सूचीकृत कम्पनीबाट प्रकाशित वित्तीय विवरण कसरी बुझ्ने ?

आइतबार, माघ २२, २०७९

कम्पनीको वित्तीय प्रतिवेदनमा इक्विटीमा प्रतिफल अर्थात् रिटर्न अन इक्विटी (आरओई), सम्पत्तिमा प्रतिफल अर्थात् रिटर्न अन एसेट (आरओए), प्रतिसेयर आम्दानी अर्थात् अर्निङ पर सेयर (इपिएस), मूल्य–आम्दानी अनुपात अर्थात् प्राइस अर्निङ रेसियो (पिई)र तरलताजस्ता वित्तीय सूचकांकका अनुपात देख्न सकिन्छ ।

यसबाहेक क्षेत्रगत व्यावसायिक निकाय जस्तै, बैंक तथा बिमाका छुट्टाछुट्टै वित्तीय अनुपात हुन्छन् । कार्यशील पुँजी अनुपात (वर्किङ क्यापिटल रेसियो), नगद अनुपात (क्यास रेसियो), टोटल डेट रेसियो, डेट टू इक्विटी रेसियो, नेट प्रफिट मार्जिन रेसियो, मूल्य–नगद प्रवाह अनुपात (प्राइस–क्यास फ्लो रेसियो), लगानीमा प्रतिफल अर्थात् रिटर्न अन इन्भेस्टमेन्ट (आरओआई) जस्ता वित्तीय सूचकांक पनि हुन्छन् ।

यतिमात्र होइन, अन्य थुप्रै वित्तीय अनुपात पनि हुन्छन् । सबै वित्तीय अनुपात सबै क्षेत्रका व्यावसायिक निकायमा लागू हुँदैनन् । हरेक क्षेत्रका लागि अलग–अलग वित्तीय अनुपात हुन्छन् । जस्तै– पुँजी पर्याप्तता अनुपात, कस्ट अफ फन्ड, आधार दर (बेस रेट), ब्याज अन्तर (स्प्रेड रेट), कर्जा–निक्षेप अनुपात जस्ता बैंकिङ क्षेत्रले अपनाउने वित्तीय सूचकांक अन्य क्षेत्रले अपनाउँदैनन् । 

वित्तीय विवरण र सूचकांक

कम्पनीको मूल कानुन मानिने प्रबन्धपत्रमा कम्पनीले कुन वा के व्यापार गर्ने भन्ने कुरा उल्लेख हुन्छ । कम्पनीले उद्देश्यअनुसारको कारोबार गरी आर्जन गरेको आम्दानीको हिसाबकिताब (लेखा) कम्पनी ऐन, २०६३ दफा १०८(१) अनुसार नेपाली वा अंग्रेजी भाषामा रीतपूर्वक राख्नुपर्ने तथा दफा १०८(२) मा यसरी राखिने हिसाब दोहोरो लेखा प्रणालीमा आधारित हुनुपर्ने, कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रूपमा प्रतिविम्वित हुने गरी प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टिङ स्ट्यान्डर्ड) र यस ऐनबमोजिम पालना गर्नुपर्ने अन्य शर्त तथा व्यवस्था अनुरूप राख्नुपर्नेछ भनेको छ ।

यसरी राखिएको आय–व्यय विवरणलगायत विभिन्न वित्तीय सूचकांक सूचीकृत कम्पनीले त्रैमासिक रूपमा प्रकाशन गर्छन् । वित्तीय विवरणमा वासलात, नाफा–नोक्सान हिसाब र सूचकांक प्रकाशन हुने गरेको छ ।

तर, वित्तीय विश्लेषणका लागि महत्त्वपूर्ण मानिने ‘नगद प्रवाह’विवरण भने अहिलेसम्म प्रकाशन हुने गरेको देखिन्न । यसबाहेक अहिले बैंकले ‘नाफा–नोक्सान बाँडफाँट हिसाब’ पनि प्रकाशन गर्ने गरेका छन् । यसबाट वितरणयोग्य नाफा रकमको जानकारी प्राप्त हुन्छ ।

