असार ११, २०७९ शनिबार | Sat Jun 25 2022

बालेन-सुनितालाई ‘बा’हरुको होस्टे हैँसे



काठमाडौं– काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठक बारेका प्रतिक्रियाले सामाजिक सञ्जाल भरिभराउ छ । कोही यो ठिक थियो भनिरहेका छन् त कोही बेठिक । कोही नयाँ मेयर बालेन्द्र शाहको अपरिपक्कपनाबारे ध्यानाकर्षण र खिसिट्युरी गरिरहेका छन् त कोही वडाअध्यक्षहरुले पेलेको टिप्पणी गरिरहेका छन् । तर महत्वपूर्ण कुरा यी सबै प्रतिक्रिया नगर कार्यपालिकाको बैठक लाइभ हेर्न पाएका कारण सम्भव भएका हुन् ।

सोमबार बसेको काठमाडाैँ नगर कार्यपालिकाको बैठकलाई एउटा घर र त्यसको सञ्चालनसँग जोडेर हेर्न पनि सकिन्छ ।

जस्तो कि अझै पनि प्रायः परिवारमा ‘बा’हरु नै हावी हुन्छन् । धेरै ‘बा’हरुले त घरका सबैजसो कुराको निर्णय गरिसकेपछि मात्र बाँकी सदस्यलाई थाहा हुन्छ । अर्थात निर्णय प्रक्रियामा आमाहरुले सहभागी हुने अवसर कमै मात्र पाउँछन् । ३२ जना वडाअध्यक्षमा एकैजना महिला नहुनु त्यही जिम्मेवारीमा आमाहरुको भूमिका दयनीय छ है भन्ने कुराको पुग्दो उदाहरण हो नै । उपमेयरमा पनि पुरुष प्रतिनिधि चुनिएको भए नगर कार्यपालिका एक ‘पुरुष सभा’ बन्ने रहेछ ।

परिवारमा छोराछोरीको पुस्तामा पुग्दा भने बा र आमाको जस्तो सहभागिताको दुरी निकै कम भएको छ । जस्तो कि ३२ जनामा एकैजना आमा नअटाएको सभामा छोराछोरी पुस्ता अर्थात मेयर–उपमेयरमा छोराछोरी हाराहारी छन् ।

उमेरका आधारमा हेर्दा वडाअध्यक्षहरुमा सबैभन्दा कान्छा छन् वडा नम्बर २६ का अध्यक्ष ४० वर्षका खेमराज तिवारी । अनि सबैभन्दा ज्येष्ठ छन् वडा नम्बर १ का ७८ वर्षका भरतलाल श्रेष्ठ । चारजना मात्र छन्, ५० वर्ष मुनिका । कतिपयको दोस्रोपटक र कसैको तेस्रोपटक वडा अध्यक्ष भएका छन् । उमेरले र बेला–बेला पाराले पनि केटौले खालका देखिने मेयर शाह र उपमेयर डंगोलसँगै दाई र बा पुस्ताका वडा अध्यक्षहरु अब ५ वर्षका लागि एउटै उडानमा हुनेछन् ।

कतिपयले शंका गरेजस्तो भिन्न पार्टीका भएकाले काम गर्न सहयोग गर्ने नगर्ने कुराको खास अर्थ किन पनि हुँदैन भने जनमतका आधारमा निर्वाचित भएपछि पनि दलीय आधारमा विभक्त भएर वा ‘मेयरलाई असफल बनाउने’ नाममा गुटबन्दीमा लागे भने उनीहरुलाई वडाबासीले छोड्नेवाला छैनन् । के काममा कसको सहयोग भयो वा भएन भन्नेबारे सञ्चारमाध्यम चनाखो भएर रहने छन् नै, सँगै कार्यपालिकाको बैठक नै लाइभ जो हुनेछ । अर्कातिर वडामा पनि छोराछोरीको पूस्ता निर्णायक भइरहेको छ ।

