उज्वल थापाले परिकल्पना गरेको काठमाडौँ उपत्यका

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– सन् २०१५ मा ७.८ रेक्टर स्केलको भुकम्पको चपेटामा परेको यो शहरले पछिल्लो १५ वर्षको अवधिमै कसरी यस्तो छलाङ्ग मार्यो – सबैलाई चाँसोको बिषय बनेको छ । काठमाडौं उपत्यकालाई सन् २०३०मा संसारको सबैभन्दा सुन्दर शहर चुन्नमा विश्व–विख्यात शहरी विकास योजनाविद् तथा अग्रजहरु सामेल निर्णायक मण्डलले १० विशेष कारण दिएका छन्।

१ काठमाडाैँ: सेवक सरकार शहर २ काठमाडाैँ: विविधता झल्कने शहर ३ काठमाडाैँ: विश्वकै हराभरा शहर ४ काठमाडाैँ: सम्पदा शहर ५ काठमाडाैँ: पुनस्प्रयोगीय शहर ६ काठमाडाैँ: नसुत्ने शहर ७ काठमाडाैँ: उर्जा प्लस शहर ८ काठमाडाैँ: मस्त रमाउने शहर ९ काठमाडाैँ: विवेकशील शहर १० काठमाडाैँ: उद्यमीका राजधानी

१ काठमाडाैँ: सेवक सरकार शहर म स्थानीय वडा कार्यालय अगाडी छु। १८औं शताब्दीको दरवार जस्तो देखिने यो भवन काठमा कुँदिएका विभिन्न आकृतिहरुले नेपालको इतिहासको वृतान्त दर्शाएको छ। भित्र छिर्छु । भित्र २१औं शताब्दीको आधुनिक पाँच तारे होटेल छिरेको भान हुन्छ । भित्ताहरुमा नेपालका विभिन्न जातीय विविधता झल्काउने चित्रकला र मूर्तिहरु टाँगिएका छन्। अलिपर बडेमानको पोस्टरमा लेखिएको छ – “लोकतन्त्र भनेकै पारदर्शिता”। अलि पर अर्कोमा– “तपाईंकै सरकार, तपाईंकै सेवक ! ”

‘नमस्ते!’ एक सम्पर्क अधिकारी मेरो अगाडि उभिदैँ सोध्छन्, “तपाईँलाई म कसरी सेवा गर्न सक्छु ?” मेरो अनुरोधमा उनले त्यस् वडाकी निर्वाचित पदाधिकारीसँग भेटाउन लैजान्छन्। ति निर्वाचित पदाधिकारीले मलाई विनम्रताका साथ आफ्नो कार्यकक्षभित्र स्वागत गर्छिन् । उनी सोध्छिन् “के तपाईं नेपालमै बनेको ताजा अर्ग्यानिक कफी पिउनुहुन्छरु त्यतिन्जेल तपाईंले खोजेको सुचना हामी जुटाउने छौं है ।”

सन् २०३० मा काठमाडौं जवाफदेहिता र पारदर्शी स्थानीय शासनको लागि “२१ औं शताब्दीवौँ सेवक सरकार” मोडेल अनुशरण गरि विश्वमा नमुना बनेको छ । नियमित स्थानीय निर्वाचन, श्रोतको चुस्त र समावेशी स्थानीय व्यवस्थापन, विपद् व्यवस्थापन, पारदर्शिता र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताले गर्दा नागरिक र सरकारका बीच जीत(जीतको वातावरण बनेको छ । स्थानीय कर्मचारीहरु सूचना(प्रविधिको प्रयोग गरी द्रूत गतिमा हैरानीमुक्त सेवा दिन्छन्। स्थानीयहरुले सूचनाको हक एेन प्रयोग गरी आफ्नो शहरको शासनको बारेमा नियमित रुपमा कुनै पनि सूचना खोज्ने गर्छन् र सजिलै पाउँछन् पनि। यसले गर्दा व्यवसाय, संघ(संस्था र स्थानीय निकायहरु सबै जवाफदेही रहन्छन्। यदि कुनै पनि सूचना ४८ घण्टाभित्र दिन नसकेमा मुलुकका चुस्त रुपमा कार्यान्वयन हुने कानुनले सम्बोधन गरिहाल्छ। नागरिक पत्रकारिताले मूलधारका पत्रकारितालाई परिस्कृत गरेको छ। स्थानीय कर पारदर्शी तरिकाले उठाइन्छ । सूचना प्रविधिको मद्दतले तुरुन्तै स्थानीय जनमतबाटै टोलको प्राथमिकता तय गरिन्छ अनि सोही अनुरुप यो करको सदुपयोग गरिन्छ। वडामा आफ्ना एक(एक रुपैयाँ कहाँ र कहिले र कसले खर्च गर्यो हरेक स्थानीयलाई प्रष्टसँग थाहा हुन्छ।