नाफा–नोक्सान हिसाब खातामा देखिएको खुद नाफा लाभांशका लागि वितरणयोग्य हुँदैन । त्यसैले इपिएस र वितरणयोग्य नाफामा फरक हुन्छ । परम्परागत लेखा प्रणालीअनुसारको वित्तीय विवरणमा देखिएको खुद नाफालाई केही हदसम्म वितरणयोग्य नाफा मान्न सकिने किसिमको हुन्थ्यो । यसो हुनुको कारण परम्परागत लेखा प्रणालीमा नगद प्राप्त नभएसम्म आम्दानीमा लेखांकन गरिन्नथ्यो । यसलाई नगदमा आधारित लेखा प्रणाली भनिन्छ ।

तर, अहिले प्रोदभावी अर्थात् एकुरलमा आधारित लेखा राखिने हुँदा आम्दानी प्राप्त भए पनि नभए पनि आम्दानीमा लेखांकन गर्नुपर्छ । सेवा वा वस्तु बिक्री भएको बिलबीजक जारी गरेपछि आम्दानी आएको मानेर लेखांकन गरिन्छ । 

नगदमा आधारित र प्रोदभावी लेखा प्रणाली दुवैले खुद नाफा बाँडफाँट गर्नुपर्ने हुन्छ । कम्पनी ऐन, २०६३ को दफा १८२(६) मा कम्पनीले कुनै आर्थिक वर्षमा भएको नाफाबाट लाभांश वितरण गर्नुभन्दा पहिले पूर्वसञ्चालन खर्च, प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामानअनुसार गर्नुपर्ने ह्रासकट्टी, प्रचलित कानुनबमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्ट्याउनुपर्ने रकम वा विगतका आर्थिक वर्षमा भएको सञ्चित नोक्सानीको रकम पूर्ण रूपमा कट्टा गरिसकेको हुनुपर्ने व्यवस्था छ ।

त्यस्तै, सोही दफाको प्रतिबन्धात्मक वाक्यांशमा लाभांश वितरण गर्नुभन्दा पहिले कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानुनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो कोष खडा नगरी लाभांश वितरण गर्न नसक्ने व्यवस्था गरेको छ । प्रतिबन्धात्मक वाक्यांश बैंक र बिमा जस्ता व्यावसायिक निकायका लागि गरिएको व्यवस्था हो । 

आरओई इपिएसभन्दा भिन्न हो । इपिएस चुक्ता पुँजीलाई आधार मानेर गणना गरिन्छ । चुक्ता पुँजी १ अर्ब र खुद नाफा २० करोड रुपैयाँ भएमा इपिएस २० रुपैयाँ हुन्छ । खुद नाफालाई चुक्ता पुँजीले भाग गरेर इपिएस निकालिन्छ ।
आर्जित नाफा बाँडफाँट गरेपछि लाभांशबाहेकको रकम वासलातको तत्तत् शीर्षकमा सारिन्छ । वासलात कम्पनीको यथार्थ स्थिति हेर्ने ऐना जस्तै हो । यसमा सम्पत्ति र दायित्व गरी २ खण्ड हुन्छ । वासलातको माथिल्लो खण्डमा सम्पत्ति र त्यसको ठिक तलतिर दायित्वको विवरण दिइएको हुन्छ । यसको ठिक तल इक्विटी अर्थात् हिस्सेदारीको विवरण दिइएको हुन्छ । यसलाई ‘सेयरधनीको कोष’ पनि भनिन्छ ।

