निर्वाचनको सन्देश र देशले खोजेको निकास

शनिबार, पुस १६, २०७९

समावेशी, समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक स्वतन्त्र र स्वाधीन देश नेपालमा २०१५ को संविधानअनुरूप दोस्रो कार्यकालका लागि स्थानीय, प्रदेश र संघीय सांसदको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनसँगै संघमा नयाँ सरकार गठन भइसकेको छ भने प्रदेशमा नयाँ सरकारको गठन प्रक्रिया सुरु भएको छ ।

 

तीनै तहका निर्वाचन छिटफुट घटनाबाहेक समग्रमा सम्पन्न हुनुलाई आफैँमा गौरवमय उपलब्धिका रूपमा लिनुपर्छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू, उम्मेदवारहरू (स्वतन्त्रसहित), सुरक्षा निकाय, आममतदाता र सुभेच्छुक सबै धन्यवाद एवं बधाईका पात्र छन् ।

 

नेपालजस्तो अल्पविकसित र आर्थिक रूपमा जर्जर मुलुकले यो महान् उत्सव सम्पन्न गर्नु आफैँमा गौरवपूर्ण ‘फड्को मराइ’ हो भन्ने स्वीकार्नैपर्छ । सम्पन्न निर्वाचन र तिनको नतिजबारे सञ्चार माध्यम र विश्लेषकहरूले विभिन्न कोणबाट निर्वाचनले दिएका सन्देशबारे सूचना, समाचार र विचार सञ्चार गरे । 

 

यसै परिप्रेक्षमा मेरो अवलोकन र निर्वाचनले दिएको सन्देशमा केही धारणा यस संक्षिप्त आलेखमार्फत दिने प्रयास गरेको छु । 

 

सर्वप्रथम निर्वाचन परिणाम र त्यसले दिएको सन्देशबारे केही मूलभूत परिणामलाई हेरौँ । निर्वाचन हो, हारजित स्वाभाविक हुन्छ । व्यक्तिगत रूपमा आफू आप्रवासमा रहे पनि आफ्नो जन्मभूमि र जीवनको पूर्वाद्र्धकाल व्यतीत गरेको कर्मभूमि समेत भएको हँुदा त्यहाँका गतिविधिबारे चासो राख्नु एक सचेत नागरिकको कर्तव्य पनि हो । 

 

तसर्थ, वर्तमान प्र्रविधिको उच्चतम सदुपयोग गर्दै आफ्ना व्यावसायिक प्र्रतिबद्धता पूरा गरी बाँकी समय समाचारहरूमा केन्द्रित हुन्छु । सरसर्ती हेर्दा मेरो नजरमा निम्न सकारात्मक पक्षहरू देख्छु ।

 

१) निर्वाचन प्रचारप्रसारका दौरान प्रतिद्वन्द्वीउपर तिक्तता पोख्ने गरेको अवस्था चरम रूपमा अनूभूत गरँे र चिन्तित पनि बनेँ । समावेशी संविधानअन्तर्गत निर्वाचनमा सहभागी हुँदै गर्दा दल तथा उम्मेदवारले आफ्ना नीति तथा कार्यक्रममार्फत जनताको मन जित्नुको सट्टा कसले कति चर्को रूपमा प्रतिद्वन्द्वीलाई तल झार्न सकिन्छ, कस्ता शब्द र शैली स्रोतालाई कर्णप्रिय लाग्छन्, त्यसैमा धेरै श्रम र समय खर्चिएको देखियो ।

 

समावेशीताको एक अध्येताको नाताले व्यक्तिगत रूपम तिक्त अभिव्यक्तिले मर्माहत बनायो । रचनात्मक टिप्पणीले समावेशितालाई प्रश्रय दिएर मलजल गर्छ नकि तिक्तता र अहंकारपूर्ण अभिव्यक्तिले ।

 

