आफैँलाई पनि रुपान्तरण गराउने रूपान्तरणमुखी सिकाईको अनुभव...

बिहीबार, मंसिर ८, २०७९

म मे ३०,२०२२ को दिन धादिङकाे गंगाजमुना गाउँपालिका- ४, गुम्दी- सातदोबाटोमा रहेको तामाङ्गखर्क उच्च मा. वि मा प्रवेश गर्छु । काठमाडौँबाट म रूपान्तरणमुखी सिकाइ सहजकर्ताको रूपमा त्यहाँ पुगेको हुँ ।

काठमाडौँ युनिभर्सिटीका प्रोफेसर डा. काशीराज पाण्डे सरले यो अवसरका लागि प्रस्ताव गर्नुभएको थियो मलाइ । उहाँ जन्मेको र पढेको धादिङ्को गुम्दी भन्ने ठाउँमा रहेको तामाङ्गखर्क स्कूलमा रूपान्तरणमुखी सिकाईको जिम्मेवारीसहित जाने उहाँको प्रस्तावमा मैले प्रारम्भिक सहमति जनाएको थिएँ । केही दिनमा उहाँको टीमका सदस्यहरूसँगको जुम मिटिङ पछि म छानिएको जानकारी पाएको थिएँ मैले ।

मलाई अर्थपूर्ण काम र अनुभवी मेन्टर चाहिएको थियो जसले, मेरो शिक्षण क्षेत्रको करिअरलाई सबल बनाउन सहयोग पुर्‍याओस् । हुन त विभिन्न ठाउँबाट काम गर्नको लागि प्रस्ताबहरू आइरहेका थिए तर मलाई अवसरसँगै राम्रो गाइडेन्स चाहिएकाले, आफै आफ्नै तरीकाले अगाडी बढ्नुभन्दा अनुभवी मेन्टरको साथमा अगाडी बढेमा राम्रो हुन्छ भन्ने हेतुले प्रोफेसर डा. पाण्डेसँग काम गर्नु उत्तम अवसर हो भन्ने मेरो मनले ठहर गर्‍यो ।

उहाँले त्यहाँ गएर तपाईंले रूपान्तरणमुखी काम गर्नुस् भन्नुभयो । रूपान्तरणमुखी ? म केही अलमलिएँ । तपाईंले विगतमा शिक्षकलाई तालिम दिएको जस्तै त्यहाँका विद्यालय शिक्षकलाई तालिम दिएर शिक्षण सिकाइमा रूपान्तरण ल्याउने काम गर्नुपर्ने उहाँले बताउनुभयो । त्यो बेला मैले धेरै कुरा त बुझेको थिइनँ तर मनमा यति विश्वास थियो 'शिक्षा क्षेत्रसँग सम्बन्धित जे जस्तो काम गर्न पनि म तयार हुन्छु ।' अन्ततः मे ३० को बिहान ७ बजे माछापोखरीबाट उत्तरी धादिङकाे गुम्दीमा अवस्थित तामाङ्गखर्क उच्च मा.वि मा जाने बस चढेँ । दिउँसो साढे ३ बजे म गाउँमा पुगेँ । मलाई यता परिवेशसँग घुलमिल हुन केही दिन लाग्यो । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ भूगोल, नयाँ बिद्यार्थी, नयाँ अपेक्षा र नयाँ भूमिकाका साथ - रूपान्तरणमुखी सिकाई सहजकर्ताको रूपमा म त्यहाँ थिएँ । जहाँ मैले ११ वटा स्कूलमा अङ्ग्रेजी माध्यममा रूपान्तरणमुखी सिकाईको वातावरण विकास गर्नुको साथै, शिक्षकहरुको दक्षता विकास गर्न विभिन्न शिक्षण तालिमहरु प्रदान गर्नुपर्ने खालको गहन जिम्मेवारी सम्हाल्ने अठोट गरेको थिएँ । सुरुका केही दिन तामाङ्गखर्क स्कूलको वातावरण र विद्यार्थीसँग साक्षात्कार गरेँ । उनीहरूसँग घुलमिल हुन थालेँ र चाँडै नै विद्यार्थी पनि मसँग नजिकिएको महसुस गरेँ । मैले उनीहरूले कुराकानी गरेको, गीत गाएको, खेलेको, पढेको, र मैले आफ्नो दैनिकी भ्लगमार्फत राख्न थालेँ । मैले सन् २०१८ देखि शिक्षक भएदेखि दैनिक भ्लग बनाउने गरको छु । संसारमा आफ्नो दैनिकी भिडियो मार्फत डकुमेन्ट गरेर देखाइरहेका शिक्षक कति छन् कुन्नि ? मैले गंगाजमुना गाउँपालिका ३ र ४ मा रहेका फिडर विद्यालयहरू रातमाटा आधारभूत विद्यालय, श्री कालिकादेवी आधारभूत विद्यालय र कल्याण आधारभूत विद्यालय पुग्न पाएँ । त्यहाँका शिक्षकहरूसँग म आउनुको उद्देश्य प्रकाश पारे र कसरी हुन्छ अङ्ग्रेजी माध्यममा रूपान्तरणमुखी सिकाईको वातावरण सिर्जना गर्न सकिन्छ कि भनेर राय, सल्लाह लिएँ । केही दिनपछि तामाङखर्क स्कूललाई केन्द्र पारेर ११ वटा स्कूलका प्रधानाध्यापकलाई निम्त्याएर औपचारिक छलफल गर्‍यौँ । त्यसको २ दिनपछि तामाङ्गखर्क स्कूलकै शिक्षकहरूसँग गहन छलफल गरियो । उहाँहरूका महत्वपूर्ण सुझाव प्राप्त भए । फिडर स्कूल भनेका आधारभूत विद्यालय हुन्, जहाँका बालबालिका पछि त्यहाँ पढाइ सकेर तामाङ्गखर्क माविमा अध्ययन गर्न आउनेछन् । तामाङ्गखर्क माविमा रहेर मैले यहाँका शिक्षकको सहयोगमा केही रूपान्तरणमुखी कामहरू गरेँ । जस्तै- विद्यार्थीलाई अङ्ग्रेजी गीत गाउन सिकाउने । साप्ताहिक अङ्ग्रेजी भित्ते पात्रो 'ह्याप्पी चिल्ड्रेन' प्रकाशित गर्‍यौँ । साप्ताहिक युट्युब स्कूल सो - 'सनसाइन' बनायौं । जहाँ विद्यार्थीले आफै कार्यक्रम सञ्चालन गरेर आफूमा निहित प्रतिभा प्रस्तुत गर्दछन् । ती कार्यक्रममा अहिले हामीले ४ वटा सेगमेन्ट राखेका छौँ- अङ्ग्रेजी स्पिच, नृत्य, अङ्ग्रेजी गीत/ राइम्स र अन्तरवार्ता । पहिलो अंकका लागि हाम्रा विद्यार्थीले आफ्नै प्रधानाध्यापक शंकर सिम्खडाको अन्तरवार्ता लिएका थिए । यी कार्यक्रम गर्नुको उद्देश्य भनेको विद्यार्थीमा सञ्चार सिपका साथै आत्मविश्वास बढाउनु हो । यी कुरा गरिरहँदा ठयाक्कै डा. पाण्डेले लेखेको किताब 'थियोराइजिङ ट्रान्सफरमेटिभ लर्निङ' मा भएको बुँदा नं ३ र ८ को प्रयोग भइरहेको पाएँ । उहाँले पठाएको यो पुस्तकको पीडीएफ पढ्दा नै मैले ठ्याक्कै मैले गरिरहेको कामलाई उहाँको थियरीमा पाएको थिएँ । यसमा रूपान्तरणमुखी सिकाईको लागि मुख्यतः आठवटा महत्वपूर्ण बुँदा समावेश गरिएका छन्– १. विद्यार्थी र शिक्षकको जीवनलाई जोड्ने सिकाइ । २. समाजिक र रितिरिवाजलाई प्रयोगमा ल्याएर सिकाइ गरिनुपर्ने । ३. सिर्जनशीलता र कल्पनाशीलतामा जोड दिनुपर्ने । ४. सरल, सहज र सही पेडागोजीकाे प्रयोग गरि सिकाइमा जोड दिनुपर्ने । ५. दिगो सिकाईको लागि सहभागितामा जोड दिनुपर्ने । ६. एकर्का