बालेन-सुनितालाई ‘बा’हरुको होस्टे हैँसे

सन् २०१५ को महा–भुकम्पपछि एक सद्‌गुणको चक्र यसरी शुरु भयो कि काठमाडौंबासीहरु आफ्नो नागरिक दायित्व र युवा स्वयंसेवाको मनोभावमा प्रविधिको सदुपयोग गरी मिलेर काम गर्न थाले। जसको फलस्वरुप २१ औं शताव्दीको समय सापेक्ष शासन प्रणाली बुझेका कर्मचारीहरु र स्थानीय नेताहरुले नै काम गर्ने वातावरण पाए। त्यसै बेला बनेको देशको स्वायत्त एवं शक्तिशाली सरकारी निकाय “नेपाल नवनिर्माणरउत्थान बोर्ड” र यसका कुशल शहरी विकास विज्ञहरुले काठमाडौं उपत्यकाका नीति र पूर्वाधारहरु दुवैलाई सशक्त किसिमले सुधार गर्न थाले।

२ काठमाडाैँ: विविधता झल्कने शहर भक्तपुरको एउटा गल्लीबाट म फुत्त निक्लिन्छु। अगाडि फुटपाथ साँच्चै अष्टरंगी छ भने पर्खाल भित्तेचित्रले सजिएका छन्। कुनैमा थान्काका झलक देख्छु त अरुमा अमूर्त कला वा धार्मिक कला। यहाँ हरेक गल्लीले आफ्नो टोलको बेग्लै मौलिकता झल्काएको पाउँछु। यी गल्लीहरुमा शायद म घण्टौं भौतारिन सक्छु। यहाँको ठेगाना सडकका नाम वा नम्बरले भन्दा पनि स्मारकहरुले चिनाउने गरिन्छ। यहाँको गल्ली गल्लीमा प्रस्फुटित विविध सौन्दर्यका नमुनाले म दंग छु।

सन् २०३० मा टोल–टोलमा र वडा–वडामा नागरिकहरुले गल्लीको रेखदेखको जिम्मा लिएका छन्। टोल–टोल बीच प्रतिस्पर्धा भैरहेको छ – सबै भन्दा राम्रो सडक, पेटी, पार्क, सार्वजनिक शौचालय, बस–बिसौनी, साइकल लेन आदि इत्यादिमा। समुदायले आफ्नो क्षेत्रका सडक र सार्वजनिक स्थलको पूर्ण जिम्मा लिएका छन्। आफै नामाकरण गर्छन्, श्रृंगार गर्छन् र त्यसलाई समर्थन गर्छन्। नगरपालिकाको पूर्वाधार विकास र मर्मत गर्ने स्वायत्त निकायले निर्वाचित मेयरको टीमसँग मिली स्थानीय समुदायलाई सडक मात्र होइन सामुदायिक पूर्वाधार र सार्वजनिक शौचालय पनि बनाउन मद्दत गर्छन्। नागरिकहरु आफैले आफ्ना घर(छिमेकमा हराभरा बनाउन जिम्मेवारी लिएका छन्। सबै सामुदायिक पूर्वाधारहरु सबै नागरिकका लागि २४ घण्टै खुल्ला हुन्छन्। काठमाडौंले विश्वमा चर्चित भद्रगोल सिद्धान्त को सार पकडेको भान हुन्छ त्यसैले होला यसका विशिष्ट शहर व्यवस्थापकहरुले यस्तो तरिकाले यो शहर बनाए कि कुनै पनि दुई ठाउँ एकै नास देखिन्न पनि र चल्दैन पनि तैपनि सुमधुर किसिमले यो शहर चलेको छ। काठमाडौंवासी यस्तै विविधताले चलेको शहर बनेकोमा गर्व गर्छन्।

काठमाडौं उपत्यका यस्तो विशाल महानगर हो जसलाई विभिन्न तरिकाले आकार दिने गरिन्छ। यस विशाल शहरलाई विभिन्न नगरपालिकामा विभाजन गरिएको छ जस बीच स्वस्थ प्रतिस्पर्धा भै रहन्छ। आफ्नो पट्टिको शहर कसरी अर्को भन्दा अब्बल बनाउने होडबाजीमा काठमाडौं सदा निर्माण एवम् पुन स्निर्माणको चक्रमा रहि रहन्छ। १५ वर्ष अघि देखि ‘जे रोप्यो ,त्यही फल्यो’ भन्ने नाराका साथ टोलको विकासमा नियमित निरन्तर सुधार हुदैंछ।

