चाँडै बुढी हुनबाट यसरी बच्नुहोस्

मंगलबार, मंसिर १३, २०७९

काठमाडौँ - हाम्रो देशमा आराम मात्र गर्ने र व्यायाम नगर्ने चलन छ । मानिसहरु शारीरिक परिश्रमलाई नै व्यायाम सम्झिन्छन् तर सुत्केरी अवस्थामा केही विशेष व्यायाम गर्दा शरीर मिल्ने, बलियो हुने र पहिलेकै अवस्थामा पुग्ने हुन्छ । आफ्नो शरीर गर्भावस्थाको भन्दा पहिलेकै अवस्थामा पुगोस् र चाँडो बूढी नदेखियोस् भन्ने चाहना भएका महिलाले निम्नानुसार व्यायाम गर्नुपर्छ–

सुत्केरी अवस्थाको व्यायाम

१. सुत्केरी भएको दोस्रो वा तेस्रो दिनदेखि नै दिनको चालीस–पचास पटकसम्म सुतीसुती योनीलाई भित्र तान्ने, एकछिन रोक्ने र छाड्ने गर्नुपर्छ । यसो गर्दा रगत धेरै जान पाउँदैन ।

२. एक हप्ता भएपछि सिधा पल्टेर पहिले दायाँ खुट्टा मोडेर पेटतिर ल्याउने र अर्काे खुट्टाको घुँडामाथि अड्याउने । अर्काे खुट्टा पनि पालैपालो यसै गर्ने । प्रत्येक खुट्टा चारदेखि दश पटक यस्तो गर्ने ।

३. फिला र तिघ्रालाई हातले टेवा दिने । खुट्टाको घुँडा नखुम्च्याएरै तिघ्रा र फिलामाथि उठाउने । यसो गर्दा भित्रका अङ्गहरुलाई आफ्नै ठाउँमा फर्किन मद्दत हुन्छ ।

४. दश दिन भएपछि सुतीसुतीकन गर्धनलाई माथि उठाएर खुट्टालाई हेर्ने ।

५. अब हातलाई छातिमाथि राखेर गर्धन उठाउने, केही दिनपछि बिस्तारै आफ्नो ठाउँमा लान र पेटभित्र तान्न ज्यादै मद्दत गर्छ । 

६. पाँच हप्ता भएपछि सिधै बसेर हात लामो पारी फैलाउने र खुट्टाको औला छुने प्रयत्न गर्ने । यसो गर्दा पेट बाहिर निस्कँदैन, कम्मरमा तागत आउँछ, पिठ्युँ र काँधको व्यायाम हुन्छ, मोटाइँदैन । उभिएर घुँडा र कुहिना नखुम्च्याइ हातले खुट्टा छुने अभ्यास पनि गर्न सकिन्छ ।

७. घोप्टो परेर सुत्ने, हातलाई तन्काएर टाउको अगाडिसम्म लाने । यसले पनि पेट बढ्न दिँदैन ।

८. तेल मालिस गर्दा पनि मोटाउन कम हुन्छ ।

९. बच्चालाई दूध खुवाएपछि खुट्टा सकेसम्म फैलाएर बस्ने । आफ्नो मालिस गरिसकेपछि दुवै हातलाई गोलाकार रुपमा घुमाउँदै गर्धन पछाडि लगेर एक हातले अर्काे हात समाउने र कुहिनालाई अगाडि पछाडि घुमाउने । यसले छातिको व्यायाम हुन्छ, स्तन झोल्लिन पाउँदैन ।

साभारः ‘स्वास्थ्य समस्या र समाधान’ पुस्तकबाट

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०४:१६
प्रतिक्रिया दिनुहोस्