सात साल

राजनीतिक नेतृत्व विवेकशील भएन

आइतबार, फागुन ७, २०७९

मेरो जन्म २००८ सालमा भएको हो । काठमाडौँको गौशालामा हुर्किएँ । २०१३ सालमा स्विट्जरल्यान्डबाट त्रिभुवनको शव नेपाल ल्याउँदाको झझल्को छ । त्यो बेला रिङरोड बनेको थिएन । शव ल्याउँदा म तर्सिन्छु भनेर दिदीहरूले मलाई लुकाएर राखेका थिए । 

त्यो बेला बाजा बजाएर त्रिभुवनको शव ल्याइएको थियो । शोक धून बजाएर शव ल्याइएको थियो । हाम्रो घरबाट नै शोक धून बजाउँदै शव ल्याएको देखिएको थियो । किनभने खुला जमिन थियो । घरहरू खासै थिएनन् । धुवाँधुलो थिएन । सफा कञ्चन थियो– काठमाडौँ । 

त्यसपछि मेरो अक्षरारम्भ भयो श्रीपञ्चमीका दिन । मेरी फुपू दिदीले मलाई नेपाली सिकाउनुभयो । उहाँ हरेक दिन बाग्मतीमा नुहाउन जानुहुन्थ्यो । त्यो बेला बाग्मती एकदमै सफा र गहिरो थियो । पानी चिसो थियो ।

बाग्मतीमा नुहाउन अरूहरू बिहान ४ बजेतिर जान्थे, मेरी फुपू ६–७ बजेतिर जानुहुन्थ्यो । मलाई पनि सँगै लानुहुन्थ्यो । मलाई पनि नुहाउन लगाउनुहुन्थ्यो, रमाइलै हुन्थ्यो त्यो बेला ।

त्यहीबेला मेरो बुबाको निधन भयो । मेरो व्रतबन्ध गरेको थिएन । म ५ वर्षको थिएँ । अक्षरारम्भ गरेपछि मलाई अंग्रेजी पनि पढाउने भन्ने कुरा भयो । दमननाथ ढुंगानाका बुबा केदारनाथ ढुंगानाले मलाई एबिसिडी सिकाउनुभयो । 

नेपाली र अंग्रेजीले मात्रै पुग्दैन, यसलाई संस्कृत पनि सिकाउनुपर्छ भन्ने भएछ । संस्कृत क्याम्पसमा पढाउने रोहिणी गुरु (रोहिणी भट्टराई)–कहाँ संस्कृत सिकाउन मलाई लानुभयो । रोहिणी गुरुबाट अमकोश, कौमुदीसम्म पूरा गरेँ । 

दमन दाइ (दमननाथ ढुंगाना) का बुबा पनि राजनीतिक चेत भएकै मान्छे हुनुहुन्थ्यो । दमन दाइको त कुरै भएन । उहाँ पहिलादेखि नै अभियन्ता हो । पत्रकार पनि हो । गोपालदास श्रेष्ठको ‘द कमनर’मा दमन दाइ काम गर्नुहुन्थ्यो । मैले २००७ सालको उपलब्धि थाहा पाएको भनेको अंग्रेजी पढ्न पाएकाले २०१४ सालतिर मात्रै हो । 

२०१५ सालमा आमनिर्वाचन भयो । त्यो चुनाव कांग्रेसले जित्यो । २०१६ सालतिरको कुरा हो, म पशुपतिनाथ नजिकै रहेको पशुपति विद्यालयमा पढ्थेँ ।

त्यो बेला परशुनारायण चौधरी शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँले हाम्रो स्कुलमा आएर बालबालिकालाई दिने एउटा पुरस्कार पनि दिनुभएको थियो । त्यो केको पुरस्कार थियो भन्ने चहिँ अहिले मलाई याद छैन । 

दमन दाइको परिवारसँग घुलमिल भएकाले राजनीतिक घुलमिल भने थियो । तर, राजनीतिक कार्यकर्ता वा पत्रकार नै बन्छु भन्ने चाहिँ थिएन । मेरी आमाको इच्छा पनि मैले अंग्रेजी पढिदिए हुन्थ्यो भन्ने थियो । इन्जिनियरिङ पढोस् भन्ने नै थियो । 

