टिप्पणी

प्रधानमन्त्रीज्यू, ‘जनयुद्ध दिवस’मा ट्रायल पास गर्नेलाई स्मार्ट लाइसेन्स दिन पाएको भए !

सोमबार, फागुन १, २०७९

सरकारले आज सार्वजनिक बिदा दिएको छ । २०५२ सालमा सुरु भएको माओवादी ‘जनयुद्ध’लाई दिवसको रूपमा मनाउन सार्वजनिक बिदा दिइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सशस्त्र युद्धका परिकल्पनाकार, सुप्रिम कमान्डर कार्यकारी प्रधानमन्त्री बनेका बेलामा यो निर्णय भयो । यसअघि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने गरिएको थिएन ।

२०६३ साल मंसिर ५ गते बृहत् शान्ति सम्झौता हुँदा, २०६३ साल माघ १ गते अन्तरिम संविधान जारी हुँदा वा २०७२ साल असोज २ गते संविधानसभाबाट संविधान जारी हुँदा ‘जनयुद्ध’ थिएन । सरकारी कागजातहरूमा कि ‘सशस्त्र विद्रोह’ थियो कि ‘सशस्त्र सङ्घर्ष’ । 

र, २०७९ साल फागुन १ गतेदेखि नेपाल सरकारले ‘जनयुद्ध’ ग्रहण गर्‍यो । किनभने सरकारले आज जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको छ ।

१० बर्से सशस्त्र विद्रोह (अब त नेपाल सरकारले औपचारिक रूपमा ग्रहण गरेकाले जनयुद्ध नै लेख्दा पनि हुने भयो) ले सामाजिक र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्यो । 

जनयुद्ध नभएको भए यति चाँडै नेपालमा गणतन्त्र स्थापना हुने थिएन । धर्म निरपेक्षता आउने थिएन । देश संघीय संरचनामा जाने थिएन । समावेशी समानुपातिक व्यवस्था लागू हुने थिएन । राजनीतिक र सामाजिक चेतनाको विकास यो स्तरमा हुने थिएन ।

अहिलेको राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका महत्वपूर्ण छ । तर, प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा र सत्ता साझेदार दलहरूको चित्त दुखाइको बीचमा जनयुद्धलाई सरकारीकरण गरे । प्रचण्डले राज्य शक्तिको बलमा जनयुद्ध दिवस लादे भन्नेहरूलाई चित्तबुझ्दो जबाफ दिइएन ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गर्नु राज्य सत्ताको दुरुपयोग गर्ने परम्परागत नेपाली शैलीको निरन्तरता मात्रै हो ।

प्रचण्ड सरकारले जसरी जनयुद्ध दिवसमा सार्वजनिक बिदा दियो, यसरी त श्री ३ जंगबहादुर राणाले आफू बेलायत भ्रमणमा जाँदा र फर्कंदा पनि सार्वजनिक बिदा दिएका थिए । श्री ३ राणाहरू आफ्ना छोराको पास्नीमा पनि सार्वजनिक बिदा दिने निर्णय गर्ने हैसियतमा थिए ।

अहिले प्रचण्डले गरेको जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय तिनै श्री ३ हरूले स्थापित गरेको मनोमानीको निरन्तरताबाहेक केही होइन । 

प्रचण्डले जनयुद्ध दिवसमा के गरे, गराए भन्ने अर्काे कोणबाट पनि हेरौँ । जनयुद्ध दिवसको दिन बिहान माओवादी नेताहरू पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिदको अघिल्तिर भेला भए । सलाम ठोक्दै तनक्क तन्किए, सार्वजनिक बिदा दिइयो, दिवस सकियो ।

यति गर्न जनयुद्ध दिवस मनाउने निर्णय गरेर सार्वजनिक बिदा नै दिइरहनुपर्ने थियो र प्रधानमन्त्रीज्यू ?

माघ १० गते प्रधानमन्त्री प्रचण्ड संसद् भवन वानेश्वरबाट बाहिरिने बित्तिकै युवा व्यवसायी प्रेमप्रसाद आचार्यले वानेश्वर चोकमा आत्मदाह गरे । प्रचण्ड सरकारले सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाउने निर्णय गरेपछि आचार्यले जस्तो परिवेश निर्माण भएर आत्मदाहको निर्णय गरेका थिए, त्यस्तो परिवेश आउँदैन अब ?

अहिले पनि ट्रायल पास भएका करिब ७ लाख नेपालीले स्मार्ट लाइसेन्स पाएका छैनन् । ती ७ लाख नेपालीलाई लाइसेन्स दिएर जनयुद्ध दिवस मनाउन पाएको भए कस्तो हुन्थ्यो होला प्रधानमन्त्रीज्यू ?

जनयुद्ध दिवस मनाउने सरकारको निर्णयका कारण ट्रायल पास भएका नेपालीले स्मार्ट लाइसेन्स पाउने दिन थप १ दिन लम्बियो । यसरी हेर्दा जनयुद्धलाई सरकारीकरण गर्दा फाइदा भयो कि भएन ?

सार्वजनिक सेवा प्रवाह हुने सरकारी अस्पताल, मालपोत, नापी, यातायात, कम्पनी रजिस्ट्रार, उद्योग विभाग जस्ता कार्यालयमा सर्वसाधारणले पाउने सास्तीको फेहरिस्त प्रधानमन्त्रीज्यूलाई कसैले सुनाएकै होलान् ।

जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिएर यस्ता कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप १ दिन रोकियो । यसरी सेवा प्रवाह रोक्नुको साटो जनयुद्ध दिवसमा कुनै एउटा मात्रै कार्यालयबाट सार्वजनिक सेवा प्रवाहलाई सहज बनाएको भए कति राम्रो हुन्थ्यो होला । तर, सरकारको ध्यान त्यतातिर गएन ।

यसको अझै व्याख्या गरौँ-

जस्तो कि जनयुद्ध दिवस मनाउने दिन कुनै एउटा मालपोत कार्यालयबाट सहज सेवा प्रवाह गरेको भए, लाइसेन्स लिने प्रतीक्षामा बसेका नेपालीलाई स्मार्ट लाइसेन्स दिएको भए, राहदानी विभागबाट सजिलै पासपोर्ट पाएको भए, यातायात कार्यालयमा ब्लुबुक सजिलै नवीकरण गरिदिएको भए, वैदेशिक रोजगारीमा ठगिएका नेपालीलाई न्याय दिएको भए, बिहानै धारामा पानी आएको भए, अस्पतालमा लामो लाइन बस्नु नपरेको भए आमसर्वसाधारणले जनयुद्ध दिवसलाई सम्मानका साथ मनाउने थिए ।

यस्तो केही भएन । जनयुद्धको दिन सार्वजनिक बिदा दिइयो । माओवादी नेताहरू पेरिसडाँडामा पुगेर सहिदअघि तनक्क तन्किए । जनयुद्ध दिवस सकियो ।

त्यसैले होला कवि वासुदेव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा जनयुद्ध दिवसप्रति लक्षित गरेर लेखेका छन्–

युवा, खाडी जान विवश
ढुकुटी चरा–मुसा पाल्न विवश
जय चिहान दिवस !

 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्