नेभिगेशन
समाज विविध

‘लिभिङ टुगेदर’को साइड इफेक्टः मन मिले चमत्कार, नत्र बलात्कार! कथा अचम्मका छन्

सुरुमा युवकयुवती आपसी सहमतिमा एकसाथ बस्दै आएको पाइन्छ तर पछि बिहे गर्ने विषयमा समझदारी नहुँदा समस्या प्रहरी हुँदै अदालतसम्म पुग्ने गरेको अनुसन्धान अधिकारीहरु बताउँछन्

काठमाडौं– महँगा सहरमा खर्चिलो जीवनलाई सहज बनाउने उद्देश्यले स्थापित ‘लिभिङ टुगेदर’ शैली नेपालमा भने अपराधको कारणका रुपमा ब्याख्या गरिएका घटनामा आधारित हुन थालेका छन्।

खासगरी अस्ट्रेलिया, युरोपमा देशका महँगा सहरमा दुई जनालाई बस्न र साझेदारीका लागि लिभिङ टुगेदर सहज हुने गरेको थियो। तर, यस्तो विषयमा नेपालमा भने साइड इफेक्ट ब्यापक भएका कयन उदाहरण छन्। 

ति मध्य केही प्रतिनिधि घटनालाई देखाउने कोशिश गरिएको छ।

लैनचौरमा बुबा–आमासँग डेरा गरी बस्दै आएकी एक महिलाले ०६६ सालमा झापा बिर्तामोडका युवकसँग विवाह गरिन्। परिवारकै सहमतिमा उनीहरुबीच मागी विवाह भएको थियो।

उनीहरुबाट एउटा छोरा पनि जन्मियो।

तर, १७ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएकी उनको बैबाहिक सम्वन्ध लामो समयसम्म टिक्न सकेन। पतिसँग सम्बन्ध विच्छेद गरेकी उनी बुबाआमासँगै बस्न थालिन्।

०७१ सालदेखि उनको परिवारै लैनचौरस्थित एक सुन व्यवसायीको घरमा भाडामा कोठा लिएर बस्न थाल्यो। पीडित युवतीको बुबा चिनजानको आधारमा त्यहाँ उनीहरु बस्न थालेका थिए।

युवती र घरधनी नजिकिए। 

व्यवसायीले युवतीलाई राम्रो कमाई हुने भन्दै दुबई पठाइयो। एक महिनापछि उनी पनि दुबई गए। त्यहाँ पुगेर उनले मुसलमान धर्मका कारणले अफ्ठ्यारो हुने भन्दै युवतीलाई आफूसँगै बस्न आग्रह गरे।

अन्ततः उनीहरु ‘लिभिङ टुगेदर’ मा बस्न थाले। उनीहरुबीच शारीरिक सम्बन्ध पनि हुन थाल्यो।

घरमा भने कुनै जानकारी दिइएको थिएन। केही महिनापछि युवतीको भाइ पनि रोजगारीका लागि दुबई गए।

जब उनी दुबई पुगे, उनलाई दिदी र व्यापारीको सम्बन्धमाथि शङ्का लाग्यो। दुई जनाको गतिविधि शंकास्पद देखिएपछि उनले दिदीलाई नेपाल पठाए। लगतै व्यापारी पनि स्वदेश फर्किए।

व्यापारीले बिहे गर्न नमानेपछि सम्बन्ध टुट्यो। ०७३ को माघतिर परिवारले उनको अर्कै केटासँग विवाह गराइदिए। युवकलाई युवतीको पहिलो विवाहको बारेमा त भनिएको थियो, तर, व्यापारीसँगको सम्बन्धको बारेमा कुनै जानकारी दिइएको थिएन। बिहेपछि उनीहरुको जीवन राम्रै चलिरहेको थियो।