पहिलो बैठकको अन्त्यतिर देखिएको वडा अध्यक्षहरुको अलि ‘उँचो स्वर’ र प्रक्रियाको ‘सानो त्रुटी’लाई सिकाइका रुपमा लिँदै वडाअध्यक्षहरुले मेयर उपमेयरसामु व्यक्त गरेको ‘तपाईँहरु अघि बढ्नुहोस् हामी साथमा छौँ’ को स्पिरिट काठमाडौँको सुखद संकेत हो । यो ‘स्पिरिट’लाई वडाअध्यक्षहरु कतिपयले मुखै खोलेर त कतिपयले मुन्टो हल्लाएर अनुमोदन गरेको बैठकको क्रममा देखिन्थ्यो ।

सम्भवतः नेपालमै पहिलोपटक नगर कार्यपालिकाको बैठक ‘लाइभ’ हुने कुरा आफैँमा नौलो थियो नै । बैठक कसरी बस्ला ? आफ्ना जनप्रतिनिधिले के के कुरामा जोड देलान् ? बैठकमा कस्ता विषयहरु उठ्लान् ? के निर्णय होलान् ? जस्ता कुतुहल आम मानिसका थिए नै । त्यसैले यो लाइभले मूलत नागरिकको यो चासोलाई सम्बोधन गरेको छ ।

बैठकमा प्रक्रियामा भएको अलमल वा अलि नमिलेको तालमेलजस्ता प्राविधिक कुरा गौंण हुन् । बैठक लाइभ हेर्न पाइएकाले थाहा भएका यी र यस्ता कुरा भावी दिनमा स्वतः कम भएर जानेछन् । बैठकको ढाँचा ढर्रा वा जनप्रतिनिधिको भावभङ्गीभन्दा पनि मूख्य कुरा बैठकको पारदर्शिता र मतदाताप्रतिको जवाफदेहीता नै हो ।

पहिलो बैठकका निर्णयहरु नागरिकलाई उत्साहित बनाउने खालका छन् । सानाजस्ता लाग्ने तर ठूला समस्याका रुपमा रहेका सार्वजनिक शौचालय, ढल मर्मतका लागि पुर्वाधार एम्बुलेन्स, गुनासो सुनुवाईका लागि कल सेन्टर, फोहर व्यवस्थापनका लागि दीर्घकालिन सोचसहितको कामको अध्ययनलगायतका कुरा अर्थपूर्ण छन् ।

नेपाल भाषामा शपथ ग्रहण गरेर काठमाडौँको रैथाने समुदायको सेन्टिमेन्ट पाउने कुरा होस् वा कतिपयले गरेको जस्तो शंका पनि गर्न मिल्ने गरि पदबहाली लगत्तै प्रधानसेनापतिसँगको भेटले मेयर शाह केही ‘पपुलिस्ट’ बन्न खोजेको देखिन्छ नै । महानगरबाट बाहिरिँदै गर्दाको उनको हाउभाउ होस् वा श्रीमतीलाई अतिथीका रुपमा मञ्चमै लगेर माला टीका ग्रहण गराउने सन्दर्भ अनावश्यक देखिन्छन् । तर, मेयर र उपमेयर अनि मेयर पत्नीसमेतलाई जोडेर सामाजिक सञ्जालमा बनाइएका ट्रोल र उनीहरुलाई उडाउँदै गरिएका ‘खितखित’ले हाम्रो ‘औकात’ ह्वाङ्गै बनाइदिएको छ ।

बैठकको सुरुवात नै एउटा भावनात्मक कुराबाट भयो । जहाँ मेयर शाहले भने– काठमाडौंले गरेको फोहर जथाभावी रुपमा पठाइनाले सिसडोल बञ्चरेडाँडालगायत ठाउँका बासिन्दाले ज्यानै गुमाउनु परिरहेको, कष्टसाध्य रोगको पीडा भोग्नुपरिरहेको यथार्थलाई काठमाडौंबासीले ‘आफुले गरेको पाप’का रुपमा बुझ्नुपर्ने उनको भनाई मानवीयतासँग जोडिएको छ । आफैंलाई रोगब्याधी फैलाएर गलाउन सक्ने जोखिमको कुरा होस् वा बैठकमा बौद्ध क्षेत्रका वडाध्यक्षले भनेको जस्तो पर्यटकले खिसीट्युरी गरी दुर्नाम कमाउने खतराको कुरा, आखिर यी विषय हामी र हाम्रो आनीबानीसँगै जोडिएका छन् ।