३ काठमाडाैँ: विश्वकै हराभरा शहर त्रिभुवन विमानस्थलबाट बाहिर निस्किन्छु। हल्का बतास र भर्खरै काटिएको घाँसको वास्नादार सुगन्धले स्वागत गर्छ। अनि बिजुलीबाट चल्ने ट्याक्सीमा छिर्छु र शहरतिर लम्कन्छु। धुलो रहित फराकिला सडकमा साइकल यात्री र पैदल यात्रीको घुँईचो दृश्यावलोकन गर्दै समय कटाउछुँ। पशुपतिनाथ नजिकै सामुदायिक बंगैचामा दुई बाल–बालिका बुद्रुक्क आफ्नो कुकुरसंग खेली रहेको दृष्यले मेरा छोरा(छोरीको याद आउँछ – मुस्कान फुट्छ। जताततै प्रस्ट, सुन्दर मोवाईल मैत्री साइनबोर्डहरुले तपाई कहाँ हुनुहुन्छ प्रश्ट निर्देशन दिन्छ। कतै इट्टा र सिमेन्टका पर्खाल देखिन्न। त्यसको सट्टा रुख र सुन्दर प्राकृतिक फुलरझाडीहरु पर्खालको रुप लिएका छन्। त्यति मात्र होईन यहाँ त रुख–विरुवा नै भवनका डिजाईनसँगै मिलाईएर बनाइएको पो देख्छु!

एकैछिनमा म काठमाडौंको मुटुमा पुग्छु त्यो सबैले मलाई ‘हेर्नै पर्छ है ‘ भनेको बडेमानको फराकिलो पार्कमा। म गाडीबाट निस्की हिँडन थाल्छु। नजिकै एक जमात युवाहरु वि–वोईन्ग नाचमा लागि परेका छन् । अलि पर एक जमात यवतीहरु दौंडिदै छन्। कुनामा रयाप संगीतको घम्साघम्सी चलिरहेको छ भने पल्लो तिर मैदानमा फ़ुटबल अनि अल पर क्रिकेट चलिरहेको छ। अलि हिँडे पछि शान्त क्षेत्र तिर पुगेको महसुस गर्छु। त्यहाँ ३ पुस्ता परिवारका सदस्यहरु एक बडेमानको पिपलको रुखको चौतारीमा बसी पिकनिक मनाइरहेका छन् भने चराहरुको एक झुण्ड निलो आकाशसँग खेलिरहेका छन्। आह्हा! यो क्षण सम्झिदाँ कोही पनि पर्यटक लाई किन यो ठाउँको ईर्ष्या नलाग्ला र भन्या १

सन् २०१५ को स्थानीय निर्वाचन लगत्तै उपत्यकाभित्रका महानगरपालिकाहरुका निर्वाचित मेयरहरु र नगर सभा र वडा समितिहरु मिली काठमाडौँका खुल्ला ठाउँहरुलाई दिगो र अपांगतामैत्री हरियो बगैँचा र पोखरीहरुमा रुपान्तरण गर्न थालियो। साथै उपत्यका वरिपरिका घोषणा हुन बाँकी पहाडलाई राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा परिवर्तन गरियो। यसले विद्यार्थी, बालबालिका देखि बृद्ध सबैलाई प्रकृतिसँग हर पल अनुभव गर्ने मौका दिलायो। पशुपतिनाथ, स्वयम्भु ,चाँगुनारायण, बौद्धनाथ देखि बसन्तपुर, पाटन, भक्तपुर दरबार क्षेत्र आदि बिभिन्न सम्पदाहरु वरिपरि सफा, सुन्दर, जीवन्त बगैचाहरुले घरिएको छ। १५ वर्ष अघि “एकै जीवन, एकै रुख” अभियान शुरु भएको थियो जसमा हरेक काठमाडौंबासीलाई आफ्नो जीवनमा एउटा रुख हुर्काउने प्रण लिन लगाई जिम्मा दिईयो। यसले काठमाडौँलाई प्रदुषण मुक्त बनाउन ठुलो सहयोग गर्यो। काठमाडौँमा एसियाका राजधानीका मुटुमा पाईने पार्क मध्य सबै भन्दा ठुला पार्क छ जुन पहिलेको नारायणहिटी राजदरबार सँग्राहलयदेखि रानीपोखरी, रत्नपार्क, टुँडीखेल जोड्दै दशरथ रंगशालालाई पनि अँगालेर कालमोचन मन्दिर परिसरसम्म तन्काएर बाग्मती किनारै किनार सम्म फैलिएको छ।

सन् २०३० मा काठमाडौँले संसारमा अपाङ्ग र अशक्तमैत्री शहरको रुपमा नाम कमाएको छ। यहाँका प्रमुख सडक र गल्लीगल्लीमा अपांग र अशक्तमैत्री चौडा फुटपाथ र साइकल लेनहरु छन्, जुन आफै गाडी गुड्ने सडक जत्तिकै चौडा बनाईएका छन्। यहाँका सडकहरु वैकल्पिक ऊर्जा बाट चल्ने सवारीसाधनले भरिभराउ छन ।