प्रति सदभाव, माया र विश्वासमा विकास गर्नुपर्ने । ७. क्रिटिकल रिफ्लेकशन, रिसर्च गर्ने दक्षता र इम्पावर्मेन्टमा जोड दिनुपर्ने र ८. भावनात्मक, बौद्धिक र आर्टस्तिक विकासलाई उजागर गर्नुपर्ने । मैले यो कुरा अभ्यास गरिरहेको रहेछु र अब त्यसलाई थ्यौरीसँग जोडिन पाउँदा झनै राम्रो हुन्छ भन्ने सोचका साथ अबको मेरो नयाँ भूमिकामा दुवैलाई सँगै लैजान्छु भनेर योजना बनाएको थिएँ । पुस्तकको बुँदा नम्बर तीन र चारमा विद्यार्थीले आफ्ना सिर्जनशीलता र कल्पनाशीलता अनि भावनात्मक, बौद्धिक र कलात्मक पक्षको प्रयोग गरिरहेको पाएँ। कक्षा ७ मा रहेर मैले क्लास रुम रुल, क्लास रुम म्यागजिन, ग्राटिच्युड चार्ट लगायतका कुरा विद्यार्थीलाई उनीहरुकै संलग्नतामा बनाउन सिकाएँ । अर्को उनीहरुको लागि नयाँ कुराका रुपमा प्रेजेन्टेसन दिने तरिका पनि सिकाएँ । पहिलो चोटी उनीहरूले यी कुराहरूसँग साक्षात्कार गर्दै थिए । उनीहरू सिक्न एकदमै उत्साही र आतुर देखिन्थे । उनीहरूलाई ग्रुपवर्कहरू दिन्थेँ र आफ्नै ग्रुपमा रहि चार्ट पेपरमा बनाई प्रजेन्टेसन दिएँ । उनीहरूलाई हरेक दिन अङ्ग्रेजीमा दैनिकी लेख्न लगाएँ । सुरुमा मैले नै मेरो दैनिकी लेखेको डायरी देखाएपछि उनीहरूले लेख्न थाले । कसैलाई काम गर्न लाउनु छ भने सुरुमा आफैंले गरेर देखाउनुपर्छ भन्ने मान्यता छ मेरो । र हरेक दिन कक्षाकोठामा जाँदा आफूले लेखेको दैनिकी बिद्यार्थीले मलाई देखाउँथे । मैले उनीहरूलाई आफैंलाई चिन्न पनि सिकाएँ । प्रायः हामीलाई अरूको बारेमा चाहिनेभन्दा धेरै ज्ञान भइरहेको वा खोज्न मन लागिरहेको हुन्छ तर आफ्नै बारे कम थाहा भइरहेको हुन्छ । म कस्तो खाले बिद्यार्थी हुँ ? मलाई के मनपर्छ/ मनपर्दैन ? मलाई के ले खुसी दिन्छ ? मलाई के ले दुखी तुल्याउँछ ? मलाई के गर्यो भने रिस उठ्छ? मैले किन पढ्नुपर्छ ? मैले कसरी आफ्नो समाजमा परिवर्तन ल्याउन सक्छु ? मेरो राम्रो पक्ष के हो? मेरो नराम्रो पक्ष के हो ? मैले के के कुराहरू सिक्नुपर्नेछ ? लगायतका प्रश्न आफैंलाई एकान्तमा सोधेर आफैँबाट उत्तर पाउनको लागि 'सेल्फ रीफ्लेकशन' गर्न सिकाएँ जसले गर्दा उनीहरूले सानै उमेरमा आफ्नोबारे थाहा पाउन सक्ने सिपको विकास हुन्छ भन्ने मेरो विश्वास हो । किनकि वर्षौंसम्म पनि मान्छेले आफैंलाई चिनिरहेको हुँदैन। जिन्दगीमा बाटो बिराइरहेको हुन्छ । उद्देश्यबिहिन बाँचिरहेको हुन सक्छ । त्यो नहुन दिन पनि आफ्नै बारेमा सुरुमा चाँडै थाहा पाउन सके जीवन सार्थक हुनसक्छ भन्ने हेतुले उनीहरूमा यो अभ्यास गराएँ । र यस्तै क्रियाकलापहरू गराउँदा डा. पाण्डेको किताबको बुँदा नं ७ जहाँ उनीहरूले 'क्रिटिकल रिफ्लेक्सन', बारे थाहा पाउँदै जानुका साथै उनीहरू 'इम्पावर्ड' हुँदै गइरहेको पाएँ । शिक्षकहरूको अनुरोधमा म कक्षा एल.