । छानबिनमा जानुअघि टेकनाथले झुट बोलेकाले राजाले बाँधेर राखेका छन् भन्ने हल्ला फैलाइयो ।

आफूहरूको बोल्ने मान्छे नै जेलमा छ भन्ने भएपछि साधारण जनताले बोल्न सक्ने कुरा नै भएन । केही बिकाउ मान्छेलाई राजाका मान्छेले किनिसकेका रहेछन् । राजाले गाउँमा छानबिन गर्न गए जस्तो गरे, तर आफ्ना मान्छेले मात्रै बोल्न पाउने वातावरण सिर्जना गरियो ।

राजाले छानबिनमा जाँदा बनावटी छानबिन भयो । म जेलमा भएका बेला क्याबिनेटले मेरा विरुद्धमा निर्णय गर्‍याे । मैले त्यो निर्णयको विरोध गरेँ । पछि राजाले उच्च न्यायालयका २ जना न्यायाधीश बोलाए । अनि ‘मैले गल्ती गरेको रहेँछु, अब दोहोर्‍याउँदिनँ, अबदेखि ३ जनाभन्दा बढी मान्छेसँग भेट्ने छैन, भेटेँ भने आजीवन काराबासको सजाय भोग्छु’ भन्ने कागजमा सही गराए । यो पनि सन् १९८८ को कुरा हो ।

भुटानको संसद्मा १५१ जनामध्ये १४३ जनाले भोट दिएको मान्छे म राजाबाट यस्तो व्यवहारमा परेँ । त्यसपछि नेपाल आएँ । नेपाल सरकारले मलाई समातेर भुटानको जिम्मा लगायो । म १० वर्षसम्म जेलमा परेँ । जेलबाट छुटेपछि त्यही केही गर्न खोजेँ । पैसा तिर्दा पनि होटलले खाना खानसमेत दिएन । 

भुटानको जेलमा हुँदा म मात्रै जेलमा परेको छु भन्ने मलाई लागेको थियो । किनभने परिवारका सदस्यसँग पनि भेट्न दिइएको थिएन । सन् १९९४ मा पुगेपछि मात्रै, जुनबेला म जेलमा नै थिएँ, त्यसपछि मात्रै हाम्रो देशबाट भागेर शरणार्थी भएका छन् भन्ने थाहा पाएँ । 

यो अवधिमा भुटानबाट नेपालीभाषी करिब १ लाख २० हजार जति शरणार्थी भएका छन् । त्यसमध्ये करिब ९२ हजारलाई अमेरिकालगायत देश लगियो । बाँकी नेपालमै छन् । उनीहरूको अवस्था दयनीय छ । 

आजका दिनमा पनि भुटानमा मानवअधिकारसँग सम्बन्धित कुनै संगठन छैनन् । स्वतन्त्र न्यायपालिका छैन । राजाले नियुक्त गरेका न्यायाधीशले फैसला गरिदिनुपर्ने हुन्छ । भुटानको अवस्था अहिले पनि ठीक छैन ।

मैले उठाएको विषय नेपालीभाषी भुटानीसँग सम्बन्धित थियो । त्यो विषय बिस्तारै प्रजातन्त्र र मानवअधिकारसँग सम्बन्धित हुँदै गयो ।

म अहिले ७६ वर्षको भएँ । मेरो जीवनकालमा भुटानमा प्रजातन्त्र आउँछ भन्ने मलाई लाग्दैन । तर, पनि हामी सही बाटोमा छौँ, कुनै दिन भुटानमा पनि प्रजातन्त्र आउँछ, मानवअधिकारको विषय उठ्छ, म त्यो दिनको प्रतीक्षामा छु ।

सन् १९८८ देखि आजसम्म हिसाब गर्दा करिब ३५ वर्ष भएछ । हामी अझै पनि नेपालीभाषी भुटानीले भुटानमा अधिकार पाएको हेर्न चाहिरहेका छौँ ।

(भुटानी प्रजातन्त्रवादी नेता रिजालसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १८:१८
प्रतिक्रिया दिनुहोस्