बाचौँ र बाँच्न दिउँ

बिहीबार, मंसिर ८, २०७९

मानव जीवनको एक आदर्श छ– ‘बाँचौँ र बाँच्न दिउँ’ । तर मानिस आफ्ना स्वार्थका कारण यो अनि यस्ता धेरै मान्यता र आदर्शबाट च्यूत हुँदै गएको छ । यसको एक उदाहरण हो सुखसयल र विलासी जीवनका लागि हामीले गरिरहेको वातावरणको विनाश । धनी, विकसित र शक्तिशाली बन्ने नाममा मानिसले गरिरहेको वातावरणको दोहनले मानिसको मात्र होइन यो जगतका सारा जीवनको साझा घरका रुपमा रहेको पृथ्वी संकटमा परिरहेको छ । मानिस सर्वोत्कृष्ट प्राणीको उपाधि लिएर आफैँ आफ्नो बासस्थान ध्वस्त गरिरहेका छ । आउने पुस्ताहरूप्रतिको दायित्व र कर्तब्यबाट च्यूत भइरहेको छ । यो संसार मानिसको मात्र पेवा होइन, यो त करोडौँ प्रजातीका जीव र बनस्पतिको साझा घर हो र यी सबैको सहअस्तित्व जरूरी छ भन्ने कुरालाई मानिसले वेवास्ता गर्नाले वातावरणमाथि जोखिम मडारिइरहेको छ । तर, अफसोच मानिसले यसलाई रोक्न सकेको छैन । बरु झन् झन बढी रहेको छ । तुलनात्मक रुपमा धनी र औद्योगिक देशहरूले वातावरण विनासमा ठूलो योगदान गरिरहेका छन् र त्यसको कुप्रभाव संसारभरिका प्राणी र बनस्पतिले भोग्नुपरिरहेको छ । मानवकै गतिविधिका कारण पृथ्वीमाथि संकट थपिँदो रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

सन् १८५० को औद्योगिक क्रान्तिपछि मानव गतिविधिहरू जैविक इन्धनमा केन्द्रित र निर्भर हुन पुगे । विकास र सम्बृद्धिका नाममा भएको तिब्र औद्योगिकरणका कारण जैविक इन्धन मानिसको जीवनको एक अभिन्न बस्तुका रुपमा रह्यो । भान्सादेखि, कार्यालयसम्म, फ्रिजदेखि कम्प्युटरसम्म, गाडीदेखि अन्य उपकरणसम्म, प्रयोग हुने जैविक इन्धन विश्वब्यापी तापमान बृद्धिको एक मूख्य कारण बनिरहेको छ। जसबाट उत्सर्जित कार्बनडाइअक्साइडलगायत हानिकारक ग्यास हाम्रो वायुमण्डलमा पुगेका छन् ।

विश्व तात्ने क्रमसँगै हिमाल र हिउँ पग्लने क्रम बढेको छ, समुद्रको सतह बढ्दो छ भने सूर्यका हानिकारक परावैजनि किरणबाट जोगाउने ओजन तह पातलिइरहेको छ । हरित गृह प्रभाव बढ्दो छ । मरुभुमिकरण र सुख्खा बढेसँगै जंगल मासिने र पानीका मुहान सुक्ने क्रम चुलिएको छ । पृथ्वी उकुसमुकुसको अवस्थामा पुगेको छ । मानिसका क्रियाकलापले पृथ्वीका जीव र बनस्पतिमाथी धावा बोलिरहेको छ । वायुमण्डल, जमिन, पर्वत, जंगल, जललगायत सबै प्रणालीमा आएको परिवर्तनसँगै समग्र प्राकृतिक सन्तुलन खल्बलिएको छ । यसको अर्थ हो बर्तमानको दिनचर्यादेखि भविष्यसम्म हाम्रो जीवन प्रभावित भएको छ/हुनेवाला छ । यी प्रणालीमा आएको असन्तुलनको प्रारम्भिक परिणामका रुपमा बेमौसमी बर्षा, बाढी, पहिरो, डुबान आँधी, चक्रवात, भुमरी जस्ता विपद् ब्यहोर्नुपर्ने क्रम बढेको छ ।