यहाँ पेट्रोलियमको इन्धनबाट चल्ने सवारी साधन प्रयोग नगरे बापत करमा विशेष छुट दिने प्रावधान राखिएको छ। कुनै पनि पूर्वाधारहरु निर्माण गर्दा हरियालीयुक्त प्रणाली अपनाए करमा विशेष छुट दिइन्छ। हावापानी लगायत समग्र वातावरणको गुणस्तरलाई आधारभूत मौलिक अधिकार मान्ने काठमाडौँ बासीहरु चुनावमा वायु प्रदुषण सूचकांकको आधारमा नेतृत्व चुन्ने–फाल्ने गर्छन्। यसले गर्दा स्थानीय नेतृत्वले संसारभरि अपनाइएको केटिएम–२१०० वातवरणीय स्तरमा सानो गिरावटलाई लिएर निकै संवेदनशील हुने गर्छन्। काठमाडौंवासी प्रायस् आफ्नै घर तथा नजिकैको क्याफे वा पार्कहरुबाटै काम गर्छन्।

आवतजावतमा पनि प्राय साइकल, पैदल वा सफा सार्वजनिक यातायात नै प्रयोग गरिन्छ। विष्णुमती र बागमती नदीका किनारहरु शिवपुरीदेखि चोभारसम्म साइकल प्रेमीदेखि चराप्रेमीहरु जमघट हुने थलो बनेको छ। बिगतका १० बर्षमा उपत्यका घेरेका सबै पहाडहरु घना जंगलले भरिएको राष्ट्रिय पार्कहरुमा परिणत गरिए पछि विश्वका अरु राजधानी जस्तो काठमाडौं पानीको समस्याबाट उम्कन सफल भएको छ।

४ काठमाडाैँ: सम्पदा शहर मरुको साँगुरो गल्लीबाट भित्र छिर्दै गर्दा मेरो आखाँ त्यहाँ कुनाकाँप्चाका ससाना मठमन्दिर र बुझ्नै नसक्ने स्मारकहरु देख्छु । कतै कामुक काठका मुर्तिहरु छन् त कतै धातुका ढोकामा कुँदिएका जटिल आकृतिहरु देख्दा मनमा अनेकन भावना बग्न थाल्छ। घर-आँगन-टोलमा आफ्ना दिवंगत कसैको नाममा केही न केही स्मारक बनेको देख्छु । बाटोमा एउटी उज्यालो अनुहार बोकेकी बुढी आमाले मलाई हेरेर मुसुक्क मुस्काई दिन्छिन्। साँच्ची कै जीवन्त शहर यस्तै हुन्छ कि क्या हो ?

बौद्ध, हिन्दु, मुस्लिम, जैन, क्रिष्चियन, शिख आदिका मठमन्दिरले भरिएको काठमाडौँले जनाउछँ कि यहाँका जनताले आध्यात्म र धर्मको विविधतालाई पनि दह्रोसँग अँगालेका छन्। कला, संस्कृति, संस्कार, धर्मको विविधता र भाइचारालाई जनमानसमा मात्र नभई शहरकै दीगो विकास योजनामै अँगाली काठमाडौंले आफूलाई एक प्रबुद्ध शहरको रुपमा स्थापित गरेको छ। सन् २०१५ को भुकम्प पश्चात काठमाडौँका जनताले आफूले गुमाएका परिवार र ईष्टमित्रका नाममा एउटा स्मारक बनाउने प्रतिबद्धता गरे जुन अहिले एउटा संस्कार नै बनेको छ। अहिले काठमाडौं हजार मठ–मन्दिर देखि दिमागै घोच्ने स्मारकहरुले भरिभराउ छ।

यसै साथ ‘अतिथि देवो भव’ यानि कि ‘पाहुना भनेकै भगवान’ भन्ने बिचारलाई पनि शहरबासीले व्यवहारमै ढालेको छ। अहिले काठमाडौँका नव पुस्ता आर्किटेक्ट, ईन्जिनियर र निर्माताको रुपमा कयौँ भेटिन्छन्। काठमाडौंका सम्पदाहरुमा हजारौं वर्षको कला, इतिहास, सयौं जातजातीको संस्कृतिको समिश्रण मात्र होईन त्यहाँका बासीहरुमा आध्यात्मिक जीवन शैली, रचनात्मक सोच अनि सम्पन्न समाजको समिश्रण पनि झल्किन्छ। यहाँ केटिएम–९ निर्माण नियमावली (९ रेक्टर सम्मको भुकम्प थेग्न सक्ने) पास गरेर मात्र कुनै पनि भवन वा सम्पदाहरुको निर्माण वा पुनर्स्थापना गरिन्छ। १५ बर्ष अघि सन् २०१५ मा काठमाडौंवासीले आफ्नो विगतका ऐतिहासिक सम्पदा मात्रै जोगाएनन् त्यसलाई सुधार गरि वृद्धि नै गर्ने अठोट लिएँ।