इक्विटीअन्तर्गत सेयर प्रिमियम, जुनसुकै नाम दिइएको जगेडा, सञ्चित नाफा वा नोक्सान आदि पर्छन् । ‘इक्विटी’ दायित्व नै भए पनि यसलाई अन्य दायित्वसरह मानिन्न । यसो गर्नुको कारण यस्ता दायित्व दीर्घकालीन प्रकृतिको हुनु हो ।

कम्पनी स्वेच्छिक वा अनिवार्य खारेजीमा गएमा दायित्व फछ्र्योट गरेर बाँकी रहेमा सेयरधनीले धारण गरेको अंश (सेयर)को अनुपातमा फिर्ता हुनु हो । दायित्व भुक्तान गर्दा कम्पनीको सम्पत्तिले नपुगेमा सेयरधनीसँग नपुग रकम माग गरिन्न । यसैकारण सेयरमा सेयरधनीको दायित्व सीमित हुन्छ भनिएको हो ।

यसको अर्थ लिन कबुल गरेको वा चुक्ता भइसकेको सेयरको हदसम्म मात्र दायित्व वहन गर्नुपर्छ । उदाहरणका लागि अंकित मूल्य १०० रुपैयाँ भएको सेयरको सबै अर्थात् १०० रुपैयाँ नै चुक्ता भइसकेको छ भने त्यही हदसम्म र १०० रुपैयाँमध्ये ५० रुपैयाँ मात्र चुक्ता भएको रहेछ भने बाँकी रहेको ५० रुपैयाँ कम्पनी खारेज हुँदा बुझाउनुपर्छ । यसलाई कबुल गरेको भनिन्छ । 

सूचकांकको विश्लेषण

वित्तीय सूचकांक वासलात र नाफा नोक्सान हिसाब खाताबाट प्राप्त गर्न सकिन्छ । इपिएस, पिई र आरओआई, नेट प्रफिट मार्जिनजस्ता वित्तीय सूचकांक नाफा–नोक्सान हिसाब खाताबाट आउँछ । आरओई, आरओए, तरलता, वर्किङ क्यापिटल रेसियो, नगद अनुपात (क्यास रेसियो), टोटल डेट रेसियो र डेट टू इक्विटी रेसियो वासलातबाट प्राप्त हुन्छ ।

हरेक सूचकांकको आ–आफ्नै महत्त्व हुन्छ । ‘आरओई’ भनेको इक्विटीमा प्राप्त हुने प्रतिफल हो । यहाँ इक्विटी भन्नाले चुक्ता पुँजी, जुनसुकै नाम दिएको जगेडा कोष, सञ्चित नाफा र सेयर प्रिमियम पर्छ ।

आरओई इपिएसभन्दा भिन्न हो । इपिएस चुक्ता पुँजीलाई आधार मानेर गणना गरिन्छ । चुक्ता पुँजी १ अर्ब र खुद नाफा २० करोड रुपैयाँ भएमा इपिएस २० रुपैयाँ हुन्छ । खुद नाफालाई चुक्ता पुँजीले भाग गरेर इपिएस निकालिन्छ ।

चुक्ता पुँजीसहितको कुल इक्विटी ३ अर्ब रुपैयाँ छ भने यसको आरओई करिब ७ प्रतिशत हुन्छ । खुद नाफालाई कुल इक्विटीले भाग गरेर आरओई निकालिन्छ । कुल इक्विटी ३ अर्ब पनि सेयरधनीको रकम भएको हुँदा यो रकममा कति प्रतिफल प्राप्त भयो भन्ने आरओईले देखाउँछ । त्यसैले यहाँ इपिएस २० रुपैयाँ भए पनि वास्तविक प्रतिफल भनेको ७ प्रतिशत मात्र हो ।

