लुम्बिनी, मोदी र धार्मिक पर्यटन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–  हिमालय पर्वत खण्डको अविछिन्न र पौराणिक भागका रुपमा अहिलेको नेपाल सनातन सभ्यता र हिमाली हिउँको पानी दुबै भारतवर्षका बाँकी भागमा सिञ्चन गर्दछ । नेपाल प्राचीन भारतवर्षको शिरका रुपमा उर्जा, ज्ञान, तप र जलश्रोतको मुहान हो । भारतवर्षको महाभारतमा गएका वीर योद्धा, त्रेतायुगकी चेली सीता, ज्ञानका सागर बुद्धदेखि आज आएर दक्षिण एसियाली विकासको सहकार्यमा समेत नेपाल भारतको विभिन्न स्वरुप र समझदारीमा साथ र सहयोग रहँदै आएको छ । भारत र नेपाल विश्वमा दुई धर्मको सन्दर्भमा समान सांस्कृतिक र धार्मिक सम्पदा रहेका देशहरू हुन् । एउटा बुद्ध र दोस्रो हिन्दु धर्मको परिवेश अनि इतिहासमा यी दुई देशले प्राचीनकालदेखि नै उदाहरण स्थापना गरेका छन् । यो एक अद्वितीय र ऐतिहासिक सम्बन्ध हो । शंकराचार्य भारतवर्षको दौडाहामा नेपाली भूमि पनि पुलकित भएको हो । नेपाली भूमिबाट गएका बुद्धले भारतमा पाएको ज्ञान अनि बाँडेका ज्ञानको फेरिहिस्त फेरि अर्कै छ । प्रकृति, ज्ञान, ज्ञानी अनि प्रवृत्तिले देशको सिमानालाई मान्दैन, नेपाल भारत ज्ञान, दर्शन अनि प्रकृतिका यस्तै अनुपम उदाहरण बोकेका देश हुन् । इतिहासलाई थाँती राखेर अघि बढ्दा अहिलेका नेपाल र भारत दुई असल छिमेकीका रुपमा अघि बढिरहेका छन् । यद्यपि समयसमयमा सम्बन्धमा केही दरारहरू नदेखिएका भने होइन एकै अगेनोमा रहेका अगुल्टा ठोकिन्छन् भने झैँ यी मुद्दाहरूलाई विश्लेषण गर्ने र अघि बढ्ने बाटो दुबै देशले खोज्न जरुरी छ । भर्खरै  सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपालको लुम्बिनी भ्रमणमा मिसिएर आएका सम्भावनाको लर्को पनि कम छैन । नेपालको बिजुली उत्पादन र खपतमा भारतको संस्थागत साथको कुरादेखि सिमा विवाद सुल्झाउन द्विपक्षीय वार्ता अनि दुबै देशका आपसी विकासका अन्य परियोजना र समानतामा नेपाल भारत दुवैले छलफल थप वृहत रुपमा गर्नपर्ने देखिन्छ । अझ दक्षिण एसियाली देशमा हाम्रो अर्को छिमेकी देश चीनको बढ्दो महत्त्वाकाङ्क्षी आर्थिक संलग्नता, श्रीलङ्काको वर्तमान अवस्था, पाकिस्तानको बिग्रदो आर्थिक र भूराजनीतिक परिवेशले नेपाल र भारतको थप समन्वय र साझेदारीको आवश्यकता बढाएको छ । भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदैछन् । यो एउटा सम्पदा र आस्थाको भ्रमण हो । बुद्ध नेपालमा जन्मिए, भारतमा ज्ञान पाए अनि विश्वभरि प्रसिद्ध छन्, बुद्धका अनुयायीहरुका लागि सर्वाधिक महत्वपूर्ण तिर्थस्थल लुम्बिनीमा नेपाल भारतको नेतृत्वले दुबै देशको सहकार्य र विकासका कोशेढुंगा साबित हुने कदमहरू शुरुवात गरुन्,  र गर्न सक्नु पर्दछ पनि । नेपालीलाई भारतीय नेतृत्वसँग विश्वासको समस्या छ, स्वभाविक हो तर यस बुझाइलाई चिर्न भारतीय पक्षको पनि उत्तिकै भूमिका रहनेछ । अर्कोतर्फ, दक्षिण एसियाली देशहरू जस्तै श्रीलंका, पाकिस्तान र अफगानीस्तानको अफ्ठेरो परिस्थितीलाई मध्यनजर गर्ने हो भने नेपाल भारत समबन्धको महत्व र गहिराई नेपाल र भारतका लागि मात्र नभई समग्र दक्षिण एसियाका लागि नै महत्वपूर्ण भएर गएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:३६
प्रतिक्रिया दिनुहोस्