सञ्जाल र इमेललाई सुरक्षित राख्न उपयोगी साइबर सुरक्षा टिप्सहरू

शुक्रबार, मंसिर ९, २०७९
साइबर सुरक्षाको विषय झन झन महत्वपूर्ण बन्दै गइरहेको छ । खासगरि सामाजिक सञ्जाल, इन्टरनेट आदिका प्रयोगकर्ता बढेसँगै यो विषय झन महत्वपूर्ण बनेको हो । अक्टोबरलाई साइबर सुरक्षा सचेतना महिनाका रुपमा मनाइन्छ । विश्वभरि नै चासो र चिन्ताको विषय रहेको साइबर सुरक्षाको सन्दर्भमा केही टिप्स उययोगी हुने ठानेर यहाँ उल्लेख गरिएको हो । १: आफ्नो कम्प्युटर वा मोबाइलमा पासवर्ड राख्नुहोस् र कसैलाई पनि आफ्ना उपकरण प्रयोग गर्न नदिनुहोस्। २ : पासवर्ड क्यापिटल र स्मल अक्षर, नम्बर र सङ्केत चिन्ह मिसाएर राख्नुहोस। इमेल र सामाजिक सञ्जालमा अनिवार्य दुई तहको भेरिफिकेसन‍ (2-Step Verification ) राख्नुहोस् । अनि आफ्नो पासवर्ड (पुरानो पनि) कसैलाई भन्दै नभन्नुहोस्। ३ : कसैलाई पनि (प्रेमी प्रेमिका, श्रीमान श्रीमती, साथी वा अन्य कोही) कुनै पनि अवस्थामा आफ्नो नग्न वा अर्धनग्न वा अरूलाई देखाउन नमिल्ने तस्बिर मेसेन्जर वा इन्टरनेटमा कुनै पनि हालतमा नपठाउनुहोस्। #Nonudes ४: आफ्ना उपकरणलाई भाइरस र अन्य हानिकारक सफ्टवेयरबाट बचाउनुहोस् । यसका लागि जे पायो त्यही डाउनलोड र इस्टल नगर्नुहोस्, अरूको पेन ड्राइभ प्रयोग नगर्नुहोस्, इमेलमा आएका एट्याचमेन्ट नखोल्नुहोस् र भरपर्दो एन्टीभाइरस राखेर बरोबर अपडेट गर्नुहोस्। महत्त्वपूर्ण कुरोः जसरी मिति गुज्रेको औषधिले काम गर्दैन त्यसैगरि समयसमयमा अपडेट नगरिएको एन्टीभाइरसले पनि काम गर्दैन। अनि जसरी खल्तीमा औषधि राखेर रोग निको हुँदैन त्यसैगरि कम्प्युटरमा एन्टीभाइरस राख्दैमा भाइरस हट्ने भन्ने हुँदैन। सम्झनुहोस्: समय समयमा अपडेट अनि स्क्यान । ५: लोभ नगर्नुहाेस्। तपाईँलाई नकिनेको चिठ्ठा पर्दैन, तपाईँलाई कुस्त पैसा छोडेर विदेशमा कोही मर्दैन त्यसैले चिठ्ठा परेको वा कुनै रकम जितेको भनेर पठाइएका इमेलहरू, वा म्यासेजहरु खोल्दै नखोल्नूस, खोलिहाले पनि त्यसका लिङ्कमा नथिच्नूस। देख्ने बित्तिकै मेट्नुस्। ६: कुनै लिङ्कमा क्लिक गर्दा वा चलाइरहेकै बेला फेसबुक वा इमेल वा अन्य सेवा लगइन भएको जस्तो भएर फेरि लगआउट गर्न पासवर्ड माग्यो भने कुनै पनि हालतमा पासवर्ड नहाल्नुहोस्। पासवर्ड हाल्ने एकमात्र अवस्था भनेको आफैले यूआरएल टाइप गरेको बेला हो। ७: इन्टरनेटमा एकपटक राखिएका कुरा पूर्ण रूपमा हटाउन असम्भव छ त्यसैले इन्टरनेट वा सामाजिक सञ्जाल वा मेसेन्जरमा केही कुरा लेख्दा वा तस्बिर भिडियो राख्दा सोच्नुहोस् यो कुरा सार्वजनिक हुन सक्छ। ८: फ्रि वाइफाइ पाइयो भन्दैमा खुशी नहुनुहोस्। सार्वजनिक वाइफाइबाट तपाईँको व्यक्तिगत तथ्याङ्क, अन्य जानकारीहरू र गोपनीयता भङ्ग हुने सम्भावना रहन्छ। सकेसम्म फ्रि वाइफाइ नचलाउनुहोस् र चलाएपनि त्यहाँबाट सम्वेदनशील कुराहरू आवश्यक पर्ने साइटहरू नचलाउनुहोस्। #Nofreewifi ९: कहिँ पनि क्लिक गर्नुभन्दा पहिले ३ पटक सोच्नुहोस् कि यो ठीक हुन्छ कि हुन्न। यो इन्टरनेटका लिङ्क, इमेल वा मेसेन्जरमा आएका लिङ्क र सामाजिक सञ्जालका लाइक वा शेयरसम्म सबैमा लागु हुन्छ। नथिचि नहुने अवस्थामा बाहेकका अवस्थामा क्लिक नगर्नुहोस । #Dontclick १०: इन्टरनेट साधारणतया गोप्य हुँदैन । तर केही गोपनियता राख्न सकिन्छ। इन्टरनेट चलाउँदा ब्राउजरले कतिबेला के के चलायो भन्ने इतिहास राख्छ भने गुगल जस्ता सेवा चलाउँदाको इतिहास राख्छ। त्यसैले समय समयमा ब्राउजरको इतिहास मेट्नु पर्छ। #clearhistory ११: मोबाइल फोनमा धेरै सम्वेदनशील जानकारी र डेटा हुन्छ । मोबाइल फोन प्रयोगकर्ताका स्थान स्थिति, कल गरिएको नम्बर र कुरा गरेको समय, इन्टरनेट जोडिएको अवस्था र एसएमएस पठाएको नम्बर र सन्देश फोन प्रदायक कम्पनीलाई थाहा हुन्छ। १२: कम्प्युटरमा रहेका तथ्याङ्क वा फाइलहरु कुनै पनि बेला नष्ट हुनसक्छन वा भाइरसले आक्रमण गर्न सक्छ। त्यसले गर्दा कम्प्युटरमा रहेका महत्वपूर्ण फाइलहरुको प्रतिलिपि कम्प्युटरबाहिर अर्थात पेन ड्राइभ वा हार्ड डिस्कमा राख्नु उपयुक्त हुन्छ। १४: परिवार र विद्यालयमा बालबालिकाहरूसँग इन्टरनेटको सुरक्षित प्रयोगका बारेमा छलफल गर्नुहोस्। थाहा छैन भने छोराछोरी र विद्यार्थीका लागि सिक्नुहोस्। एउटा सिक्ने स्रोत यो पुस्तक पनि हुनसक्छ। १५: शयनकक्षमा ल्यापटप र मोबाइलजस्ता उपकरण नलग्ने अभ्यास गर्नुभयो भने तपाईँको स्वास्थ्य राम्रो हुन्छ र यो बानीले घरका बालबालिकालाई इन्टरनेटका कुलत र धेरै नराम्रा कुराबाट बच्न पनि सहयोग गर्छ। घरमा नियम बनाउनुहोस्, बेडरुममा नो कम्प्युटरर नो मोबाइल । #Nocomputermobileatbedroom १६: फोन वा सामाजिक सञ्जालमा राखिएको परिचय नपत्याउनुहोस्। १७: कुनैपनि हालतमा आफ्ना नग्न वा अर्धनग्न तस्बीर वा भिडिओ कसैलाई पनि (श्रीमान श्रीमती वा प्रेमी प्रेमिकालाई पनि) पठाउँदै नपठाउनुहोस्। १८:  निम्न व्यक्तिगत कुराहरू सकेसम्म इन्टरनेटमा नराख्नुहोस्स् जन्ममिति, पूरा ठेगाना, फोन नम्बर, व्यक्तिगत विवरण, जन्ममिति, ब्याङ्कसम्बन्धी जानकारी र बालबालिकाका जानकारी। सम्झनुहोस्- नराखे नी हुने कुरा नराखेकै ठीक। १९: इन्टरनेटमार्फत चिनजान भएका साथीसँग कुरा गर्दा व्यक्तिगत वा आपत्तिजनक कुरा वा तस्बिरहरू आदानप्रदान नगर्न र भेट्दा सार्वजनिक स्थान छान्नुहोस्। बालबालिकालाई अपरिचित मानिससँगका सम्बन्धका बारेमा विशेष रुपमा सचेत हुन सिकाउनुहोस्। २०:  बालबालिकालाई इन्टरनेटका खराब पक्षबाट बचाउनुहोस्स् प्रविधि सिक्नुहोस् र सिकाउनुहोस्, उनीहरूलाई सही र गलत प्रयोग सिकाउनुहोस्, खुला छलफल गर्नुहोस् र उनीहरूको प्रयोगबारे ध्यान दिनुहोस्। जथाभावी तस्बीर भिडिओ नहाल्नुहोस्। #begoodparent आचार्यको ब्लग https://medium.com/digitalsafety/ बाट 
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३४
प्रतिक्रिया दिनुहोस्