तर, युवतीकी पति वैदेशिक रोजगारीका लागि विदेश जाने सोचमा पुगे र, कतारका लागि उडे।

उनी विदेशिएपछि व्यापारी फेरि युवतीलाई सम्पर्क गर्न थाले। सुरुमा भेट्नका लागि युवतीले मानिनन्। तर, जब उनले दुबईमा लिभिङ टुगेदरमा बस्दा शारीरिक सम्बन्ध राखेको फोटो र भिडियो आफूसँग सुरक्षित भएको बताए, तब उनी छाँगाबाट खसे झैँ भइन्।

अन्ततः उनी व्यापारीले भनेको ठाउँमा जान बाध्य भइन्। व्यापारीले उनलाई ठमेलस्थित एक घरको कोठामा बोलाए, जुन कोठामा उनले युवतीसँग सम्बन्ध राख्नैका लागि भनेर भाडामा लिएका थिए।

भिडिओ र फोटो पतिलाई पठाइदिने भन्दै उनले युवतीलाई पटकपटक बलात्कार गरेको खुल्न आयो।

व्यापारीले बन्धक बनाएर पटकपटक बलात्कार गरेकी युवती आजित भइसकेकी थिइन्। उनी आफ्नो इज्जत, पत् िर आमाबुबाको डरले त्यो कुरा अरु कसैलाई भन्न पनि सकिरहेकी थिइनन्।

तर, कति दिनसम्म त्यसरी चल्थ्यो र! उनले व्यापारीलाई त्यो भिडिओ र फोटो डिलिट गर्न आग्रह गर्न थालिन्।

यदि डिलिट नगरे प्रहरी समक्ष उजुरी दिने समेत चेतावनी दिइन्। त्यसैबीच पत् िसमक्ष त्यो फोटो पुग्यो। व्यापारीले पतिलाई फोटो पठाइदिएपछि आमाले पनि त्यस बारेमा चाल पाइन्।

अन्ततः युवती आमासँग महानगरीय प्रहरी वृत्त, लैनचौरमा पुगे। यद्यपि, सुरुमा वास्तविक कुरा बताउन सकेनन्। उनीहरुले प्रहरीलाई ‘कसैले आफूलाई अश्लिल भिडिओ र फोटो पठाएर ब्याकमेल गरिरहेको’ सुनाए।

प्रहरीलाई उनीहरुको व्यवहार सुन्दा सुरुदेखि नै अनौठो लागिरहेको थियो। अन्ततः झण्डै ५ दिनपछि उनले प्रहरी समक्ष आफू बलात्कृत भएको बताइन्।

यस्तै, एक युवती आफूमाथि जबरजस्ती करणीको प्रयास भएको भन्दै काठमाडौं जिल्ला प्रहरी परिसर टेकु पुगिन्। त्यसबेला प्रहरी परिसरको कार्यालय टेकुमा रहेको थियो, अहिले भद्रकालीमा सरेको छ।

तिनै युवतीको जाहेरीका आधारमा प्रहरीले खोटाङ स्थायी घर भएका राई थरका युवकलाई खोज्न थाल्यो। जबर्जस्ती करणी उद्योग (एटेम्ट टु रेप) का आरोपी राईलाई पक्राउ गर्न प्रहरीले गएको भदौ १७ गते सुन्धारामा हवाई फायर नै गरेको थियो।

यद्यपी परिसर काठमाडौंले गोली चलाएको कुरा स्वीकार गरेन तर, प्रत्यक्षदर्शीले सिभिल ट्रेड सेन्टरको पार्किङ हुँदै राई भागेपछि गोली चलाएको दाबी गर्दै आएका छन्।

लगभग एक महिनापछि तिनै राई पक्राउ परे। परिसर काठमाडौंले पक्राउ परेका उनलाई जबर्जस्ती करणी उद्योगमा म्याद लिएर अनुसन्धान शुरु गरेको थियो।

