यो कथा होइन

बिहीबार, मंसिर ८, २०७९
पुराना किताब

समय ८:५५ मिनट बेलुका

“मोटर बाटोबाट हाम्रो घरमा पुग्न एक दिन पैदल हिड्नु पर्थ्यो । मैले आठ वर्षको उमेरमा पहिलो पटक वालिंगमा मोटर देखेको थिएँ । ट्रक चढ्दा अतालिएको थिएँ । एकैछिनमा वाकवाकी लागेको थियो । हाई-स्कूल दुई घण्टा हिंडेर जानु पर्थ्यो । विहानै उठेर एकडोको घाँस काटेपछि मात्र विद्यालय जान पाइन्थ्यो ।

घरमा धेरैजसो मकैको आटो पाक्थ्यो । आमाले केहीले दूध त कहिले मोही त कहिले राइको साग, कहिले गुन्द्रुक त कहिले जिराको झोल भागमा हाल्दिनु हुन्थ्यो । दौडने पोजमा मुख पोल्ने तातो खाना मुखमा छिराउँदै स्कूल जानु पर्थ्यो । गाउँका धेरैजसो हामी सहपाठीहरू यसै गर्थ्यौं ।

विद्यालयमा पढ्ने सहपाठीहरू आफ्नो उमेरभन्दा ठूला थिए । उमेर ठूलो हुँदैजाँदा उनीहरूलाई रहर हुँदाहुँदै पनि पढाएको बुझ्ने क्षमता कम भएजस्तो लाग्थ्यो । उनीहरुले आफुपछाडी बसेर मलाई अगाडीको कुर्सीमा बसाउथे । अनि, क्लास सकिएपछि खासगरी अंग्रेजी र म्याथ उनीहरूले सिकाई माग्थे ।

स्कूलमा “खाजा खाने” भन्ने कुराचाहिं मावलीमा टीका लगाएर दिने एक मोहोर, धेरै पछि एक रूपैया कमाएको दिनमा मात्र जुर्थ्यो । दिउसो त्यस्तै हो तर चारबजेको अन्तिम कक्षा सकिएर घर जाने बेलामा भोकले पेट बाउँडिदन्थ्यो, घर पुगेपछि भुटेका मकै वा रोटी खाजामा पाइन्थ्यो त्यो पनि कहिलेकाहीं मात्र ।

तेस बखत हामीलाई सबैभन्दा माया आफ्ना कितावहरूको लाग्थ्यो । मैले पनि आफ्नो नाता पर्ने काकासंग पुरानो कितावको लागि कक्षा आठ देखिनै भनेको थिएँ । उहाँलाई पनि कसैले पुराना पुस्तक नै दिएका थिए रे । उहाँले पांच दिन रोपाइँको “बाउसे” गयेर ती किताव पाउनु भएको थियो । दुर्भाग्यवस, उहाँ एसएलसीमा उत्तीर्ण हुन सक्नुभएन तर उहाँबाट पाएको पुराना पुस्तकले मलाई उत्तीर्ण बनायो ।

मैले उहाँबाट ती पुराना पुस्तकहरू पाएको दिन, रातभरी टुकी बालेर च्यातिएको ठाउँहरू खोजी-खोजी पानीटेपले टालेको थिएँ । अनि, पुरानो गोरखापत्र खोजेर निकै मेहेनत गरेर गाता लगाएको थिएँ । १३ वर्षको उमेरमा पनि मैले किताव प्राप्त गर्दाको खुसी र सन्तोष आज पनि गर्न सकेको छैन । मैले एसएलसी पास गरें । मैले पनि ती कितावहरू मभन्दा जुनियरलाई दिएँ । उनी पनि उत्तीर्ण भएर अरू कसैलाई ती किताव दिए ।

अहिलेको सरकार धनि भएको छ । धेरै ठूलो कुरा गर्छ तर परीक्षा आइसक्दा पनि विद्यार्थीहरूलाई पुस्तक दिन सक्दैन । हरेक वर्ष “अपडेट”का नाममा महङ्गा पुस्तकहरू रद्दीको टोकरीमा फालिन्छन् । बोर्डिंग स्कूलहरूले कमिसनका लागि हरेक वर्ष पुस्तक फेर्छन् ।