केजी र यू.केजीमा गएँ । साना विद्यार्थीलाई चित्रहरू बनाउन र प्रेजेन्टसन दिन लगाएँ । उनीहरूले आफ्नो क्षमता अनुसार काम गरे । मुख्य कुरा उनीहरू खुसी थिए । खासमा मेरो जिम्मेवारी पढाउने नभइ शिक्षकहरूलाई सहजकर्ताको रूपमा सहयोग गर्नु हो । तर बेला बेलामा शिक्षकहरू कारणवश विद्यालयमा अनुपस्थित हुँदा म खाली रहेको कक्षामा जान्थेँ । अलि पछि कक्षा खाली भएको बेलामा विद्यार्थी आफैँ मलाई खोज्दै बोलाउन आउँथे । आफूले गरेको कामबाट उनीहरू खुशी रहेछन् भन्ने थाहा हुँदा मलाइ साह्रै खुसी लाग्छ । म यो जिम्मेवारीमा पुगेको बल्ल एक महिना हुँदैछ । अहिले वर्षे छुट्टीमा काठमाडौँ घर फर्केको छु । गुम्दीमा दुईजना शिक्षक भेटेको छु, जो ३ वर्ष देखि तामाङ्गखर्क मावि मा पढाइरहनुभएको छ । एक्दमै मिलनसार हुनुहुन्छ । उहाँहरूले सँधै बिहान चिया/कफिको लागि निम्त्याउनु हुन्छ । भुटानी शरणार्थी भएर नेपाल आउनुभएको उहाँहरू मेरो एकदमै मिल्ने साथी बन्नु भएको छ । उहाँहरूको कथा पनि बेग्लै छ । सानै हुँदा आफू जन्मेको थलो छोडेर परिवारसँगै इंडिया हुँदै नेपाल आउनुभएको रहेछ । दुबैले आ-आफ्नो अनुभव सुनाउनुभयो, सुनेर म भावुक भएँ । भुटानी सरकारले दिएको सास्ती । आफ्नो जन्मथलो छोडेर हिँड्नुपरेको पीडा । दाई, बहिनी, आफू - तीनजना तीनतिर भएर विभिन्न ठाउँमा हुर्किएको - पढेको । अनि पुनर्स्थापना हुँदा परिवारकै सदस्य क्यानडा पुगेपनि कागजात नपुगेकाले आफू यतै रहनुपरेको । यी कुरा सुन्दा मेरो मनमस्तिष्क कताकता हल्लिन पुग्यो । तर उहाँहरूको अनुहार भने म सँधै चम्किलो पाउँछु । सहयोगी भावना र मिलनसार बानी व्यवहार । विद्यार्थीका प्यारा शिक्षक उहाँहरूको अर्को परिचय हो । यहाँसम्मकी विद्यार्थीले घरबाट खानेकुरा ल्याइदिने । यी कुराहरू देख्दा भोग्दा मलाई डा. पाण्डे को किताबको बुँदा नं १ संग मिल्न गएको अनुभव भयो - विद्यार्थी र शिक्षकको जीवनलाई जोड्ने सिकाई । पक्कै पनि उहाँहरूको अनुभव कष्टपूर्ण छ तर पनि ती अनुभवबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौँ। द्वन्दकालमा कतिको परिवारको यस्तै नियति हुन गयो । यी अनुभवले पक्कै पनि हाम्रो सिकाइमा रूपान्तरण ल्याएको नै छ । गुम्दीमा मैले अनुभव गरेको अर्को कुरा भनेको चाहिँ रात पर्नासाथ बिजुली चम्किनु र जोडसँग चट्याङ् पर्नु । केही रात त म तर्सेँ पनि । यसरी लगातार चट्याङ् र बिजुली चम्केको अनुभव यो नै पहिलो थियो मेरो । एकदिन त त्यही चट्याङले गर्दा स्कूल र वडा कार्यालयमा बिजुली र इन्टरनेटको छाता ध्वस्त भयो । ४-५ दिन बिजुली आएन र अहिलेसम्म स्कूलमा इन्टरनेट छैन । सेल फोनको डेटा चल्न त चल्छ तर राम्ररी टिप्दैन । हुन त म विद्यालयमा पढाउन सिन्धुपाल्चोकदेखि माथिल्लो डोल्पासम्म विभिन्न ठाउँमा पुगेँ । तर मलाई यहाँ अलि भिन्नै खालको अनुभव हुँदैछ । अलिकति त भूमिका पनि फेरिएको छ । तर मूलत सिकाइकै कुरा हो । गुम्दीमा गुरुङ, सुन्दास, नेवार, राई, मगर, लिम्बू, घले, सिम्खडा, तामाङ्, मगराती, पाण्डे, लामिछाने, अधिकारी, भण्डारी, सापकोटा, सुवेदी, गडेल, रिजाल, कार्कीलगायत थरको बसोबास छ । एउटा घर चाहिँ मुस्लीम समुदायको पनि पाएँ । मैले विद्यार्थीलाई ग्रुपवर्क दिँदा एउटा ग्रुपलाई तिमीहरूको गाउँमा बसोबास गरिरहेका जातजातिहरुको बारेमा चार्ट पेपरमा लेखी प्रजेन्टेशन देऊ भनेर भनेको थिएँ । उनीहरूको त्यो प्रजेन्टेसन मेरो लागि पनि यो थाहा पाउने र सिक्ने अवसर थियो । डा. पाण्डे को पुस्तकको बुँदा नं २, ४, ५ र ६ जहाँ समाजमा भएको, आफ्नै ठाउँको रीतिथितिको बारेमा बुझ्दै सिकिरहेको थिएँ । यी सब गर्न खासै चुनौती केहि पनि थिएन। केवल चाहिएको थियो त जाँगर र समूहमा सहभागिता जनाउँदै काम गर्ने अठोट । जसले गर्दा उनीहरुको दिगो सिकाइ र एकअर्का प्रति सद्भाव, माया र विश्वास बलियो होस् । कुनै समयमा सिम्खडाहरूको बाहुल्यता रहेको गाउँमा अहिले त्यसबेलाको तुलनामा १० प्रतिशत मात्र सिम्खडाहरु रहेको थाहा पाएँ । धेरैजसो काठमाडौँको बालाजु, माछापोखरी क्षेत्रमा बसाइसराई गरेको र केही त्यतैबाट यूके, अमेरिका वा अरु युरोपेली देशमा पुगेको पनि थाहा भयो । काठमाडौँबाट धादिङ नजिकै जस्तो लाग्छ तर यो उत्तरी धादिङ्गको बिकट गाउँ हो । यहाँ बस पनि २०६४ सालमा बल्ल पुगेको रहेछ । त्यो पनि सबै महिना होइन । वर्षायाममा त ठप्प हुँदो रहेछ । जीपवालालाई फोन गरेर रिजर्भ गर्‍यो भने मात्र गाडी आउने नत्र हिँडेर जानुपर्ने । हाम्रो विद्यार्थी स्कूल २ घण्टासम्म हिँडेर विद्यालय आउँछन् । यो नियति नेपालका धेरै पहाडी गाउँका बासिन्दाको हो । मैले सिन्धुपाल्चोकमा पढाउँदा पनि विद्यार्थीहरू २ घण्टाको बाटो ओर्लिन्थे र फेरि ३ घण्टा लगाएर घर पुग्थे । यो सम्झँदा मात्र पनि साह्रै मन दुख्छ । यहाँको अर्को समस्या रक्सी पनि रहेछ । केही अभिभावक रक्सी खाएर स्कूलभित्र आएको पनि देखेँ । अझ अचानक कक्षा कोठामा पनि गइदिने । यसले बालबालिकाको मनमस्तिष्कमा कस्तो छाप पर्दो होला ? यो कुरा बुझ्ने जिम्मेवारी ती अभिभावकै हो न कि अरु कसैको । यो विद्यालयले देश