जे होस्, निर्वाचन परिणाम आउन सुरु हुनेबित्तिकै पराजित उम्मेदवारले विजयीलाई बधाई ज्ञापन गरेका र कतिपय विजयी उम्मेदवार पराजितका घरमै गएर एक प्रकारको आशीर्वाद थाप्नुले एक नयाँ संस्कार बसाल्ने प्रयास गरेकोतर्फ संकेत गरेको छ । यस्ता सकारात्मक संस्कार र प्रवृत्तिलाई अरू बढावा दिनुपर्छ ताकि आपसी सद्भाव र सहयोगमाथि कुठाराघात नहोस् र नेपाली समाज साँच्चिकै समावेशी संविधान र यसको प्रवद्र्धनतर्फ प्रतिबद्ध छ भन्ने कुरा हरेक नागरिक र विश्व समुदायले अनूभूत गरोस् । यसबारे अहिलेलाई यत्ति नै ।

 

२) अब निर्वाचनमा सहभागिता, निर्वाचनको परिणाम र त्यसको सन्देशबारे केही विश्लेषण गरौँ । 

 

निर्वाचनमा व्यक्तिगत र दलगत उम्मेदवार चुनावमा सहभागी हुनु स्वाभाविक हो । तर, मतदाताको सहभागिता पनि उत्तिकै प्रशंसनीय पक्ष हो । यस पटकको निर्वाचनमा पुराना दलका अलावा नयाँ दल र स्वतन्त्र उम्मेदवारको उम्मेदवारी उल्लेखनीय रहेको देखियो ।

 

त्यसमध्ये पनि युवा तथा शिक्षित वर्गको व्यापक उम्मेदवारी र निर्वाचित समेत भएको परिप्रेक्षमा राजनीतिप्रतिको वितृष्णा र निराशाको अनूभूित गरिराखेका आमजनतामा एउटा आशाको किरण प्रक्षेपण गरेको देखियो, जो अत्यन्त सकारात्मक पक्ष हो । 

 

यस सहभागिता र परिणामले निःसन्देह नवीन उत्साह थपेको छ र यसलाई आगामी दिनमा अझै सशक्त र सिर्जनात्मक ढंगले अघि बढाउँदै लगियो भने मुलुकको कायापलट हुन असम्भव छैन । 

 

पुराना भनिएका दलमा नयाँ एवं युवा पुस्ताको जबरजस्त उपस्थितिको अलावा भर्खरै खुलेका दल, जसले सिंगो दलीय स्वरूप लिइसकेका छैनन्, तर उनका पक्षमा आएको निर्वाचन परिणाम प्रशंसनीय नै मान्नुपर्छ । 

 

निर्वाचन परिणामले दिएका थप सन्देशबारे सिंहावलोकन गर्न सम्बन्धित सबै सरोकारवाला कामयाब नै हुनुपर्छ सायद ।

 

पराजित उम्मेदवारहरूलाई हेर्दा मतदाताले आफ्नो अभिमत न्यायिक ढंगले गरेका छन् । बेलाबखत विभिन्न भ्र्रष्टाचार काण्डमा नाम जोडिन पुगेका, शासन र शक्ति जनताको हितमा भन्दा आफ्नो हितमा प्रयोग गरेका, राजनीतिक रूपमा स्पष्टता नराखेका र छेपारो या मुसो प्रवृित्तलाई विश्राम लिन आत्मालोचना र प्रत्याश्चित्त गर्दै सच्चिनका लागि सन्देश दिएको छ ।

 

यसका बाबजुद आफैँ केही निर्वाचित भएर आएका छन् । उनीहरूले प्राविधिक रूपमा जित हासिल गरे पनि राजनीतिक रूपमा पराजय भोगेको मान्नैपर्छ । उदाहरणका लागि सागर ढकाल, कवीन्द्र बुर्लाकोटीले राजनीतिक रूपमा जितेका छन् भने शेरबहादुर, प्रचण्डले हारेका हुन् । यद्यपि प्राविधिक रूपमा उनीहरूले चुनाव जिते ।

 

टिकट वितरण कस्तालाई भन्दा पनि कसलाई भएको थियो, जसले गर्दा पार्टी निर्णयको विद्रोहमा स्वतन्त्र उम्मेदवारी दिएकाहरूको विजय र पार्टीका आधिकारिक उम्मेदवारको पराजय भयो, यसले पार्टी नेतृत्वलाई राम्रो सबक दिएको हुनुपर्छ कि हाम्रालाई नभई राम्रालाई चुनावी मैदानमा अघि सार्नुपर्छ ।