ठूलाबडालाई ठूलो नलाग्न सक्ने तर, ठूलो विषय हो सार्वजनिक शौचालय । बैठककै क्रममा थाहा भयो कि काठमाडौंका हरेक वडामा एउटा पनि सार्वजनिक शौचालय रहेनछ । यतिका वर्षमा एउटा वडामा एउटा सार्वजनिक शौचालय पनि बनाउन नसक्नु महानगरको महालज्जाको विषय त हो नै यसले नागरिकलाई दिएको सास्तीको उजागर पनि हो । धेरैलाई थाहा नहुन सक्छ काठमाडौंमा सार्वजनिक शौचालयको सास्तीले गर्दा यात्रुहरु पानी कम मात्र खाएर हिँड्छन् । महिनावारी भएका बेला धेरै युवती प्याड फेर्ने ठाउँ नपाएर उस्तै सास्ती व्यहोर्न बाध्य छन् । मेयर शाहले यसको तत्कालिन समस्याको समाधानका लागि प्रस्ताव गरेको सहज प्रस्ताव सरहानीय छ । ‘रेस्टुरेन्टहरुका शौचालय बटुवा र अन्य यात्रीले निःशुल्क प्रयोग गर्न पाउने प्रबन्ध गर्ने ।’ यो काइदाको आइडिया हो ।

बैठकमा वडाअध्यक्षका चिन्ता र चासो पनि भिन्न–भिन्न देखिए । सबैभन्दा गजबको कुरा त उनीहरु मेयर–उपमेयरसँग साथमा साथ काँधमा काँध मिलाएर महानगरको मुहार फेर्न तयार रहेको बताउनु अर्थपूर्ण छ । बैठकको अन्त्यतिरको वातावरणलाई भूलचुक लिने दिनेकै रुपमा लिइने छ र लिइनुपर्छ नै ।

बैठकको अर्को सुन्दर पक्ष– मेयर शाहले फोहर व्यवस्थापनको कुरा गर्दै गर्दा वडाअध्यक्षहरु कोही अनुभव सुनाइरहेका थिए त कोही विकल्पहरु सुझाइरहेका । कम्पोस्ट मल बनाउनका लागि फोहर छुट्टयाउने उपाय यसअघि कसरी असफल भएको थियो भन्ने एक वडाअध्यक्षको अनुभव, फोहर व्यवस्थापन गर्ने मेसिन हरेक वडामा ल्याउन नसकेपनि तत्कालका लागि दुई तीनवटा वडाका लागि एउटा मेसिन राख्न सके पनि उपयोगी हुने अर्का वडाअध्यक्षको सुझाव बोधार्थ मात्र होइन कार्यार्थका लागि पनि सहज थियो ।
केही वडाअध्यक्षहरु रमाइला पनि सुनिए । जस्तो– ‘गोपनीयताको शपथ ग्रहण गरेका छौँ । यसरी लाइभ हुनु त गोपनीयता होइन ओपनीयता पो भयो कि ?’