आजकल काठमाडौँबासीले विश्वमै नविन हुने यस्ता शहरी विकास योजनाहरु तयार गरेका छन् जुन नव-आधुनिकता र सम्पदा संरक्षण बीचको समन्व्य, सहअस्तित्व र सन्तुलनमा आधारित छ। जसरी १३ वौँ शताव्दीका विश्व विख्यात नेपाली कलाकार अरनिकोले चीनमा हाम्रा कला संस्कार निर्यात गरे, त्यसरी नै अहिलेका नेपालीहरुले पनि हाम्रो नविन कला र ज्ञान संसार भरि निर्यात गरी नेपालको नाम चम्काइरहेका छन्।

५ काठमाडाैँ: पुन: प्रयोगीय शहर म बुंगमतीको सांस्कृतिक अतिथि बासस्थान सम्पदा होम–स्टेबाट निस्कन्छु। मेरो स्मार्टफोनमा हरियो बत्तीको संकेत देख्छु। यसो हेर्छु, त्यहाँ लेखेको कुरा देखेर मेरो अनुहारमा मुस्कान छाउँछ। मैले यो महिनामा आफ्ना खेर गएका फोहर देखि फालेका सामानहरुलाई पुनर्प्रयोग गरी पैसा प्राप्त गरेको रहेछु। मैले प्राप्त गरेको पैसा कहाँ राख्छौँ भनेर मलाई फोनमै ३ विकल्प दिईन्छ।

१) मेरो बैंकको खातामा हाल्ने कि ? २) मलाई मन पर्ने ३ वटा समाजसेवाको काममा दान दिने कि? ३) सरकारको “नेपाल निरन्तर निर्माण कोष” मा लगानी गर्ने कि ? (यस कोषले यस्ता महा–पूर्वाधारहरु बनाई रहेको छ जहाँ कुल एक लाख नेपालीलाई सीपमूलक रोजगारी श्रृजना गरेको छ ।)

नवीनतामा रमाउने उद्यमी–वैज्ञानिकहरुसँग मिली काठमाडौँले आफ्ना सम्पूर्ण खेर जाने वस्तुहरुलाई कसरी फाइदाजनक बनाउने भन्ने प्रणाली बिकास गरे। आफ्नै खेर गएका वस्तुहरुबाट जनताले सिधै पैसा कमाउन थाले। एकातिर घरायसी प्रयोजनका समानहरु बेच्न तथा भाडामा दिन प्रोत्साहन गरियो।

काठमाडौँमा अनलाइन तथा अफलाइन लिलामी गर्ने ‘हाट बजार’हरु मान्छेका आकर्षणको केन्द्र बनेको छ। काठमाडौँमा प्रत्येक वर्ष संसारका सबैभन्दा उत्कृष्ट प्रवर्द्धकहरुको लागि “हरेक वस्तुलाई फेरि प्रयोगमा ल्याऔं“ भन्ने अन्तराष्ट्रिय चुनौतिको प्रतियोगिता आयोजना गरिन्छ। अर्कोतिर भान्साको कुहिने फोहोरबाट जैविक मल बनाई अनि फोहर पानीलाई प्रयोग गराई बगैंचा तथा कौसीमै तरकारी खेती गर्ने प्रचलन फस्टाएको छ। बर्खामा आकाशबाट परेको पानी अनि शिशिरमा शीत पानी संकलन काठमाडौँ बासीका पिउने पानीको प्रमुख स्रोत बनेको छ।

६ काठमाडाैँ:  नसुत्ने शहर साँझ १० बजे एउटा साथीले कीर्तिपुरमा आफ्ना घरमा हुने डान्स पार्टीमा मलाई निम्तो दिन्छ। म लाजिम्पाटको चम्किला बत्तीहरु बलेको सडकमा निस्कन्छु अनि विस्तारै गल्ली गल्ली हिँडने निर्णय गर्छु। नागरिक र पुलिसको टोलटोलका सन्जालको गस्तीले गर्दा म सुरक्षित महसुस गर्छु ।