राई र ती युवती सात वर्षदेखि लिभिङ टुगेदरमा थिए। दरबारमार्गस्थित क्लव डेजाभु र किंग्स लाउन्ज नामक रेष्टुरेण्टका सेयर होल्डर समेत रहेका राईले सिभिल ट्रेड सेन्टरमा मोबाईल पसल समेत सञ्चालन गर्दै आएका थिए।

राईका निकटस्थहरुका अनुसार उनले लगानी गरेका व्यवसायहरुको हिसाव–किताव समेत हेर्ने ती युवती लामो समय प्रेमी–प्रेमिकाको हैसियतमा बसेका थिए।

राईले उनलाई छुट्टै गाडी समेत किनिदिएका थिए। तर सम्बन्धमा दरार आएसँगै ‘तर्साउनका लागि’ प्रहरी समक्ष पुगेकी थिइन्।

तर, तर्साउने नियतले जाहेरी दिए पनि कानुन अनुसार राईमाथि प्रहरीले अनुसन्धान गरेको थियो। यसरी वर्षौदेखिको प्रेमिल ‘लिभिङ टुगेदर’ अन्ततः जबर्जस्ती करणी उद्योगमा परिणत भएको थियो।  

उता, गोरखाका २८ वर्षीय युवक र गोरखाकै २५ वर्षीया युवती करिब काठमाडौंमा ‘लिभ–इन रिलेसनसिप’ मा थिए। औपचारिक विवाह नगरे पनि उनीहरूको सम्बन्ध पति–पत्नीको जस्तै थियो। 

यसबीचमा युवक भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गए। कोरियामा रहँदा पनि दुवैबीच सुमधुर सम्बन्ध रह्यो। युवकले युवतीलाई नियमित रूपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने युवकले युवतीसँग बिहे गर्न अस्वीकार गरे।

आफू कोरियामा भएको बेला युवतीले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको युवकको दाबी थियो। युवकले बिहे गर्न अस्वीकार गरेपछि युवतीले महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन्। 

केन्द्रले समस्या समाधानका लागि पहल गरे पनि सहमति जुट्न नसकेपछि युवतीले युवकविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन्। 

युवतीले बलात्कारको आरोप लगाए पनि अनुसन्धानका क्रममा युवकको दाबी बलियो देखियो भने युवतीको पनि गल्ती देखियो। त्यसपछि अदालतले युवकलाई धरौटीमा रिहा गरेको थियो। 

सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भए पनि यस घटनामा केटीको गल्ती देखिएकाले अदालतले युवकलाई धरौटीमा छाडेको थियो।

महानगरीय प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र, कालीमाटीका अनुसार काठमाडांैमा पछिल्लो समय लिभिङ टुगेदर ठूलो चुनौती बनिरहेको छ। सुरुमा युवकयुवती आपसी सहमतिमा एकसाथ बस्दै आएको पाइन्छ तर पछि बिहे गर्ने विषयमा समझदारी नहुँदा समस्या प्रहरी हुँदै अदालतसम्म पुग्ने गरेको अनुसन्धान अधिकारीहरु बताउँछन्। 

काठमाडौंमा मात्र हरेक बर्ष लिभिङ टुगेदर असमझदारीमा परिणत भएका ३१ वटा भन्दा बढी उजुरी दर्ता हुन्छन्, त्यो पनि महिला सेलमा। यसबाहेकका निकायमा पनि हुने गरेका छन्।

सबैजसो घटनामा लामो समयसम्म लिभिङ टुगेदरमा बसेपछि पुरुषले बिहे गर्न नमानेको भन्दै नाता प्रमाणीकरण गराइदिन तथा बिहे गराइदिन माग गरिएको छ। 

कतिपय उजुरी सहमतिमै टुंगिन्छन् भने अधिकांश उजुरीमा सहमति जुट्न नसकेपछि केटी पक्षले जबरजस्ती करणी आरोपमा अदालतमा मुद्दा दायर गर्ने गरेका छन्। 

लिभिङ टुगेदरलाई सम्बोधन गर्ने छुट्टै कानुन नभएकाले यस्ता मुद्दा अनुचित प्रभावमा वा प्रलोभनमा पारेर शारीरिक सम्बन्ध बनाएको महलअन्तर्गत अदालतमा जाने गरेको अनुसन्धान अधिकारी बताउँछन्।

लिभिङ टुगेदरसम्बन्धी उजुरी लिएर आउनेमध्ये अधिकांश घटनामा महिला पीडित हुने गरेको महिला सेवा केन्द्र, कालिमाटीको अनुभव छ। 

कतिपय घटनामा पुरुषले आत्मनिर्भर महिलासँग लिभिङ रिलेसनमा बसेर आर्थिक लाभ लिने र पछि धोका दिने गरेको समेत पाइएको छ।

लिभिङ टुगेदरका कारण उत्पन्न समस्या समाधानका लागि जतिसक्दो छिटो ऐन नियम आवश्यक रहेको बताइन्छ। 

समाजशास्त्री डा. टीकाराम गौतमले लिभिङ टुगेदरको महत्व र अर्थ नबुझ्दा समस्या उत्पन्न भएको दाबी गरेका थिए। 

गौतमले भनेका थिए,‘पश्चिमाको अभ्यास हेर्दा यो सामान्य प्रक्रिया हो तर नेपालमा यसलाई बिहेको चरणका रूपमा हेर्ने प्रवृत्तिका कारण समस्या उत्पन्न भइरहेको छ।’ 

सामाजिक परिवर्तनसँगै मानिस परिवारभन्दा बाहिर निस्कन चाहन्छ र नयाँनयाँ सम्बन्धको अभ्यास गर्छ, लिभिङ टुगेदर यसैको उदाहरण हो। नयाँ संस्कृति अवलम्बन गर्ने प्रचलनले नयाँ र पुरानो पुस्ताबीच द्वन्द्व सिर्जना हुने उनको तर्क कतिपय गर्छन्। 

नेपालमा लिभिङ टुगेदरको प्रत्यक्ष कानुनी मान्यता छैन, तर केही अवस्थामा न्यायिक व्याख्याले सहमति र सहजीवनलाई संरक्षण गरेको पाइन्छ।

सम्पत्ति, बच्चा, र सम्बन्ध विच्छेदको अवस्थामा कानुनी अन्योल हुन सक्छ। केही देशहरू (जस्तैः फ्रान्स, क्यानडा) मा लिभिङ टुगेदरलाई “कमन ल म्यारिज” सरह कानुनी मान्यता दिइन्छ।

सम्बन्धमा रहेको स्वतन्त्रता र जिम्मेवारीको सन्तुलन आवश्यक हुन्छ। पारिवारिक अस्वीकृति वा सामाजिक दबाबले तनाव उत्पन्न हुन सक्छ। सहजीवनले विवाहपूर्वको समझदारी परीक्षण गर्न सक्ने अवसर दिन सक्छ।

एउटै घरमा बसेपछि खर्च कम हुन्छ, तर सम्पत्ति वा ऋणको उत्तरदायित्व कानुनी रूपमा अस्पष्ट रहन सक्छ।

हिन्दू, मुस्लिम वा अन्य धार्मिक परम्पराहरूमा विवाह बिना सहबासलाई पाप, अमान्य वा अनैतिक मानिन्छ। यस्तो सम्बन्धबाट जन्मिएको बच्चालाई समाजले अझ बढी अस्वीकार गर्ने सम्भावना हुन्छ।

धेरैपटक पुरुषले लिभिङ टुगेदरमा बस्ने बहानामा विवाहको झूटो आश्वासन, शोषण वा त्याग गर्न सक्छ। सम्बन्धविच्छेदपछि कानुनी सुरक्षा नहुँदा महिलालाई आर्थिक र सामाजिक समस्याले पिरोल्न सक्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

कान्ति लोकपथ सञ्चालनमा