विदेशमा महत्वपूर्ण भूमिकामा पुगेको जनशक्ति जन्माइरहेको छ । वडा अध्यक्ष, विभिन्न स्कूलको प्रिन्सिपल, देश बिदेशका प्राध्यापक, नर्स, ड्राइभर, पत्रकार आदि । डा. पाण्डेले आफू जन्मे हुर्केको बेलाको गुम्दी र अहिलेको गुम्दीमा निकै भिन्नता आएको बताउनुहुन्छ । त्यसबेला दाउराबाट भान्छामा परिकार पाक्दथे। घण्टौं हिँडेर सदरमुकाम पुगिन्थ्यो भने अहिले ग्यासले प्रश्रय पाएको छ । बस कुद्न थालेको छ । तर पनि किन किन यो ठाउँले देश विदेशलाई जत्ति योगदान दिएको छ, त्यसको थोरै प्रतिशत मात्र मुस्किलले गाउँले पाएकोमा म काठमाडौँमा जन्मे हुर्केको मान्छेलाई अलि खल्लो लागिरहेको छ । तर अझै पनि यो ठाउँले आशाको किरण मैनबत्तीको प्रकाश झै बाल्न छाडेको छैन । तामाङ्गखर्क पूर्व विद्यार्थी समाजले यो ठाउँको लागि केही गर्नुपर्छ भनि दिनरात चिन्ता व्यक्त गरेको देखिन्छ । जस्तै : प्रो. काशीराज पाण्डे, प्रो. पदम सिम्खडा लगायतका देश विदेशमा रहेका अग्रजले निरन्तर पुर्याइरहनु भएको योगदान । डा. पाण्डे अवसरको खोजीमा सन् १९८८ मा काठमाडौं आउनुभयो र पछि अष्ट्रेलियामा पीएचडी गरि नेपाल फर्केर काठमाडौं युनिभर्सिटीमा अंग्रेजी विषयको प्राध्याक भएर वर्षौंदेखि शिक्षा क्षेत्रमा सेवा पुर्याइरहनु भएको छ भने म सुगम ठाउँमा जन्मे, हुर्के, पढे र शिक्षा क्षेत्रमा केहि अमूल्य काम गर्नु पर्छ भनि कहिले पहाड, कहिले तराई त कहिले हिमालको बिकट, अप्ठ्यारो ठाउँहरू पुग्दै छु, सन् २०१८ देखि । शिक्षा क्षेत्रको माया र विद्यार्थीको लागि केही गर्नुपर्छ, शिक्षामा काँचुली फेर्नुपर्छ - त्यसको लागि, रमाइलो गरि, जीवन उपयोगी, कमाई हुने- गर्न सक्ने खालको, त्यो शिक्षाले जीवनमा रुपान्तरण ल्याउने खालको, भनौं न हाम्रो साझा उदेश्य मिल्न गएकोले गर्दा - पाण्डे सरको थ्यौरी र म फिल्डमा गएर प्रक्टिकल गर्दै अगाडि बढ्दै छु रुपान्तरणमुखी सिकाइको माध्यमद्वारा । यति छोटो समयमा अनगिन्ती अनुभवहरू बटुलेँ, थप बटुल्दै पनि छु । जसरी गुम्दिले हरेक बिहान मुस्कुराउनु छाडेको छैन म पनि त्यसै गरी मुस्काउन गुम्दी सँग सिक्दै छु । हुन त म यहाँ रूपान्तरणमुखी सिकाइ सहजकर्ताको रूपमा कार्यरत छु तर अनगिन्ती भोगाइ र अनुभवले गर्दा म आफैँ पनि रूपान्तरण हुँदै गइरहेको छु । मोइन टिच फर नेपालको अलुम्नाई हुन् । उनी हाल उहाँ रूपान्तरणमुखी सिकाइ सहजकर्ताको भूमिकामा उत्तरी धादिङ्गको गंगाजमुना गाउँपालिकामा रहेको तामाङ्गखर्क मावि र वडा ३ र ४ मा रहेका फिडर स्कूलमा कार्यरत छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१७
प्रतिक्रिया दिनुहोस्