हामीलाई पढाउनकै लागि आमाले नोकरी पनि गर्नुभएको थियो । उहाँले जेभियर स्कुलमा भर्ना गर्न निकै जोड गर्नुभयो । मैले मानिनँ । किनभने म सानैदेखि अलि विद्रोही टाइपको थिएँ । केही नलागेपछि आमाले जे मन लाग्छ, त्यही पढ् भन्नुभयो । 

२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरे । त्यो बेला पनि जनतामा प्रजातन्त्रप्रति अविश्वास थिएन । प्रजातन्त्र स्थापना भएपछि नै धेरै वटा स्कुल खुलेका थिए । हामी बसेको ठाउँ (गौशाला) सानो गाउँ थियो । काँठ क्षेत्र भनिन्थ्यो । हामी बच्चाहरूका लागि त यहाँबाट सहर निकै टाढा थियो । आमाहरूका लागि पनि सहर टाढा नै थियो । असन इन्द्रचोक पुग्नुपथ्र्याे । 

मैले अहिले सम्झिएअनुसार राणा शासन गएको र प्रजातन्त्र स्थापना भएकामा सबैले राम्रो मानेका थिए । तर, नयाँ पद्धति किन बस्न सकेन भन्ने प्रश्न धेरैको मनमा थियो । २०१५ सालको निर्वाचनले त्यो प्रश्नलाई सम्बोधन गर्‍यो ।

बिपी कोइराला प्रधानमन्त्री भए । त्यसपछि कलकत्तातिर व्यापार गर्दै गरेका मणिहर्ष ज्योति नेपाल भित्रिए । उनले सबै व्यापार काठमाडौँ ल्याए । गोल्छाले भने अलि अघिदेखि नै नेपालमा व्यवसाय गर्दै थिए ।

आमनिर्वाचनपछि नै नयाँ व्यापारीहरू पनि आउन थाले । बिपीको सरकार बनेपछि जनतामा उत्साह बढेको थियो । बिपी पढेलेखेका युवा थिए । उनको अन्तर्राष्ट्रिय सम्बन्ध पनि थियो । राजा महेन्द्रको तुलनामा धेरै स्मार्ट थिए । 

त्यही बेला राजा महेन्द्रमा शक्तिको भोक जाग्यो । उनले बिपीको सरकारलाई अपदस्थ गरे । त्यसपछि मान्छेहरूमा निराशा छाएको थियो । २०१८ सालतिरको कुरा मलाई अहिले पनि याद छ । त्यो बेला हाम्रो गाउँतिर चकमन्न थियो । मान्छेहरू हिँड्न पनि डराउँथे । अखबारहरू बेच्न पनि डराउँथे । जताततै चारैतिर त्रासदी जस्तो लाग्थ्यो ।

हामी केटाकेटी पनि डराएका हुन्थ्यौँ । हामीलाई पढाउने स्कुलका मास्टरहरू पनि डराएका जस्ता देखिन्थे । स्कुलमा वा कुनै अफिसमा नयाँ मान्छे आयो भने यो को होला, किन आयो होला भन्ने जस्तो हुन्थ्यो । मान्छेहरूलाई त्यस्तो शंकालु बनाएको थियो ।

म त सुरुदेखि नै विद्रोही थिएँ । कविता लेख्दा पनि त्यस्तै लेख्थेँ । २०२४ सालतिर त मैले भारतका समाजवादी नेता डा. राममनोहरलाल लोहियालाई चिठी लेखिसकेको थिएँ । मलाई कम्युनिस्ट टाइपको समाजवाद होइन कि प्रजातान्त्रिक समाजवाद मन परेको थियो ।

अंग्रेजी त्यति जान्दिनथेँ । तर, हिन्दी साहित्य भने पढेको थिएँ । डा. लोहियाकै विचार पढेर प्रजातान्त्रिक समाजवादतिर आकर्षित भएको थिएँ । लोहियाको बारेमा पढ्दा पढ्दै मेरो संगत प्रदीप गिरीसँग भयो ।

मैले २०२४ सालमा डा. लोहियालाई चिठी लेखेको थिएँ । त्यो चिठीमा तपाईंले हामीलाई पनि दार्शनिक नेतृत्व दिनुस् भनेर लेखिएको थियो । मेरो चिठी लोहियाको अफिसमा जुन दिन पुग्यो, त्यही दिन उनको निधन भएछ ।