म असनको मुटुमा रहेको रात्री बजारबाट पुग्छु। स्थानीय र पर्यटक बीच रात्री बजारमा सामानको तोलमोल भईरहेको देख्छु। कालीमाटी पुग्दा बीच सडकमै केहि तन्नेरीहरु ‘ग्राफिटी’ चित्र बनाउँदै गरेको देख्छु। अचानक साइकल प्रहरीहरु रोकिन्छन् तर उनीहरुलाई समात्नुको सट्टा उनीहरुका प्रयासलाई यसरी सुधार गर है भन्दै पो सुझाव दिन्छन् बा ! म पुग्नुपर्ने डाँडातिर उक्लिदैँ गर्दा अचानक गल्लीबाट दुई महिला विस्तारै दौडदै निस्कन्छन्। पहिरन हेर्दा त व्यायाम गर्न निस्केका जस्ता लाग्छ, यत्ति खेर भए पनि। अनीहरु मलाई मुसुक्क मुस्काउँदै लाग्छन्। म आफ्नै माथीदेखि तल हेर्छु। लुगा त ठिकै लगाए छु कि छैन ? मध्य रात नजिकै बल्ल साथीको ढोका ढक्ढकाउन पुग्छु। भित्रबाट भरपुर गीतका आवाज आएको सुन्दा पार्टी त भरखर शरु भएको जस्तो भान भो !

सन् २०३० को काठमाडौँ दिनमा राम्रो छ भन्ने सोच्नेहरुले रात झनै सुन्दर पाउँछन्। शहरका प्रत्येक कुना सवारी साधनमा ३० मिनेट भित्रै पुगिन्छ। १५ बर्ष अघि यस्तो भव्य शहरलाई ८ बजे नै बन्द गर्ने चलन थियो जुन प्रथालाई यहाँका व्यवसायी र स्थानीय सरकार मिली तोडे। कसरी ? स्थानीय करको मद्दतले द्रुत गतिका सार्वजनिक सवारीसाधनहरु २४ घण्टै चलाउन थालियो। यसले ट्राफिक जामको समस्या पनि कम गरिदियो। सधैँ जाग्ने शहरमा अझ धेरै श्रृजना जाग्न थाल्यो। वर्षभरि नै यहाँको मौसम सुन्दर भएको हुनाले २४ घण्टै खुल्ला रहने काठमाडौंले अहिले आफूलाई जोश र होशको शहरको रुपमा छुट्टै पहिचान कायम गरेको छ। मध्य रातमा पनि यहाँका पार्कहरु उज्याला छन्। यही कारणले होला काठमाडौँ परिवारसँग घुम्नको लागि योग्य शहरको सूचिमा निरन्तर उच्च १० मा पर्ने गर्छ हरेक बर्ष।

७ काठमाडाैँ: ऊर्जा–प्लस शहर गोदावरीस्थित आफ्नो कार्यालयबाट मंगलबजार आफ्नो घर जादैँ गर्दा मोबाइलमा मेरो ब्यांक ब्यालेन्स बढेको नोटिस आउँछ। आफ्नो घरको बढी भएको सौर्य ऊर्जा बेचिएछ र मैले अलि बढी पैसा कमाएछु । आहा १ यो शनिवार रात चाहिँ म त्यो उज्यालो नख्खुको किनारमा भरखर खोलेको त्यो मनोरम खुल्ला खाजा घर र बिजुलीले लटरम्म बगैँचामा चट्ट आफ्नो परिवारलाई बाहिर लैजाने भएँ ।

कसले सोचेको थियो र १५ वर्ष अगाडि दिनमा १२ –१४ घण्टासम्म लोडसेडिङ हुने शहर आज आएर सफा ऊर्जाले भरिभराउ शहरको रुपमा परिणत हुन्छ। १२ घण्टासम्म घाम लाग्ने काठमाडौँमा स्थानीय सरकार र नागरिकहरु मिळी हरेक घरलाई बिजुली उत्पादन गर्ने र बढी भएको ऊर्जा बेच्ने ऊर्जाघरको रुपमा बिकास गरेको छ। यहाँका बृद्धहरुले विगतका लोडसेडिङका चरम अफ्ठ्यारा अझै बिर्सेका छैनन् र ती अतितका कथाहरु सुनाएर युवालाई पनि बिर्सन दिएका छैनन्। त्यसैले ऊर्जाको संरक्षण भनेको जनताको मूख्य प्राथमिकताको विषय रहेको छ। जलवायु परिवर्तनको विषयमा विशेष चासो राख्ने यहाँका बासीले निर्णय नै गरेका छन् कि सबै विद्युतीय उपकरणले वातावरण जोगाउने कडा ‘केटिएम-२१००” नियमावली सख्त रुपमा पालना गर्नुपर्नेछ । काठमाडौँ ऊर्जा सम्पन्न शहरको रुपमा चिनिन्छ।

