आज हरिपरिवर्तिनी एकादशी, यस्तो छ विष्णुले बलिलाई पाताल पुर्‍याएकाे एकादशीको कथा

शुक्रबार, मंसिर ९, २०७९
धार्मिक मान्यताअनुसार आज, आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नुभएका भगवान् श्रीविष्णुले निन्द्रा अवस्थामा कोल्टे फेरेको दिन अर्थात हरिपरिवर्तिनी एकादशी । भगवान् हरिले निन्द्रामा कोल्टे फेरी शरीर परिवर्तन गरेको दिन मानेर आजको दिनलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञ बराबरको फल प्राप्त हुने धार्मिक विश्वास छ । हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरूको नाश गर्न यस एकादशीको व्रतभन्दा ठूलो अरु कुनै उपाय नभएको शास्त्रहरूमा उल्लेख छ । शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान् श्रीविष्णुको आज व्रत तथा पूजा गरिन्छ । यस्तो छ, हरिपरिवर्तिनी एकादशीको कथा त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि भगवान् श्रीविष्णुका परम भक्त थिए । तर उनले इन्द्रसित पुर्वाग्रह रहेका कारण इन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । उनले सबै देवतालाई दुखः दिन थाले । बलिबाट आजित भएर वृहस्पतिसहित इन्द्रलगायत सबै देवता श्रीविष्णुकोमा पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थाले । स्तुतिबाट प्रसन्न भएपछि बलिबाट देवगणलाई मुक्त गराउन श्रीविष्णुले पाँचौं अवतारका रुपमा वामन रूप धारण गरे । भगवान् तेजस्वी बलिकोमा पुगेर आफ्नो पैताला राख्न तीन पाइला भूमि माग्नुभयो । महाबलिले पनि तीन पाइला जमीन अत्यन्तै सानो माग भएको ठानेर दान दिने सङ्कल्प गरे । तर विष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भूलोकमा पद, भुवर्लोकमा जङ्घा, स्वर्गलोकमा कम्मर, महःलोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राख्नुभयो भने दोस्रो पद स्वर्गलोकमा राख्नुभयो । केवल दुई पाइलाले सबै संसार ढाकेपछि श्रीविष्णुले अब तेस्रो पाइला कहाँ राखुँ भनेर बलिलाई सोध्दा बलिले वाचा स्वरुप आफ्नो शिर झुकाएर शिरमा राख्न भने । श्रीविष्णुले पनि तेश्रो पाइला उनको टाउकामा राखेर मत्र्यलोक पाताल पुर्‍यईदिए । विष्णुभक्त बलिले पाताल लोकमा पनि श्रीविष्णुसँगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा श्रीविष्णु स्वरुप रहेको पौराणिक कथा छ । सोही दिनबाट हरेक भाद्रपद शुक्ल एकादशीलाई हरिपरिवर्तिनी एकादशीको रुपमा मानिन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्