 

जनाधार भएका र आफैँमा क्षमता भएकाहरू नेतृत्वको चाकडी र गुलामी गर्न जाँदैनन् । यसमा नेतृत्वले हेक्का राख्नुपर्छ ताकि यसरी जनमत गुमाउँदै गइयो भने पछि फर्केर हेर्दा पछि लाग्ने जमात नभेटिन सक्छ । स्वार्थखोरहरू स्वार्थ पूरा हुने छाँट नदेखेपछि जता भेटिन्छ, उतै दौडिन्छन् । 

 

ठुला दलमा शीर्ष नेतृत्व भनिएकाहरूलाई जनताले जिताएका छन् । त्यसका साथै परिवर्तनको पदचापलाई बुझ्ने र सोहीअनुसार चल्ने युवा जमातलाई झनै प्रश्रय दिएका छन् । यसको मतलब जनमतले प्रौढ पुस्ताले विगतमा गरेको त्यागको सम्मान गरेका छन् र थुप्रै युवा पुस्तालाई अगाडि सारेर बदलिँदो परिवेशअनुसारको परिस्थितिलाई हाँक्न जबरजस्त अघि सारेका छन् । 

 

‘प्रौढ पुस्ता संरक्षक बन, युवा पुस्ता मुलुक हाँक्न अघि सर’– सार यही हो । 

 

मुलुकलाई निराशाको भुमरीबाट बाहिर निकाल्दै अग्रगामी रूपमा छलाङ मार्न निर्वाचन परिणामले त एउटा संकेत दिएको छ । अबको कार्यभार भनेको गाउँमा खसी काटेर मासुको बिलो भाग लगाएझैँ भागबन्डा गर्ने होइन, कस्ता व्यक्तिलाई राष्ट्रपतिमा आसीन गराउदा विगतमा गिरेको मुलुकको साख उँचो गराउन सकिन्छ, त्यस्तो व्यक्तित्व खोजी गर्नु जरुरी छ । नकि अहिले बजारमा आएका तिनै दलभित्रका परीक्षित व्यक्तिमध्येबाट छानेर राष्ट्रपति राख्ने हो भने त्यसले देशको भलो गर्ने देखिँदैन । 

 

छिमेकी मुलुक भारतले निकै उच्च कद भएका वैज्ञानिक पृष्ठभूमिका डा. अब्दुल कलामलाई राष्ट्रपतिमा पदासीन गरायो । हामीसँग पनि त्यस्ता व्यक्तित्व छन् । उदाहरणका लागि प्रा. डा. केदारभक्त माथेमा । मेरो जीवनकालमा एकपटक करिब आधा घन्टा साक्षात्कार गर्ने अवसर पाएको थिएँ । तर उहाँको व्यक्तित्व र कीर्तित्वबारे अध्ययन गरेर केही जान्ने अवसर पाएको छु ।

 

कुशल शिक्षक एवं प्राज्ञ, अनुसन्धाता, पूर्वउपकुलपति पूर्वराजदूत आदि उनका परिचयमा गाँसिने पदावली हुन् । यी सबैका बाबजुद पनि राणा विद्रोहका सहिद धर्मभक्त माथेमाका एक सन्तति हुन् उनी । 

 

नेपाल अहिले अत्यन्तै विभाजित र विक्षिप्त भएको अवस्थामा यही राजनीतिक दलहरूको दूरदृष्टि र सदासयता हुने हो भने र देश र जनताका लागि राजनीति गरेको हो भने एकै स्वरमा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्न यस घडीमा अत्युत्तम हुनेछ । सायद सबैको सदासयता मान्ने हो भने माथेमा सरले नाइँ नभन्नुहोला ।

 

कहिलेकाहीँ संस्था गरिमामय भएर उपयुक्त पात्र त्यहाँ नहँुदा सो गरिमा धुमिल र शंकाको भुमरीमा घुलिन्छ भने उपयुक्त पात्र भयो भने धुमिल संस्थाको गरिमा पनि चम्किन्छ । आगे राजनीतिक अंकगणितकै जिम्मा...

 

(प्रस्तुत सामग्री लेखकको निजी विचार हो ।)

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्