लोहियाका सचिवालयका मानिसले मेरो त्यो चिठी बडो जतनका साथ राखेका रहेछन् । प्रदीप दाइ (प्रदिप गिरी) त्यहाँ पुगेपछि त्यो चिठी दिएछन् । तिम्रो देशमा एउटा समाजवादी जन्मिएको छ, ल यो चिठी लिएर जाउ भनेर मैले लोहियालाई पठाएको चिठी दिएर प्रदीप दाइलाई पठाएछन् । 

डा. लोहियाका सचिवले मेरो चिठीको जबाफ पनि पठाएका थिए । चिठीमा समाजवादीका लागि लोहियाजी अमर हुनुहुन्छ भनेर लेखिएको थियो । चिठी पाउने मेरो ठेगाना भाइचाको पसल भनेर लेखिएको थियो ।

अहिलेको जस्तो ब्लक नम्बर थिएन । चिठी पाउने ठेगाना भाइचाको पसल, वाणाको पसल भन्ने जस्ता यस्ता कुनै हुन्थे ।

मलाई पठाएको त्यो चिठी सिआइडीको हात परेछ । अनि सिआइडीले मलाई समाते । त्यो बेला म १४/१५ वर्षको थिएँ होला । अनि प्रदीप दाइलाई पनि समाते । हामी दुवै जनालाई केही दिन हनुमान ढोकामा राखे । त्यसपछि भद्रगोल जेल चलान गरे । मलाई सार्वजनिक सुरक्षा ऐन लगाइएको थियो । 

सार्वजनिक सुरक्षा ऐनअनुसार ९ महिना थुन्ने अवधि हुन्थ्यो । तर, मलाई ८ महिनामा नै छाडे । प्रदीप दाइलाई ३ वर्षभन्दा बढी समय थुने । मैले प्रजातन्त्र जानेको यसरी हो । 

म ‘डाइहार्ट डेमोक्र्याट’ हुँ । प्रजातन्त्रको विपक्षमा र आफ्नो हितमा मैले अहिलेसम्म केही सम्झौता गरेको छैन । 

हामीले बुझेको प्रजातन्त्र यस्तो थिएन । प्रजातन्त्रका लागि जतिले पनि संघर्ष गरे, त्यो त्याग गर्नेहरूको एउटा पुस्ता पहिला नै सकियो । अर्काे पुस्ताले पञ्चहरूले ३० वर्षसम्म जे जस्तो मोजमस्ती गरेको थिए, जस्तो भ्रष्टाचार गरेका थिए त्यसलाई आदर्श बनायो । नेताहरू प्रजातन्त्रवादी होइन, भ्रष्टतन्त्रको अनुयायी भए ।

अभ्यासमा प्रजातन्त्र आएन भन्न पनि मिल्दैन । स्वतन्त्रताको अहिले जुन वातावरण छ, त्यो प्रजातन्त्रले नै दिएको हो । जुनबेला मैले पत्रकारिता गरेको थिएँ, रेकर्डर थिएन । सिसाकलमले साथ्र्याैं ।

त्यसरी सार्दा पनि डरमर्दाे हुन्थ्यो । फलानासँग के कुरा भयो भनेर खोजीनीति हुन्थ्यो । अखबारमा छाप्न पनि भाषा र शैली खोज्नुपथ्र्याे । अहिलेको अवस्था फरक छ । प्रजातन्त्रको फाइदा नै यही हो । प्रजातन्त्रमा प्रजातन्त्रलाई नै सिध्याउँछु भन्ने मान्छेले पनि काम गर्न पाउँछ । 

अहिलेका जति पनि कम्युनिस्टहरू छन्, तिनीहरूले आफ्नो चरित्र देखाइसकेका छन् । मैले पछि आएका माओवादीको कुरा गरेको होइन, रैथाने कम्युनिस्टको कुरा गरेको हो । उनीहरूले राजासँग मिलेर पनि काम गरेको हो । प्रजातन्त्र मास्ने बेलामा पनि काम गरेको हो ।

केशरजंग रायामाझी राजासँग नै थिए । जनपक्षीय पञ्च भनेर प्रजातन्त्रवादी र रैथाने कम्युनिस्टहरू त्यही बेलादेखि नै भ्रष्ट भइसकेका थिए । 

