पूर्व महान्यायाधिवक्ता युवराज संग्रौलाको टिप्पणी :  रवि लामिछानेका समर्थकले नै उनलाई सिध्याउँदै छन्

आइतबार, माघ १५, २०७९

पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सांसद पद खारेज भएका रवि लामिछानेलाई उनकै समर्थकहरूले सिध्याउने अवस्था सृजना गरिरहेको टिप्पणी गरेका छन् । 

आइतबार फेसबुकमा पोस्ट गर्दै संग्रौलाले नागरिकताबारे व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई रहेको र सोहीअनुसार फैसला भए पनि तथ्यलाई बङ्ग्याएर नानाथरी बहस भइरहेको बताएका छन् । 

संग्रौलाले भनेका छन्, ‘रवि लामीछानेका बिरोधि अरु छैनन्, उनका नाममा वा समर्थनमा असभ्य गाली गर्नेको जमातले नै उनलाई समाप्त गर्दैछन् । उनले राम्रो राजनीति गरून्, देश बनाएर राजनीतिको मर्यादा राखुन यो सबैको चाहना हो । उनलाई देवता र राक्षस बनाउने दुवै प्रवृत्ति गलत हुन् ।’

पढ्नुहोस् संग्रौलाको टिप्पणी

रवि लामिछानेको नागरिकता विषयमा यथार्थ होइन, जानाजानी रोमान्टिक बहस  भैरहेको छ । अनेक खालका गोलचक्कर गफ भइरहेका छ्न । सबैले आफ्नो दुनो सोझो गरिरहेका छन् । सत्य के हो ?

१. रवि लामीछाने नेपाली नागरिक थिए, अमेरिकी पासपोर्ट लिएका रहेछ्न र अमेरिकी नागरिक भएका रहेछन् । उनी नेपाल आए । उनको राष्ट्रियता नेपाली हो । बस, नेपाली नागरिकता रहेन ।

२. नेपाली नागरिकले पुनः नेपाली नागरिक हुन पाउने ब्यवस्था छ । रवि लामिछनेलाई पुनः नेपाली नागरिक हुन पाउने अधिकार छ । यस बारेमा विवाद छैन, हुँदैन ।

३. विवाद उनी नेपाली नागरिक हुन पाउँछन् या पाउदैनन भन्ने होइन । सर्वोच्च अदालतले नागरिक हुन पाउँदैन भनेको पनि होइन । मात्र के हो भने, उनले अमेरिकी नागरिकता त्याग्ने वित्तिकै पुरानो नेपाली नागरिकता कायम हुँदैन । 

उनले आफ्नो पुरानो नागरिकता कायम गर्ने प्रक्रिया पूरा गरि नागरिकता कायम गर्नु पर्ने ब्यवस्था कानुनमा छ । सर्वोच्च अदालतले रवि लामिछाने निर्वाचनमा सरिक हुँदा यो प्रक्रिया पूरा गरेको रहेनछ भन्ने निर्णय गर्‍याे ।  त्यसको तात्पर्य हो, उनको निर्वाचन प्रक्रिया कानुनसंगत भएन । तर, उनले नागरिकता प्रक्रिया पूरा गरेर कायम गराउन नपाउने होइन ।

४. किन तथ्यलाई बङ्ग्याएर नानाथरीका बहस भइरहेका छन् । यो बहस कसका लागि निर्माण गरिएको हो ? किन निर्वाचन आयोगले समेत हिजो प्रक्रियामा सामेल हुन दियो त भन्ने जस्ता बेतुक तर्क गरिदैछन् । अझ रवि लामिछाने नागरिकताहिन ‘स्टेटलेस’ मानिस भए भन्ने वाइयात गफ निर्माण गरिदैछ । यो देशको संविधानको व्याख्या गर्ने अन्तिम आधिकारी सर्वोच्च अदालत हो । उसको निर्णय मान्नुपर्छ ।

५. देशको स्वार्थ हेरेर, राष्ट्रको पक्षमा, कानुनको पालन र नियमको कार्यन्वयन गर्ने र विग्रिएका, भत्किएका कुरालाई सम्हाल्ने हो कि राज्यलाइ भत्काएर समाप्त पार्ने हो ?

रवि लामिछानेको समर्थनका नाममा उनको सबैथोक भत्काउने जमात सक्रिय देखिदैन र सामाजिक सञ्जालमा ? उनले निवेदन दिएर नेपाली नागरिकता कायम गर्नुपर्‍याे । उनको पार्टीको अध्यक्ष फेरि उनी हुन पाउने वा नपाउने उनको दलको कुरा हो । हिजो झुठो विवरण दिएको हो वा होइन भन्ने कुरा कसैले विवाद उठाए निर्णय हुने कुरा हो । बाँकी कुरा वाइयात गफ हो । 

रवि लामिछानेका विरोधी अरू छैनन् । उनका नाममा वा समर्थनमा असभ्य गाली गर्नेको जमातले नै उनलाई समाप्त गर्दै छन् । उनले राम्रो राजनीति गरून्, देश बनाएर राजनीतिको मर्यादा राखुन । यो सबैको चाहाना हो । उनलाई देवता र राक्षस बनाउने दुवै प्रवृत्ति गलत हुन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्