देशका ७०% बालबालिकाहरू पुस्तक नै नपाएर फेल हुन्छन् वा बल्लबल्ल पास हुन्छन् । देशको नयाँ शिक्षानीतिले किताव त छाप्न सकेन तर विद्यार्थीहरूलाई हरेक वर्ष पुस्तक विस्थापित गरेर पढ्न समेत बाट बंचित गरेको छ । पुराना पुस्तक पढ्दा हीनताबोध गराउने, नयाँ पुस्तकहरू दिन नसक्ने, भएका पुस्तकहरू कवाडीलाई बेच्न प्रोत्साहित गर्ने “नयाँ गणतन्त्रप्रति” दिक्क लागेर आउँछ ।

बालबालिकाले हरेक वर्ष अपडेटेड पुस्तक पाउनु राम्रो कुरा हो तर पुस्तक नै दिन नसक्ने र भएका पुस्तकहरू रद्दीमा बेच्नुपर्ने नीचतापूर्ण शैक्षिक नीति तय गर्नेहरू राष्ट्र र जनताका अपराधी हुन् । बालबालिकाहरू एकछाक खाना नपाए पनि पढ्नका लागि पुस्तक चाहन्छन् । आज पनि देशमा असंख्य बालबालिकाहरू छन् जसको परिवारले नयाँ पुस्तक किनेर दिन सक्दैन र पुराना भए पनि पुस्तकहरू पाए राम्रो श्रेणीमा उत्तीर्ण हुन्थे ।

म ती सबैलाई नीति निर्माताहरूलाई घोरअपराधी ठान्छु जसले शिक्षालाई नै “गरीवकालागि र धनिकालागि” फरकफरक शिक्षाको व्यबस्था गरे । धनिहरूका लागि घरघरमा पुस्तक पुर्याउने व्यबस्था मिलाए, गरीवहरूलाई पुराना पुस्तक समेतबाट बंचित पारे ।

म ती भाग्यमानी मध्ये हुँ जसले पुराना पुस्तक पढेर त्रिविविको प्राध्यापक बन्न सफल भएको छु । महान् दार्शनिक बर्त्रेंड रसेलले भनेका छन् “एउटा विद्वान राम्रो शिक्षक नहुन सक्छ तर एउटा राम्रो शिक्षक अनिवार्य रुपमा विद्वान् हुन्छ ।” उप्रान्त यो देशको शिक्षानीति शिक्षकले तय गर्नुपर्छ नीतिनिर्माता तथाकथित विद्वान् तथा रानीतिज्ञले होइन । मलाई थाहा छ, परजीवी नीतिनिर्माताहरूलाई यो लेखले निकै पोल्ने छ, पोलोस् !” उनले आफ्नो कुराको बीट मार्दै भने र शान्त भए ।

म भने ठ्याक्कै आफैसंग मिल्दो जीवन भोगाई पर्न गएकोले अचम्भित भएँ । ३५ वर्षसम्म शिक्षकका रूपमा विविमा सेवा दिएका यी विद्वान्प्रति मसंग सम्मान बाहेक केही थिएन । उहाँको गोडामा आफ्नो शिर राखेर, आशिर्वाद थपेर आफ्नो घर फर्किए भने आफ्नो बाल्यकाल पनि सम्झिएँ जुन बखत एउटा पुरानो पुस्तकको मूल्य अमूल्य नै हुन्थ्यो । पुरानो पुस्तक झोलामा बोकेर हिड्ने विद्यार्थी आफ्नै सहपाठी र गुरुहरूको नजरमा सम्मानको पात्र हुन्थ्यो ।

(डा. गोविन्द शरण उपाध्याय मनोविज्ञान र दर्शन विभाग, त्रिचन्द्र क्याम्पस, काठमाडौँ)

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१५
प्रतिक्रिया दिनुहोस्