प्रजातन्त्र वा लोकतन्त्रमा नागरिकको सम्मान हुनुपर्ने हो । यहाँ त नागरिकले लगातार अपमान सहिरहेको छ । यो अपमान सहनुपर्नाको एउटा कारण अव्यवस्था हो । २०४७ सालमा एउटा व्यापक परिवर्तन भयो । २०६३ सालमा अर्काे ठुलो परिवर्तन भयो । 

तर यी दुवै परिवर्तनले सुशासन ल्याउन सकेन । म यिनीहरूले कलकारखाना बेचे भनेर त भन्दिनँ । तर, ती कलकारखना दिँदा व्यवस्थापन गर्न सक्ने मान्छेलाई दिएको भए हुन्थ्यो । यिनीहरूले त्यसो पनि गर्न सकेनन् । अथवा गर्ने मान्छेहरूले गरिदिएनन् होला । 

अहिले जनसंख्या ३ करोड भइसक्यो । उत्पादन छैन । देश खण्डीकरणमा गएको छ । पहिला हामी खेतबारीमा धान, कोदो, गहुँ फलाएर, निर्यात गरेर गौरवान्वित हुन्थ्यौँ । आफ्नै बगैँचाका फलफूल खान्थ्यौँ । हाम्रो जीवनशैली यस्तो थियो ।

अहिले परिस्थिति फरक छ । मान्छेहरूमा पैसा कमाउने हतारो छ । हरेक मान्छेलाई सिटी सेन्टर जानैपर्ने, महँगा सामान किन्नैपर्ने भएको छ । त्यसका लागि पैसा चाहिएको छ । पैसाका लागि आफ्नो ४ मुरी धान फल्ने खेतलाई खण्डीकरण गरिदिने, घडेरी बनाउने र बेच्ने काम भएको छ । 

अहिलेको समस्या व्यवस्थापनको हो । अर्काे मैले भन्नैपर्ने कुरा के छ भने हाम्रो राजनीतिक नेतृत्व विवेकशील भएन, ज्ञानी भएन, पढे लेखेको भएन, शिक्षित भएन, बुझ्ने नै भएन । जेमा पनि कपी गरिएको छ ।

नेपाल जस्तो देशले अमेरिकाको कपी गरेर, बेलायतको कपी गरेर, जर्मनको कपी गरेर हुँदैन । हामी भारतलाई पनि कपी गर्न सक्ने अवस्थामा छैनौँ । 

अहिलेको अवस्था आउनुमा प्रजातन्त्रको दोष होइन । नेताहरूकै दोष हो । व्यवस्थापन गर्न नसक्ने नेताहरू र प्रवृत्ति नै दोषी छ । निजामती प्रवृत्ति, छड्के टोपी लगाएर, चट्ट एउटा टीका लगाएर, दौरा सुरुवाल पहिरिएर सुपारी चपाउँदै चुरोट तान्दै हिँड्ने मानसिकता सबैले सिके ।

आजको समाजमा हेर्ने हो भने आजका यिनै निजामती कर्मचारीहरू, यिनै सचिवहरू ठुल्ठुला बुद्धिजीवी भएका छन् । संसारका अरू देशमा यस्तो हुँदैन । यहाँ त सचिव भयो उही ठुलो मान्छे हुन्छ, अवकाशपछि त्यही मान्छे ठुलो मानवअधिकारवादी हुन्छ । सके नेता नै होला । विश्लेषक उही भएको छ । 

अर्काे कुरा, यो देशको सम्पत्ति लुट्नेहरू धेरै भए । २०० जनाभन्दा बढी भइसके । बुझ्नुपर्ने एउटा कुरा के छ भने ३ हजार वर्षदेखि यो देशको अस्तित्व यही काठमाडौँ भ्यालीले धानेको छ । काठमाडौँ उपत्यका बाहिर नेपाल पाइने भनेको सिमानामा मात्रै हो । कति ठाउँमा त झन्डा पनि पाइँदैन ।

त्यसकारण नेपालमा यो भएन, त्यो भएन भन्नु भन्दा पनि खास कुरो के हो भने स्रोत साधन र बुद्धि विवेकको सही व्यवस्थापन भएन । समस्या यो हो ।

(वरिष्ठ पत्रकार नेपालसँग गरिएको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्