८ काठमाडाैँ: मस्त रमाउने शहर भर्खरै किनेको बिश्वविख्यात हात्तीछाप चप्पल च्याट्ट लगाई ‘पटक पटक’ गर्दै गल्ली गल्लीमा बरालिदै हिड्न कम्ति रमाइलो भईराछैन । यहाँका कुना–काँप्चामा पाईने नविन श्रृजनाले मन बहलाएको छ मेरो । समय बितेको पत्तै पाएको छुईन। १०० वर्ष पुराना घरहरुमा अचुक कफी पसलहरु देख्छु। मेरो सामुन्ने झाँक्री र डाक्टरले सँगसँगै व्यवसाय खोल्न पाउँदा तिनछक पर्छु बा ! आफ्नो एकहप्ते छुट्टी त यस्तै अनगिन्ती गल्लीहरुमा बितिसक्यो अब बचेको समय चाहिँ म वरिपरिका घना जंगलले भरिएका ति २००० मिटर अग्ला ‘हिमाल’ चढ्ने बिचार गरेको छु। स्थानीयले यत्रा हिमाललाई किन ‘पहाड’ मात्र भन्छन् हँ गाँठे!

वर्षभरि अतुलनीय मौसम बोकेको काठमाडौँका भित्री गल्लीहरुले शदियौं सताव्दौँ पहिलेको संसारको झलक दिन्छ भने हरेक टोलमा देखिने सडके चमेना घरमा विश्वका गहन मुद्दाहरुमा बहस हुने थलो बनेको छ। काठमाडौँ मन बहलाउनका लागि उत्तम ठाउँ बन्दै गैरहेको छ। त्यसैले होला यहाँ विश्वबाटै यात्रीहरु ओइरिरहन्छन्, महिनौँसम्म हराउँछन् अनि मन बहलाई फर्कन्छन् फेरि फर्कने वाचा गर्दै। उपत्यका वरिपरिका अग्ला हिमाल हेर्दै हराउने देखि लिएर पौराणिक संस्कृति, संरचना हेर्न काठमाडौँ अविस्मरणीय विश्राम क्षेत्र बनेको छ। दू:बाट भाग्न खोज्नेहरुका लागि काठमाडौँ शरण बनेको छ।

९ काठमाडाैँ: विवेकशील शहर आज हेर्छु यो शहर , सबै खुल्ला छ। मानिस बिनम्र छन्। गल्ली सुरक्षित छन्। यसो नोटिस गर्छु– नरम बोली र मद्दतका भावना बोकेको ५ बर्षे तोतेदेखि ८० बर्षे कपाल फुलेकाले पनि स्वयंसेवक भएर बाटोघाटोमा अरुलाई मद्दत गरेको देख्छु। अस्ति मात्र मेरो साथीको पासपोर्ट, वालेटसहितको बहुमुल्य गहना भएको झोला ट्याक्सीमा हराएको थियो तर हराएको एकै घण्टामै आफु होटल पुग्दा त जस्तातस्तै रुपमा झोला छाडीदिएको रहेछ त्यस् ट्याक्सी चालकले। नाम पनि छाडेनन् बा ! धन्यवाद पनि दिन सकिएन। १५ बर्ष अघि त यस्तो थिएन यो शहर! अचम्मै परेँ म !

१५ वर्ष अघि मात्र म यही शहरमा टेकेको मात्र के थिएँ बन्द हड्ताल त परम्परै बनेको रहेछ यहाँ। यहाँका नेता भनाउँदाले स्थानीय गुन्डाहरुका आडमा ३० लाख बस्ने शहरै ठप्प पारी छाड्थे। सब वाक्क थिए तर सबै चुपचाप ! सरकारका दशौं हजार प्रहरी जवानहरु राज चलाउने गुण्डाका आडमा सुकुलगुण्डाहरुले मच्चाएको विध्वंश टुलुटुलु हेर्न बाध्य भएका थिए। कति लज्जास्पद लाग्यो यहाँको स्थिति हेर्दा त्यसबेला यस्तो गुण्डाका राजधानी अहिले विवेकशील राजधानी बन्छ भनेर त मैले सपनामा पनि सोचेकी थिईन !

सन् २०१५ मा भुकम्प र त्यसपश्चातको उथलपुथलले गर्दा जनताले बन्दको विरुद्ध शून्य सहनशीलता अपनाउन थाले। स्थानीय प्रशासनको मद्दतले काठमाडौँलाई बन्दमुक्त क्षेत्र घोषणा गरे। स्थानीयले बन्द गर्ने राजनीतिक दलहरुलाई स्थानीय चुनावमा यसरी पाठ सिकाए कि काठमाडौँमा आस्तित्व नै चट भयो। बन्द गर्दा प्रतिकार नगर्ने नेतृत्वलाई पनि यस्तै हाल गरे। अहिले घरआँगनदेखि नै बालबालिकालाई बिनम्रता, सहानुभूति, दायित्व र निष्ठा जस्ता विवेकशील मूल्य मान्यतालाई व्यवहारमा उतार्न लगाईन्छ।

