पछिल्लो राजनीतिक घटनाक्रमप्रति डा.शेखर कोइरालाको दृष्टिकोण

सोमबार, पुस ११, २०७९

काठमाडौँ– नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । साथै उनले  नेपालको पछिल्लो परिबर्तीत राजनीतिप्रति आफ्नो दृष्टिकोणसमेत सार्वजनिक गरेका छन् ।

 

सोमबार एक विज्ञप्ती जारी गर्दै डा. कोइरालाले नेपालको पछिल्लो परिबर्तीत राजनीतिप्रति आफ्नो दृष्टिकोणसमेत सार्वजनिक गरेका हुन् । उनले एक साता अघिसम्म नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका थिए ।

 

डा. शेखर कोइरालाको दृष्टिकोण जस्ताको त्यस्तै:-

 

संविधानसभावाट जारी संविधान अन्तर्गत मुलुकमा दोश्रो आम निर्वाचनको माध्यमवाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाललाई पाएको छ । सर्वप्रथम संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई नियुक्त हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु ।

 

संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।

 

संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु ।

 

कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको थियो । राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानियो ।

 

गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ। विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो । यो निसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसवाट शिक्षा लिन सक्नुपर्छ ।

 

कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ । गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ । हामी बीच रहेको सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, उर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन ।

 

साथीहरूमा तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन । साथीहरु निरास हुनुपर्ने कुनै कारण छैन । हामी निरन्तर संवाद र सम्पर्कमा रहदै तपाईहरुको घर आँगनमा आउने छौँ । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ ।

 

कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्र देखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँवाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन ।

 

अन्तमा, सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ ।

जय नेपाल ।

डा.शेखर कोइराला
मिति  २०७९ पौष ११ गते

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्