विश्वब्यापी रुपमा बढेको यो संकटसँग जुध्न सन् २०१५ मा १९७ देशले पेरिस सन्धि अनुमोदन गरि विश्वब्यापी तापमानलाई १ दशमलव ५ डिग्री सेल्सियसमै र सक्दै नसके २ डिग्री सेल्सियससम्ममा सिमित गर्ने घोषणा गरेका थिए । तर, मानिसको गैर जिम्मेवार क्रियाकलाप यस्तरी बढ्दै गयो र गइरहेको छ कि त्यसबेला बनाइएको कार्ययोजनाले मात्र अबका वातावरणीय मुद्दालाई संबोधन गर्न नसक्ने स्थिती देखिएको छ । विभिन्न अनुसन्धानहरूले यो अब सम्भव नभएको निष्कर्ष निकाल्न थालेका छन् ।

करिब ९ महिना अघि मात्र ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धि विश्व सम्मेलन कोप–२६ ले पनि अपेक्षाकृत रहन सकेन । चीन र भारत कोइलालाई इन्धनका रुपमा प्रयोग नगर्न सहमत हुन नसक्नुलगायतका कुराले कोप–२६ को आशामा छाया पारेको हो ।

खासगरी धनी र विकसित देशले गरिरहेको कार्बन उत्सर्जन कटौती गर्ने कुरामा सहमति जुट्न नसकेपछी उनीहरूले अल्पविकसित देशलाई कार्बन ब्यापारलगायतको प्रलोभन देखाउने गरेको तथा आफूले आर्थिक वृद्धि हासिल गरिसकेपछि अरूलाई रोक्न खोजेको भन्ने जस्ता आलोचना हुने गरेका छन् । यसमा केही सत्यता देखिन्छ पनि । संयुक्त राष्ट्रसंघले विश्वब्यापी तापमानलाई १ दशमलव ५ डिग्रीमा सिमित गर्ने लक्ष्य भेट्टाउन विश्वले ५५ प्रतिशत कार्बन कटौती गर्न पर्नेछ । तर, अहिले कार्बन कटौती ८ प्रतिशत मात्र हुने देखिएको अनुसन्धानहरूको निष्कर्ष छ ।

यस्तो अवस्था अर्थात बदलिंदो विश्वसँगै बाँच्ने गरि अनुकुलनका उपाय अपनाउनुपर्ने कुरा पनि जोडतोडका साथ उठिरहेको छ । फेरिँदो अवस्थासँग अन्तरघुलन हुँदै त्यसानुसार आफूलाई पनि परिबर्तन गराउँदै अघि बढ्ने कुरा केही हदसम्म ठिकै भएपनि वातावरण विनास सम्हाल्नै नसकिने अवस्थामा पुग्ने खतराका बीच यो प्रविधीले पनि सँधै काम गर्न नसक्ने खतरा रहन्छ । किनकी घरै नरहने अवस्था आयो भने घरभित्र कसरी बाँच्ने भन्ने उपायको अर्थ हुँदैन नै । वातावरण संरक्षणको सन्दर्भ मानिसको उत्तरदायि र जिम्मेवार चरित्र अनि बाँच र बाँच्न देउ भन्ने मान्यतासँग पनि जोडिएको छ । किनकी यो जगतमा अरु धेरै पुस्ता पनि जन्मनेछन् । उनीहरूले पनि बाँच्न पाउने अधिकार राख्छन् । र आउँदो पुस्ताप्रति मानिसका जवाफदेहीता र जिम्मेवारीहरू छन् नै । त्यसेले भावी पुस्ताको अधिकारसँग सम्झौता नगरि अहिलेको पुस्ताको आवश्यकता पूरा गर्नुपर्छ भन्ने मान्यतालाई ब्यवहारमा लागू गर्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्