नागरिक दायित्वका विषय हरेक कलेजमा एक प्रयोगात्मक विषय बनेको हुनाले यहाँका युवाहरुमा जोश मात्र होईन होश पनि जागेको छ। सक्नेले नसक्नेलाई मद्दतको हात बढाउने शहरको रुपमा चिनिएको छ। यहाँ एउटा यस्तो टिभी च्यानल नै छ – “पोजिटिभ सकारात्मक टिभी” जहाँ मद्दतका गाथा र सकारात्मक कार्यलाई मात्र चौबिसै घण्टा देखाईन्छ जहाँ नकारात्मकको नामोनिशान देखिन्न। काठमाडौँमा जुनसुकै वर्ग, जाती, लिङ्ग, धर्म, उमेर,समुदाय वा देशकाले आफ्नो दैनिकी ढुक्क तरिकाले गर्छन्। हकका साथ जिम्मेवारी बहनलाई सँगै तौलने संस्कार यहाँका स्थानीय कानुनले पनि नजिरको रुपमा लिएको छ।

१० काठमाडाैँ: उद्यमीका राजधानी “त्यहाँ चाहिँ तिमी जानै पर्छ है” आधा दुनियाँ टाढाबाट मेरो साथीले मलाई एउटा उद्यमी क्याफेको सिफारिस गरेको थियो। त्यसैले आज म त्यहिँ चिया कफी खाने ठाउँ अघि उभिएको छु। भित्र छिर्ने बित्तिकै वरिपरि भित्तामा जताततै फोटा टाँगीएको देख्छु। अचानक मेरो अनुहार उज्यालो हुन्छ– यी फोटामा मैले पत्रिकामा मात्र देखेका विश्व प्रसिद्ध लगानीकर्तादेखि अरबपति उद्यमी देख्छु । यिन्‌का साथमा यहीँ कै स्थानीय सुचना प्रविधिका प्रतिभाशाली उद्दमशील युवाहरु देखिन्छन् भने त कतैमा ख्याति प्राप्त नेपाली कृषकहरु। जुनै फोटोमा पनि कोहि न कोही श्रृजनशील ब्यक्तित्वहरु देखिएका छन्। अवश्य यो ठाउँ सकारात्मकताको सुगन्धले नै छाएको छ। अगाडीका सबै टेबलहरुमा स्थानीय र विदेशीहरु खचाखच छ। टेबल खोज्दा खोज्दै १० मिनेट बित्यो भन्या। कम्तिमा पनि १० भिन्न भाषा बोलिईरहेको सुनें होला । उद्यम शुरु गर्ने आट्ने मेरा साथीहरु यस बिचित्रको ठाउँमा कतिविन रमाउथेँ होला है !

सन् २०३० मा जुनसुकै काठमाडौँवासीलाई पनि अमेरिकाको सिलिकन भ्याली जस्तै गरि उद्यमशीलताको भूत सवार भएको स्थिति छ। सन् २०१५ को त्यो विनाशकारी भूकम्पले नेपालको त्यस बेलाका युवा ‘विलिन’ हुने पुस्तालाई खतरनाक परिस्थितिमा पनि काम सफल पार्न ‘जोश र होश’ भएका पुस्तामा परिणत गरिदियो। त्यस बेला निस्किएको नेतृत्वमा युवालाई सशक्त बनाई नवीन काममा लगाए मात्र देश जीवित रहन्छ भन्ने आत्मबोध भयो। विगतको २० वर्षमा १० लाख सदस्य बलियो “नेपालकै लागि उद्यमी” मञ्चको कुनाकुनासम्म बिस्तार हुन पुग्यो जसले नेपालमै उद्यम गर्न चाहनेलाई प्रभावकारी ज्ञान, सीप र सञ्जाल दिने गर्छ। टोलटोलमा स्थानीय परामर्श क्लबहरु फस्टाएका छन् जसले नियमित रुपमा त्यहाँका अग्रज र युवाहरुलाई एक ठाउँमा ल्याई सही मार्ग देखाउने काम गर्छन्। स्थानीय प्रतिभाको श्रृजना, लगन र सफलतासँग टाँस्सिन देश–विदेशका लगानीकर्ता देखि ऋणदाताहरु सबै यहि शहरमै खनिएका छन्। नवीनता, प्रतिस्पर्धा र परिवर्तनकै खेल यो शहरको मूल खेल बनेको छ। हरेक परिवारमा उद्यम शुरु गर्नै पर्ने जस्तो मौन संस्कारले गर्दा काठमाडौंलाई उद्यमीहरुका लागि शक्तिशाली चुम्बक बनेको छ।

(विवेकशील नेपाली दलका संस्थापक थापाको निधन भएको बुधबार एक वर्ष पुगेको छ । यो लेख उनै थापाको सम्झनामा उनको ब्लग  whynepal.com बाट साभार गरिएको हो ।)

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्