‘यो कल सेन्टर वायरलेस (ताररहित) बनाउँ । वायरवाला बनाउने हो भने हाम्रो वडामा बाँदरले तार काटेर सबै बिगारिदिन्छ ।’
‘महानगरपालिकामा फोहरको व्यवस्थापन नहुँदासम्म म बैठकको भत्ता लिन्न । ध्यान दिएर सुन्नुहोला मैले फोहरको व्यवस्थापन नहुँदासम्म बैठक भत्ता लिन्न भनेको छु, फेरि बैंकबाट भत्ता नपठाइदिनुहोला ।’

बैठकमा उपमेयर सुनिताले पनि निकै परिपक्व र महत्वपूर्ण कुरा राखिन् । बैठकका एजेन्डाहरु अबदेखि पहिले नै पठाइयोस्, कुनै एक व्यक्तिको मात्र आइडियाभन्दा धेरैजनाको आइडियाले प्रभावकारी काम गर्न सकिन्छ, हामी यहाँ कोही एकजनालाई मात्र सफल बनाउन आएको नभइ महानगरलाई नै सफल बनाउन आएका हौं, महानगरपालिकाले यसअघि विभिन्न क्षेत्रमा अध्ययन गरेको र प्रस्तावहरु पनि रहेकाले तीमध्ये राम्रा अध्ययन र प्रस्तावलाई अघि बढाउँ । आदि उनको परिपक्वताको उदाहरण थिए । सञ्चारकर्मी पनि हुनुका कारणले हुन सक्छ उनको प्रस्तुती र शैली बैठकमा सबैभन्दा प्रभावकारी र सशक्त थियो ।

सभालाई नियाल्दा यस्तो लाग्थ्यो कि परिवारकी छोरी जो धेरै पढेर वा जाने बुझेर घरमा केही भनिरहेकी छ । बाहरु सुनिरहेका छन् । मनमनै गर्व गरिरहेका छन् कि मेरी छोरीले निकै धेरै कुरा बुझेकी छ । र भनिरहेका छन् म उसलाई साथ दिन्छु ।

केहीबेर अघि मात्र पत्रकारहरुसँग अलि कडा मिजासमा प्रस्तुत भएका भनेर समाचार बनेका मेयर शाहले बैठकमा अन्य केही महत्वपूर्ण सन्देश पनि दिए । जस्तो कि उनले बैठकको सुरुतिरै भनेका थिए– ‘मैले कसैलाई वा कुनै दललाई यहाँबाट केही कमाएर लैजानु वा बुझाउनुपर्ने छैन, शायद तपाईँहरुको पनि छैन होला । हामी सबैजना मिलेर काम गरौँ ।’

यो दलहरुबाट चुनिएका प्रतिनिधिहरुलाई केही व्यंग्य र केही चेतावनी पनि थियो, जुन उनी मुस्कानका साथ दिइरहेका थिए ।
महानगरको दृष्यहरू हेर्दै गर्दा म चाहिँ त्यो बैठकस्थललाई एक परिवारका रुपमा बुझिरहेको थिएँ । जहाँ बा पुस्ता छोराछोरीलाई अघि बढ्न हौसला दिइरहेको छ । होस्टेमा हैँसे गर्न तयार छ । समयले अब नेतृत्व गर्ने जिम्मा बाहरुबाट छोराछोरीको काँधमा सुम्पेको छ । महानगरका वडाअध्यक्ष बाहरूलाई अलिअलि संशय हुन सक्ला, छोराछोरी अलि आलोकाँचै पो छन् कि ? उनीहरुका काम गराई अलि परिपक्व नहुने पो हो कि ? तर त्यसका लागि अब बाहरूले आफ्ना भोगाई र सिकाई छोराछोरीलाई सुनाउँदै उनीहरूलाई होस्टे हैँसे गर्नुपर्नेछ ।

यही मेसोमा काठमाडौँ महानरपालिकाको आठौँ तहका एक कर्मचारीको टिप्पणी महत्वपूर्ण छ– नयाँ मेयर र उपमेयरमा केही गरौँ भन्ने हुटहुटी देखिएको भन्दै उनले महानगरभित्रको गाह्रो पक्षलाई संकेत गर्दै भने– ‘खै कसरी पो काम गर्छ, हाम्रो महानगरपालिकामा कुर्सी कुर्सीमा मेयर छ ।’

प्रकाशित मिति : जेठ १७, २०७९ मंगलबार  ७ : ०० बजे