आरओएको हिसाब निकाल्दा खुद नाफालाई कुल सम्पत्तिले भाग गरेर निकालिन्छ । यदि कुनै कम्पनीको कुल सम्पत्ति ५ अर्ब र खुद नाफा २० करोड रुपैयाँ रहेछ भने यहाँ आरओए ४ प्रतिशत हुन्छ । सम्पत्ति भन्नाले बैंक वा आफूसँग भएको नगद, प्राप्त हुन बाँकी भुक्तानी, स्थिर सम्पत्ति, जैविक सम्पत्ति, उपकरण, सवारीसाधन, कम्प्युटर आदि पर्छन् ।

पिईले आफ्नो लगानी कति वर्षमा फिर्ता हुन्छ भन्ने जनाउँछ भने आरओआईले लगानीमा प्रतिवर्ष कति प्रतिफल प्राप्त हुन्छ भन्ने जनाउँछ । कुनै कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ र सेयरको बजार मूल्य ५०० रुपैयाँ छ भने यसको पिई २५ हुन्छ । यसको सीधा अर्थ २५ वर्षमा लगानी फिर्ता हुन्छ भन्ने अर्थ लाग्छ ।

यही उदाहरणमा आरओआई ४ प्रतिशत हुन्छ । ४ प्रतिशतको प्रतिवर्ष हुने प्रतिफलले २५ वर्षमा लगानी फिर्ता हुने कम्पनीमा लगानी गर्ने कि नगर्ने भन्ने निर्धारण यस्तै सूचक हेरेर गर्न सकिन्छ ।

सूचकांक उपयोगकर्ता 

वित्तीय सूचकांकहरू संस्थागत र व्यक्तिगत प्रयोजनका लागि हुन्छन् । यस आलेखमा उल्लिखित सूचकांकमध्ये आरओई, आरओए, इपिएस, तरलता, वर्किङ क्यापिटल रेसियो, क्यास रेसियो, टोटल डेट रेसियो, डेट टू इक्विटी रेसियो, नेट प्रफिट मार्जिन रेसियो, पुँजी पर्याप्तता अनुपात, कस्ट अफ फन्ड, आधार दर (बेस रेट), ब्याज अन्तर (स्प्रेड रेट), कर्जा–निक्षेप अनुपातजस्ता वित्तीय सूचकांक संस्थागत प्रकृतिका हुन् भने पिई, प्राइस–क्यास फ्लो रेसियो, आरओआई व्यक्तिगत (लगानी) प्रयोजनका वित्तीय सूचकांक हुन् ।

सूचकांकलाई संस्थागत र व्यक्तिगत भन्नुको कारण यसलाई उपयोग गरिने आधार हो । व्यक्तिगत रूपमा उपयोग गरिने भन्नाले त्यसले लगानीमा के कति प्रतिफल दिन सक्छ भन्ने हुन्छ । संस्थागत रूपमा उपयोग गरिने भन्नाले संस्थाको वित्तीय स्वास्थ्यलाई सबल र मजबुत बनाउने भन्ने हुन्छ ।

व्यक्तिले उपयोग गर्ने सूचकांक पनि संस्थागत सूचकांकका आधारमा हुन्छन् । संस्थाको वित्तीय स्वास्थ्य अब्बल छ भने व्यक्तिगत प्रयोजनको सूचकांक पनि अब्बल हुन्छ । संस्थागत सूचकांक कमजोर भएमा लगानी गर्दा हेरिने सूचकांक जस्तो– पिई र आरओई पनि कमजोर हुन्छ र लगानीका लागि योग्य हुन्न ।

व्यक्तिले आफ्नो लगानी वा लगानीमा कति प्रतिफल आउँछ भनेर सूचकांकको विश्लेषण र विवेचना गरे जस्तै संस्थाले आफ्नो कमजोर वा सबल पक्ष के रहेछ र आगामी कार्यदिशा के कस्तो बनाउने भन्ने निर्णय गर्छन् ।

त्यस्तै, उस्तै प्रकारका अन्य संस्थाले पनि अर्को संस्थाको सूचकांक हेरेर आफ्नो क्षमता अभिवृद्धिका लागि उपयोग गर्छन् । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार